भरतपुर महानगरपालिकाको चुनावी तालमेलका विषयलाई लिएर सत्ता गठबन्धन भित्र ठूलो समस्या उत्पन्न भएको छ । यो समस्याको जरो निकै गहिरो भएका कारण शीर्ष नेताहरु अनिर्णयको बन्दी बनेका छन् । नेपाली कांग्रेसको चितवन जिल्ला कार्यसमितिले भरतपुर महानगरपालिकाको मेयर पद यस पटक कांग्रेसले लिने निर्णय गरिसकेको छ । यो निर्णयमा चितवन कांग्रेस किन पुग्यो ? यो सन्दर्भलाई केलाउनका लागि २००७ सालको सेरोफेरोमै पुग्नुपर्ने हुन्छ ।
नेपाली कांग्रेसको गौरवशाली इतिहाससँग प्रत्यक्ष जोडिएको जिल्ला हो चितवन।नेपाली कांग्रेसले २००७ सालको जनक्रान्तिदेखि नै चितवनलाई आफ्नो राजधानीका रुपमा हेर्ने गरेको पाइन्छ । नेपाली कांग्रेसलाई हरेक संकटका बेला चितवनले पार लगाएको इतिहास छ । पञ्चायती व्यवस्थाको लामो कालखण्डमा कांग्रेसका नेताहरुले आश्रय लिने ठाउँ चितवन हो ।
पंचायत कालमा नेविसंघको अधिवेशन अन्यत्र गर्नै नसकिने अवस्थामा चितवनमै भएको थियो । २०२९ सालमा चितवनमा सम्पन्न दोस्रो महाधिवशेनबाट नेवि संघको अध्यक्ष बनेपछि नै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको भाग्योदय भएको हो । २०५२ सालदेखि माओवादीले १० वर्षसम्म गरेको सशस्त्र युद्धमा कांग्रेसका नेता तथा कार्यकर्तालाई गाउँ गाउँबाट खेद्ने अभियान चलेको थियो । यो अभियानका क्रममा कांग्रेसका विस्थापित नेता तथा कार्यकर्तालाई आश्रय दिएको ठाउँ पनि हो चितवन ।
२०१५ सालको आम निर्वाचनमा चितवनबाट नेपाली कांग्रेसका बखानसिंह गुरुङले १३ हजार ४ सय ५५ मत ल्याएर चुनाव जितेका थिए ।२०७४ सालको आम निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४८ हजार मत ल्याएर विजयी बने भने उनका निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेले ३८ हजार मत प्राप्त गरे । नेपाली कांग्रेसले उमेद्वारसमेत उठाएन । राप्रपाका उमेद्वार पाण्डेलाई समर्थन गर्यो। यो चितवनमा नेपाली कांग्रेस कमजोर बन्दै गएको उदाहरण हो । तर, चितवनमा कांग्रेस एक्कासी कमजोर भएको होइन । यसका धेरै कारण छन् ।
२००७ सालको जनक्रान्तिमा नेपाली कांग्रेसले चितवन जिल्लाको हिउँदकालीन सरदमुकाम ठोरी र ग्रीष्मकालीन सदरमुकाम उपरदाङगढीलाई सुरुवाती चरणमै आफ्नो कब्जामा लिएको थियो । चितवन क्षेत्र रणनीतिक महत्व बुझेर राणा प्रधानमन्त्री मोहनशम्शेरले बृहत बस्ती बसाल्ने योजना अघि बढाएका थिए । तर, सफल हुन सकेनन् । २००७ सालको जनक्रान्ति सम्पन्न भइसकेपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले बखानसिंह गुरुङको अग्रसरतामा चितवनमा बृहत बस्ती विकासको योजना सुरु गर्यो । खासगरी गण्डकी क्षेत्रतिरका मानिसलाई बखानसिंह गुरुङले अभियानै चलाएर चितवन झारे । त्यसपछि चितवन नेपाली कांग्रेसको अखडा बनेको हो ।
२०१७ सालको परिवर्तनपछि नेपालका प्राय सबै जिल्लालाई पञ्चायतले सजिलै आफ्नो कब्जामा लियो । कांग्रेसका धेरै नेता तथा कार्यकर्ताले आत्मसमर्पपण गरे, केही कार्यकर्ता प्रवासमा गए । तर, चितवनका कांग्रेसजन भने डटेर लडे । महेन्द्रले ‘कु’ गरेको एक वर्ष बित्दा नबित्दै २०१८ साल माघ २६ गते चितनवनलाई नेपाली कांग्रेसले आफ्नो कब्जामा लिएर मुक्तिक्षेत्र घोषणा गर्यो । त्यसबेला करिव ७२ घण्टासम्म चितवनलाई नेपाली कांग्रेसले आफ्नो कब्जामा लिएको थियो । नेपाली सेनाले चारैतिर घेरा हालेर एक साता बित्दा नबित्दै चितवनलाई फेरि राज्यको नियन्त्रणमा लियो । त्यसक्रममा नेपाली कांग्रेसका ३१ जना नेता तथा कार्यकर्ता मारिए ।
चितवनलाई नेपाली कांग्रेसको प्रभावबाट मुक्त गर्न राजा महेन्द्रले ‘आइरन कट आइरन’ को नीति लिए । कम्युनिष्ट दर्शनको प्रचार प्रसारबाटै नेपाली कांग्रेसको प्रभाव कम गर्न सकिने रणनीति अन्तरगत राजामहेन्द्रले दुई वटा फर्मुला एकैचोटी प्रयोग गरे । पहिलो फर्मुला लियो बन्दीपुरे नेवार साहुलाई कांग्रेसको सम्पर्कबाट पृथक गर्न पचासौं विघा जग्गा दिएर कम्युनिष्ट नेता गौरीभक्त प्रधानलाई चितवनमा बसोबास गराइयो । उनले तत्कालै बन्दीपुरे व्यापारी कदमकुमार पिया, मदनमोहन जोशी, बटुकलाल प्रधान लगायतलाई समेटेर कम्युनिष्टको संगठन गरे । यसैगरी शिक्षक तथा विद्यार्थीलाई कम्युनिष्ट प्रति आकर्षित गराउन आनन्ददेव भट्टको नेतृत्वमा भरतपुर क्याम्पसमा करिव आधादर्जन प्रध्यापक खटाइयो । कांग्रेसको गुप्तचरी गर्नका लागि जग्गा बक्सिस दिएर राजा महेन्द्रले ठूलो संख्यामा आफ्ना अनुचर तैनाथ गरे ।
यसरी २०३६ सालसम्म आइपुग्दा जनस्तरबाटै कांग्रेसको प्रतिकार हुनसक्ने अवस्थामा पंचायतले चितवनलाई पुर्याइसकेको थियो।२०३६ सालको विद्यार्थी आन्दोलनको बेलासम्म चितवनमा कांग्रेसको पकड कमजोर थिएन ।२०३६ वैशाख २० गते भरतपुरमा आन्दोलन चर्किँदा नेपाली कांग्रेसका दुई जनालाई गोली हानेर मारिएको थियो । त्यो गोली प्रहरीका तर्फबाट हानिएको थियो या भिजिलान्ते प्रयोग गरिएको थियो ? भन्ने एकिन हुन सकेको छैन । किनकी पञ्चायतले चितवनका युवा कम्युनिष्टमा कांग्रेसप्रति धेरै नै ठूलो घृणाभाव फैलाई सकेको थियो । तर, २०३७ सालको जनमत संग्रहमा चितवनमा बहुदल पक्षले नै बढी भोट ल्याएको थियो । तर, चितवनमा कम्युनिष्टको संगठन यसरी बढ्दै गयो कि २०४३ सालको राष्ट्रिय पंचायतमा दुवै सिट कम्युनिष्ट उमेद्वारले जिते ।
२०४६ सालको जनआन्दोलनमा चितवनमा चार जना मारिएका थिए । मारिने सबै कांग्रेसकै कार्यकर्ता थिए । त्यो जनआन्दोलनको पहिलो सहिद गणेश पौडेल चितवनकै हुन् ।
बहुदल प्राप्ति पछि २०४८ सालमा भएको निर्वाचनमा पनि चितवनका तीन वटै सिट कम्युनिस्टले जिते । क्षेत्र नम्बर १ बाट एमालेका जागृत प्रसाद भेटवाल, २ बाट नेकपा संयुक्तका भीमबहादुर श्रेष्ठ र ३ बाट संयुक्त जनमोर्चाका अमिक शेरचनले चुनाव जिते । त्यसपछि २०४९ सालमा भएको स्थानीय निर्वाचनमा भरतपुर नगरपालिका लगायत चितवनका प्राय सबै गाउँपालिका नेपाली कांग्रेसले जित्यो ।
२०५१ सालमा नेकपा एमालेले २ र कांग्रेसले १ क्षेत्रमा चुनाव जिते । एमालेबाट भेटुवाल र काशिनाथ अधिकारी विजयी भए भने क्षेत्र नम्बर ३मा कांग्रेसका तीर्थ भुषालले चुनाव जिते । २०५४ को स्थानीय चुनावमा नेकपा एमालेले राम्रो नतिजा ल्यायो। पार्टीका जिल्ला सचिव रहेका विष्णु घिमिरे जिल्ला विकास समितिका सभापति बने ।
२०५६ सालको आमनिर्वाचनमा चितवनका तीनवटै क्षेत्र नेपाली कांग्रेसले जित्यो । २०६४ सालमा चितवनलाई ५ वटा निर्वाचन क्षेत्र बनाइयो । पाँचै वटामा माओवादीले चुनाव जित्यो । उक्त संविधानसभाबाट संविधान बनाउन नसकी विघटन भएपछि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले २, नेकपा एमालेले २ र राप्रपाले १ क्षेत्रमा जिते । चितवन क्षेत्र नम्बर ४ बाट कांग्रेसका तत्कालीन केन्द्रीय सभापति सुशील कोइराला आफैँ उम्मेदवार बनेर लडे । चुनाव जिते र पछि उपनिर्वाचनमा पनि कांग्रेसकै उम्मेदवार रामकृष्ण घिमिरेले जिते । चितवन सबै भन्दा सुरक्षित ठान्दै कांग्रेस सभापति कोइराला चुनाव लड्न आएका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले नेपाली कांग्रेससँग गठबन्धन गरेर भरतपुर महानगरपालिकामा चुनाव जित्यो । प्रचण्डपुत्री रेणु दाहाल मेयर बनिन् । मतगणना क्रममा अन्तिम समयमा मतपत्र च्यातिएको घटना सधैं चर्चाको विषय बनिरहेको छ । २०७४ को स्थानीय निर्वाचनमा माओवादीले माडी नगरपालिका पनि जित्यो । एमाले रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा विजयी भयो । कांग्रेस इच्छाकामना गाउँपालिकामा मात्रै सीमित बन्यो ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी पार्टीका अध्यक्ष प्रचण्ड एमालेसँग गठबन्धन गरेर चितवनमा चुनाव लड्न आइपुगे । यो निर्वाचनमा चितवनका तीनवटै क्षेत्र वाम गठबन्धनले जित्यो । प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट विजयी भए, २ बाट कृष्णभक्त पोखरेल र १ बाट सुरेन्द्र पाण्डे विजयी बने। निर्वाचनपछि माओवादी र एमाले एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बन्यो । तर, एकता लामो समयसम्म टिक्न सकेन ।
आसन्न स्थानीय निर्वाचन २०७९ मा चितवन जिल्ला सबै भन्दा बढी पेचिलो भइरहेको छ । सत्तागठबन्धनमा सामेल दलहरुले बनाएको मापदण्ड अनुसार कांग्रेसले स्थानीय चुनावमा प्रचण्डकी छोरी रेणु दाहालका लागि छाड्नुपर्ने हुन्छ भने प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंलाई छाड्नुपर्ने हुन्छ । गत स्थानीय निर्वाचनमा माओवादीलाई र प्रतिनिधिसभा निर्वाचनमा राप्रपालाई भोटहाल्न बाध्य बनाइएका चितवनका कांग्रेसजनको प्रश्न छ ‘सधैं अर्काको पार्टीलाई मात्रै भोट हाल्न बनाइएको हो, चितवनको संगठन ?’
कांग्रेसले एक्लै चुनाव जित्नसक्ने ताकत हुँदाहुँदै माओवादीका उमेद्वारलाई किन भोट हाल्ने ? भन्ने प्रश्न चितवनका कांग्रेसजनको हो । तर, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने कांग्रेसले एक्लै चुनाव जित्नसक्ने मत चितवनमा नभएको दाबी गर्दै आएका छन् । प्रधानमन्त्रीले पार्टीको गोप्य बैठकमा दिएको विवरण झुटो नहोला । तर, गत आम निर्वाचनको समानुपातिक तर्फको मत परिणामलाई हेर्ने हो भने भरतपुर महानगरपालिका र चितवनको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस पहिलो नम्बरमा छ । समानुपातिकतर्फ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले २६ हजार, एमालेले २४ हजार, माओवादीले २३ हजार मत ल्याएको देखिन्छ । यसैगरी ३ वटा राप्रपाले गरी ८ हजार मत ल्याएको देखिन्छ ।
भरतपुर महानगरपालिका भित्र भने एमालेको तुलनामा नेपाली कांग्रेसको अग्रता अली बढी छ । नेपाली कांग्रेसको ४१ हजार, एमालेको ३७ हजार र माओवादीको २६ हजार मत देखिन्छ । यसैगरी राप्रपाको ११ हजार देखिन्छ । यी चारै वटा पार्टी अलग अलग चुनाव लड्दा मात्रै नेपाली कांग्रेसको पल्लाभारी हुने हो । तर, एमाले र राप्रपा मिलिदिए भने मात्रै पनि काण्ड पुग्छ । त्यसो त गत आम निर्वाचन यताको चार वर्षे अवधिमा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नेहरुको संख्या पनि उल्लेख्य छ । तर, पार्टी विभाजित भएका कारण एमालेको भोट खासै बढेको छैन ।
प्रतिक्रिया