‘देश विकास उमेरले होइन, विचार र सिद्धान्तले हुन्छ’ | Khabarhub Khabarhub

‘देश विकास उमेरले होइन, विचार र सिद्धान्तले हुन्छ’


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मंसिर ४ गते सम्पन्न निर्वाचनको नतिजापछि नयाँ सरकार बनाउन दलबीच रस्साकस्सी चलिरहेको छ। अबको सरकार बन्ने क्रममा दलले विगतलाई दोहोर्याउँछन् या दोहोर्याउँदैनन्। विगतमा दल जनतासामु जाँदा विभिन्न आशा देखाए पनि सरकारमा पुगेपछि केही नगर्ने प्रवृत्तिको अन्य होला कि नहोला ? अहिले जनता र देशलाई अनुकूल हुने कार्य हुन्छ या हुँदैन ? अबको नेतृत्व कस्तो आउँला ? यी र यस्तै विषयमा आधारित भएर नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

दार्चुलामा महाकाली नदी मिचेर भारतले तटबन्ध बनाएको छ, यो विषयमा सरकार र सत्ताको नेतृत्वकर्ता पार्टी नेपाली कांग्रेस किन चुपचाप छ ?
कूटनीतिक तवरमा छलफल भएको छ। सरकारले यसमा अलिक ध्यान दिएर काम गर्नुपर्छ। सीडीओको तर्फबाट निकै काम भइरहेका छन्। कुनै संरचना एक पक्षीय ढङ्गबाट बनाउने र अर्कोलाई असर गर्ने खालका कार्य गर्नु हुँदैन। त्यो भएन भने दुवै पक्षको सम्बन्धमा निकै विवाद ल्याउँछ। हामीले यो विषयलाई उठाइरहेका छौँ। अरू दलले प्रचार गर्छन् तर काम गर्दैनन्। नेपाली कांग्रेसले काम गरेको छ, बोल्नु पर्ने सम्बन्धित ठाउँमा हामीले बोलेका छौँ।

तपाईंको दाबी धेरै कुरा गरेको जस्तो देखिन्छ। तर नेताहरुले काम गर्न नसकेको भन्ने आक्रोश आम नागरिकमा देखिन्छ किन ?
हामीले कहिल्यै पनि प्रचारलाई प्राथमिकता दिएनौँ। ओलीको कार्यकालमा धेरै काम भएनन् र त्यसले युवाहरूमा निराशा छायो। त्यो एकै वर्षमा पुरा गर्न सकिँदैन। कोभिडको बेलामा अरू कुरा छोडेर जनतामा कोभिडको खोप उपलब्ध गरायौँ। हाम्रा आवश्यकता धेरै छन्। कोभिडपछि विद्यालय, अफिस सबै खुले। त्यो पनि एउटा सकारात्मक पक्ष हो। हाम्रो सीमित स्रोत र साधन छन्। तर आम नागरिकका आकांक्षा धेरै छन्। हामीले दुई पटक लगाएर संविधान बनाएको छौं। २०४६ साल भन्दा अगाडि ६० देखि ७० प्रतिशत जनता खाली खुट्टा नै हिँड्थे। ६० प्रतिशत जनता गरिबीको रेखामुनी थिए। पछि घटाएर हामीले २१ प्रतिशतमा झारेको हो।

युवा पुस्ता हाम्रा पुराना नेता र नेतृत्वप्रति असन्तुष्ट छन्। यसको विकल्पको खोजी किन हुँदैन ?
एउटा नेता मात्र ठिक भएर हुँदैन। त्यसमा हरेकको के के जिम्मेवारी छ त त्यो सबैले पुरा गर्यौं भने राम्रो हुन्छ। त्यसमा नेपाली कांग्रेसको मनसायले मात्र सबै राम्रो हुँदैन। त्यसको लागि पुरै गठबन्धनका सबै दलहरू एक हुनुपर्दछ। समग्र राज्य संरचनाको लागि सबै मिल्नु जरुरी छ। तर नेपालमा एउटाबाट कमी भयो भने यो बाट पो हुन्छ कि भनेर अर्को नेता ल्याउने चलन छ। त्यसले राजनीतिमा फाइदा गरेको छैन।

ठूलो दलको नेतृत्वले हरेकलाई मिलाएर लानु पर्नेमा दोष अरुलाई लगाएर नेतृत्व पन्छिन मिल्छ ?
नेपाली कांग्रेसको नेतृत्वले त सबैलाई मिलाएर नै लगेको हो।

जनतालाई सहजता दिने कुरा सरकारमा बस्दा किन याद हुँदैन ?
संसारका विकसित देशदेखि लिए सबै यो पेट्रोलियम पदार्थको मूल्य वृद्धिको मारमा बसेका छन्। त्यसमा सरकारले जनतालाई यसो गर्दा सुविधा हुन्छ भनेर सोच्नु पर्दछ। त्यसमा सम्पूर्ण देशहरू मारमा परेका छन्। त्यो नेपालमा मात्र महंगो भएको होइन। अपर तामाकोसी अगाडि बढेको मेरो नै नेतृत्वमा हो। त्यसैले हामीले सबै जना लागेर अगाडि बढ्नुपर्छ। नागरिकतालाई आश देखाएर केपी ओलीले दिन नसकेको नतिजा अहिले हामीसँग खोजेर प्राप्त हुँदैन।

