काठमाडौं– आज दिनभर नेपालमा प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक पारित, प्रचण्डले प्रचण्डपथका नाममा आफ्नो स्वार्थ लुटेको केपी ओलीको दाबी, बलात्कारका घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति लगायतका समाचार चर्चामा रहे ।
यी हुन् आजका प्रमुख समाचारहरुः
नागरिकता विधेयक फिर्ता
सरकारले प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएको छ ।
मन्त्रिप्रतिनिधिसभा आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
एमाले र केही अन्य दलका सांसदहरुको विरोधका बीच प्रतिनिधिसभाले विधेयक फिर्ता लिने प्रस्तावलाई पारित गरेको हो ।
विधेयक फिर्ता लिने प्रस्तावको विरोधमा एमालेले सूचना दिएको थियो । सूचना प्रस्तुत गर्दै एमालेका सांसद भीमबहादुर रावलले विधेयक फिर्ता प्रचलित कानुनी मान्यता विपरीत भएको बताए ।
सबै नेपालीले सहजै नागरिकता पाऊन् र कुनै पनि विदेशीले नेपाली नागरिकता नपाऊन् भन्ने मान्यता राखेर संविधानमा नागरिकता सम्बन्धी व्यवस्था गरिएको उनले बताए ।
त्यस्तै एमालेकै सांसद कृष्णभक्त पोखरेलले कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने संवैधानिक व्यवस्थालाई पालना गर्न छिटो विधेयक पारित गर्नुपर्ने बेला फिर्ता लिनु उचित नभएको बताए ।
उनले संसदीय समितिमा भइसकेको छलफल र यसमा भएको मेहनतलाई बेवास्ता गरिएको धारणा राखे ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमा देखिएको गाँठो फुकाउनका लागि फिर्ता लिइएको बताए । उनले दलहरुका बीचमा सहमति गरेर नयाँ विधेयक ल्याउने र जतिसक्दो छिटो पास गराउने दाबी गरे ।
यसअघिको विधेयकमा सहमति जुटाउन समस्या भइसकेको अवस्थामा नयाँ विधेयक ल्याउँदा सहज हुने र दलीय सहमति जुटाउन पनि सहज हुने भएकाले विधेयक फिर्ता लिएको पनि उनले बताए ।
त्यस्तै गृहमन्त्री खाँणले विधेयक फिर्ताका विषयमा शीर्ष तहमा पनि छलफल भएको दावी गरे ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउनमा नागरिकता विधेयक दर्ता गराएको थियो भने विधेयकमाथि संसदको राज्य व्यवस्था समितिमा करीब दुई वर्ष छलफल भएको थियो ।
संसदमा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिएको हो ।
बलात्कारका घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति
प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति जुटाएको छ ।
सिंहदरबारमा आज बसेको बैठकले यौन हिंसा विरुद्धका केही ऐन संसोधन विधेयकमाथि छलफल गर्दै दुई वर्ष हदम्याद राख्ने सहमति जुटाएको हो ।
यसअघि बलात्कारका घटनामा एकवर्षे हदम्याद हटाउनुपर्ने भन्दै महिला अधिकारकर्मीहरुले आन्दोलन नै गरेका थिए । त्यस्तै बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षको हदम्याद राख्ने सहमति भएको छ ।
बलात्कारमा परेका नाबालिगले बालिग भएको ३ वर्षसम्म उजुरी गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।
त्यस्तै विधेयकमा यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने सहमति जुटेको छ । बैठकले यौनजन्य हिंसा सम्बन्धी सम्पूर्ण कानूनहरुको सरोकारवालासँग छलफल र अध्ययन गरी छिटोभन्दा छिटो समग्र कानून सुधारका लागि विधेयक प्रस्तुत गर्न सरकारलाई निर्देशन समेत गरेको सभापति पोखरेलले बताए ।
वर्तमान सरकारलाई अब स्वीकार गर्न सकिँदैनः केपी ओली
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अब स्वीकार गर्न नसकिने बताएका छन् ।
छविलाल कार्कीको स्मृतिमा १२ औं स्मृतिका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले देशको साँचो लिएर सरकार लुट्ने काममा लागेको र चुनावमा धाँधली गर्ने काम गरेको भन्दै वर्तमान सरकार स्वीकार्य हुन नसक्ने बताएका हुन् ।
ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि एउटा पनि राम्रो काम गरेको उदाहरण नभएको उल्लेख गर्दै सरकार अविलम्ब हट्नुपर्ने उल्लेख गरे ।
वर्तमान सरकार नराम्रा कामको थुप्रो भएको उनको भनाइ छ ।
त्यस्तै ओलीले सरकारमा बस्ने मान्छेले नराम्रा काम गरे पनि उनीहरुलाई पदबाट हटाउने आँट प्रधानमन्त्रीमा नभएको बताए ।
अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने उनको ठोकुवा थियो ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको सपना देखाएर प्रचण्डपथका नाममा आफ्नो स्वार्थ सेकेको आरोप लगाए । ओलीले जनआन्दोलन अन्तिम दिन वैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको ड्राफ्ट आफूले तयार गरेको दावीसमेत गरे ।
एकीकृत समाजवादीको प्रमुख सचेतकमा सरला यादव
नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ ।
काठमाडौंमा आज बसेको समाजवादीको सचिवालय बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतकमा यादवलाई मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै बैठकले पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी हर्कबहादुर सिंहलाई प्रदान गरेको छ । बैठकमा पार्टीका आन्तरिक संगठन विस्तार लगायतका विषयमा छलफल भएको खतिवडाले जानकारी दिए ।
जनार्दन शर्मामाथि छानविन हुने
करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा संसद भवन नयाँ बानेश्वरमा आज बसेको सहजीकरण बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने तय गरेको हो ।
यस्तै बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ । संसद सचिवालयका अनुसार मंगलबार बस्ने पहिलो बैठकले समितिको संयोजक तय गर्ने छ ।
सोही दिन कार्यविधिसमेत बनाएर समितिले आफ्नो कार्य शुरु गर्नेछ । अर्थमन्त्री शर्मामाथि प्रश्न उठेपछि गत असार २२ मा प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति (छानबिन समिति) गठन गरेको थियो ।
सो समितिलाई कार्य प्रारम्भ गरेको १० दिने प्रतिवेदन बुझाउन निर्देशन समेत दिइएको छ ।
यस्तो छ बूढीगंगा नगरपालिकाको प्रारम्भिक मतगणना
बाजुरा बूढीगंगा नगरपालिकामा भएको स्थानीय तह चुनावको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।
वडा नं. १ र १० को ४ सय मतगणना गन्दा नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले ३ मतको अग्रता लिएका छन् । उनले १८८ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १८५ मत ल्याएका छन् ।
वैशाख ३० मा गरिएको चुनावमा ‘बुथ कब्जा’ भएपछि बिहीवार पुनः निर्वाचन भएको थियो ।
कर्णाली प्रदेशमा प्रमुख दलहरुबीच चारबुँदे सहमति
कर्णाली प्रदेशमा प्रमुख दलहरुबीच चारबुँदे सहमति भएको छ ।
यससँगै १२ असारदेखि जारी प्रदेशसभाको अवरोध हटेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्वन्धमा प्रस्तावित योजनाहरू एकमुष्ट रूपमा फिर्ता लिने र विनियोजन भएको रकम यथावत राखी साउन मसान्तसम्म कार्यविधिसम्मत् योजनाहरू छनौट गरिसक्नुपर्ने सहमति भएको छ ।
विनियोजन किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरुको नाम हटाउने उल्लेख छ ।
१५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरुका हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साना सिंचाई बाहेक अन्य योजनाहरु कार्यान्वयन नगर्ने पनि सहमतिमा उल्लेख छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्वन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रहरूमा सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा योजनाहरू छनौट गर्ने गरी कार्यविधि संशोधन गर्ने सहमति भएको छ ।
न्यायाधीश रेणु साहको योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त
न्याय परिषदले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणु साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ ।
न्याय परिषद्को आजको बैठकले २०७५ सालमा उच्च अदालतमा नियुक्त भएकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो ।
उनको अयोग्यतमाथि प्रश्न उठेपछि परिषदले छानबिन गरेर अयोग्यता ठहर गरेको हो ।
राष्ट्रपति भण्डारीले गरिन् ३ देशका लागि राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् ।
सरकारको सिफारिसमा आज राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्रिविलाई आधुनिक सुविधासम्पन्न शैक्षिक संस्था बनाउने प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताएका छन् ।
त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्ष देउवाले आगामी वर्षको बजेट तथा कार्यक्रमले विश्वविद्यालयको प्राज्ञिक स्तरलाई उकास्न तथा विभिन्न भौतिक सुधारमार्फत विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताएका हुन् ।
समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी समाजका लागि उपयोग गर्न सक्ने वातावरण निर्माण गर्नु राष्ट्रिय दायित्व भएको उनले बताए ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी यसका प्राज्ञिक कार्यक्रमलाई थप सुधार र परिमार्जन गर्दै अघि बढ्नु आवश्यक रहेको पनि उनले बताए ।
काठमाडौं महानगरपालिकाको बजेट संशोधनसहित पारित
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित भएको छ ।
महानगर प्रमुख बालेन्द्र साहले आगामी आर्थिक वर्षको बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।
महानगरको आज बसेको नगरसभामा सदस्यहरुले सुझाव पेस गरेका थिए । उनीहरुले फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, वृद्धभत्ता, सडक लगायतका विषयमा कुरा उठाएका थिए ।
काठमाडौं महानगरपालिकाले गत असार १० गते २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, ३९ जना घाइते
संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ३९ जना घाइते भएका छन् ।
मलामी बोकेर फर्किंदै गरेको खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको ट्याक्टर आज दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेका छन् ।
घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना
पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।
जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीव्र गतिका कारण अनियन्त्रित भएर आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
अन्य ३ जना घाइते भएका छन् । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
यौन दुर्व्यवहार गरेको अभियोगमा ७ वर्ष कैद
राउटे समुदायकी युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सुर्खेत जिल्ला अदालतले दुई जनालाई सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।
त्यस्तै होटल सञ्चालक मनबहादुर पुनलाई पनि ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि थुनामा राखिएको थियो ।
मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा गत जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो । ती युवाहरुले राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए ।
भिडियो भाइरल भएपछि प्रहरीले तीनै जनालाई २०७८ जेठ २३ गते पक्राउ गरेको थियो ।
विरानटगरकी निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको हो ।
महानगरपालिकामा पेश भएको झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९७९ रुपैयाँ हानी पु¥याएको बताइएको छ ।
तत्कालीन नगर उपप्रमुख कार्की र विराटनगर महानगरपालिका १५ का तत्कालीन वडाध्यक्ष आलमले माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भए पनि रोलर मेसिनबाट गरिएको कामलाई अनुगमन प्रतिवेदनमा उल्लेख नगरी, गलत मूल्याङ्कनका आधारमा ५ लाख ८ हजार ६६९ हानी पु¥याएको ठहर गर्दै अख्तियारले उनीहरुमाथि सोही बराबर बिगो र जरिवानासहित मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए ।
नेपालमा थप ९८ जनामा कोरोना संक्रमण
नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६१ पीसीआर परीक्षणका क्रममा ८३ जना र १ हजार ९३ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप २७ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ६४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शेयर बजार आज पनि ओरालो
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ ।
नेप्से आज ३४ दशमलव ७० अङ्कले घटेर १ हजार ९ सय ९२ दशमलव ६२ अङ्कमा झरेको हो ।
दुई सय १७ वटा कम्पनीको ३० लाख ६३ हजार ४ सय ७६ कित्ता शेयर कुल १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।
आज कुनै पनि कम्पनीको शेयर उकालो लाग्न सकेन । सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल तथा पर्यटन, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, युनाइटेड इदी मर्दी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, अरुणकाबेली र नेपाल टेलिकम क्रमशः अगाडि रहेका छन् ।
प्रतिक्रिया