तपाईंलाई अरुले गल्ती गरे भन्न सजिलो भयो। ओलीले गरेका गल्ती कांग्रेस नेतृत्वमा आएपछि छानबिन गर्नुपर्ने थिएन ?
यसको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। उसले छानबिन गर्नुपर्यो। अख्तियारलाई कसैले पनि निर्देश गर्ने ठाउँ छैन। अख्तियार दुरुपयोगलाई सरकारले निर्देशन गर्ने होइन। उनीहरूले नै सरकारले के के गरेको छ त्यो हेरेर अनुसन्धान गर्नुपर्छ।

हिजो तपाईंहरुले नै अपराध र सम्पत्ति शुद्धिकरणको विरोध गर्नुभयो। आज त्यसमा नै मजा लिएर बस्नुभएको छ ?
हामीले यो कुरा किन उठायौँ भने उहाँहरूले यो गलत उद्देश्यको साथ गर्नुभयो। प्रधानमन्त्रीकोमा गयो भने खराब हुने र सम्बन्धित कार्यालयमा गयो भने राम्रो हुने भन्ने हुँदैन। मैले जे गर्छु राम्रो गर्छु भन्ने भ्रमकासाथ उहाँहरूले त्यो कुरा ल्याउनु भयो।

अहिलेको चुनावमा सोचेको जस्तो बहुमत कुनै पार्टीले ल्याउन सकेनन्। जनताले चाहेको काम देउवा नेतृत्वको सरकारले दिन सके भन्ने आरोप छ। त्यसमा तपाईं के भन्नु हुन्छ ?
हामी सबैलाई एक साथमा लिएर धेरै समस्यालाई समाधान गरेर अगाडि बढेका छौँ। हाम्रो नेतृत्व पनि त्यही ढंगले अगाडि बढिरहेको छ। हाम्रा योजनाहरू धेरै छन् र युवाहरूले अन्त जस्तो विकास हाम्रोमा किन भएन भनेका छन्। त्यसमा हामीले ध्यान दिनु पर्दछ। सोचेको जस्तो बहुमत नआए पनि हामी बहुमतको नजिक छौँ। हामी गठबन्धन रहेर अगाडि बढ्नु पर्दछ। जस्तो अप्ठ्यारो बाटो हिँड्न परे पनि हामी हिँड्ने छौँ। अझै पनि म कसरी माथि पुग्छु भनेर भन्न थाल्यो भने कहिल्यै पनि विकास हुँदैन। गठबन्धनका अन्य दलहरूले पनि एक भएर अगाडि बढ्ने हो भने हामी विकासतर्फ जान्छौँ। अब हामीले युवा शक्तिको आगमनलाई पनि अगाडि लिएर जानुपर्छ।

अहिले जनताले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली र नेतृत्व रुचाएका छन् ?
अरू कसले आएर जनताका आकांक्षा पुरा गरेका छन् त। म पनि असन्तुष्ट छु त्यसमा तर अहिले जसले जे भने पनि नेपालमा जिम्मेवार भएर काम गर्ने पार्टी नेपाली कांग्रेस नै हो। सबै सन्तुष्टि जब हुन्छ त्यहाँ विकास अवरुद्ध हुन्छ जुनसुकै नेतृत्व आए पनि। असन्तुष्टि सधैँ रहन्छ। जनतामा गएर जनताबाट निर्वाचित भएर हामी आएका छौँ। त्यसैले हामीले जनताको लागि विकास गर्नु पर्दछ।

अहिलेका जनताले परिवर्तन चाहेका छन्, तर त्यो किन भएन ?
जनताले अहिले पनि हामीलाई विश्वास गरेका छन्। जनताको विश्वास अनुसार हामीले काम गर्नुपर्छ। जनताले परिवर्तनका लागि हामीलाई फेरि अवसर दिएका छन्। यो अवसरलाई जसरी भए पनि हामीले उपयोग गर्नुपर्छ।

जनताले तुलनात्मक रूपमा अहिलेको नयाँ नेतृत्व खोजेका छन् ?
देशको विकासमा उमेरमा कसैलाई दाँजिनु हुँदैन। देश उमेरले चल्ने होइन विचार र सिद्धान्तको आधारमा चल्छ। आवश्यकताको सिद्धान्तका आधारमा नेता आउनु पर्दछ। लोकतन्त्र नै अंक गणित हो। जसले धेरै मत ल्याउँछ त्यो आउँछ। देशको विकासलाई कसैको उमेरसँग तुलना गर्नु हुँदैन। देश उमेरले होइन विचार र सिद्धान्तले चल्छ। लोकतन्त्र भनेको अंक गणितको खेल हो। जसले मत ल्याउँछ त्यही नेता हुन्छ। (एभिन्यूजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता –प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १२ : ०० बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको