श्रीलंका संकट-कोलम्बोको सडकमा अराजकता र नयाँ नेतृत्वका लागि अबको चुनौति | Khabarhub Khabarhub

श्रीलंका संकट-कोलम्बोको सडकमा अराजकता र नयाँ नेतृत्वका लागि अबको चुनौति



श्रीलंका अहिले चरम आर्थिक संकटमा मात्रै फसेको छैन त्यहाँ अत्यावश्यक वस्तुको अभावसँगै जनताको आक्रोशको पारोले पनि सीमा नाघेको छ । जनजीविकाको न्यूनतम आवश्यकता पनि पूरा गर्न नसकेपछि श्रीलंकालीहरु सरकारप्रति क्रुद्ध बनेका छन् ।

शनिबारमात्रै मुलुकका विभिन्न ठाउँबाट राजधानी कोलम्बोमा आएका प्रदर्शनकारीको आक्रोशित भीड जबरजस्ती राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेसँगै राष्ट्रपति फरार हुन बाध्य भए । अहिले त्यहाँका निरीह राष्ट्रपति गोताबाया राजपाक्षे कहाँ छन् भन्ने कसैलाई थाहा छैन । धेरैको अड्कलमा उनी श्रीलंकाली सेनाको अखडामा कतै लुकेको हुन सक्छन् ।

आक्रोशित प्रदर्शनकारीको भीडबाट जोगिएर राष्ट्रपति भागेको घटनाले इतिहासका विद्यार्थीलाई फ्रान्सेली क्रान्तिको स्मरण गराउँछ । १८ औँ शताब्दीको अन्त्यतिर फ्रान्समा पनि भोकमरी र अत्यावश्यक सामानको अभावले प्रताडित यस्तै क्रुद्ध प्रदर्शनकारीको भीडले पेरिस बाहिर निर्मित भर्साइको आलिसान दरबारमा प्रवेश गरी तत्कालीन फ्रान्सेली नरेश लुई सोह्रौँ र महारानी मरीँ एन्ट्वनेटलाई हायलकायल पारेका थिए । भलै त्यस बेला फ्रान्सेली नरेश जनताको आक्रोशबाट नभागी प्रदर्शनकारीसँगै पेरिस फर्किन राजी भएका थिए । तर, अहिले श्रीलंकाली राष्ट्रपति भने आफैँलाई राष्ट्रपति बनाएका जनताको आक्रोशको सामना गर्न नसकेर भाग्नुपर्ने परिस्थिति उत्पन्न भएको छ ।

प्रदर्शनकारीको आक्रोशलाई मध्यनजर गर्दै उनी राजीनामा दिन समेत तयार भइसकेका छन् । यसअघि त्यहाँ केही महिनाअघि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका रनिल विक्रमासिंघेले पनि राजीनामा दिन आफू तयार रहेको बताएका थिए । कुशल नेतृत्व प्रदान गरेर मुलुकलाई उकास्नुको सट्टा राजीनामा दिने राजपाक्षेको घोषणाले श्रीलंकामा उनको नेतृत्व पूर्णतः असफल भइसकेको सन्देश दिएको छ ।

त्यस्तै, केही महिनाअघि देशलाई संकटबाट पार लगाउने बाचा गरी प्रधानमन्त्री बनेका विक्रमासिंघेले राजीनामा दिने घोषणा गर्नुले पनि उत्तिकै अर्थ राख्छ । विक्रमासिंघे ५ पटक प्रधानमन्त्री बनिसकेका नेता हुन् । उनीसँग सरकार कसरी हाँक्ने भन्ने राम्रो अनुभव छ । विक्रमासिंघेजस्ता अनुभवी राजनेताले समेत जनताको अपेक्षा पूरा गर्न नसकी राजीनामा दिँदा श्रीलंकाली संकट यसअघि अपेक्षा गरिएभन्दा निकै विकराल रहेको प्रष्ट हुन्छ ।

संकट चुलिरहेका बेला कुशल नेतृत्व दिनुको सट्टा श्रीलंकाली राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिने घोषणा गर्दा यसले अन्तर्राष्ट्रिय समुदायमा र स्वदेशमै पनि राम्रो सन्देश जाने देखिन्न । अझ मुलुकको नेतृत्व परिवर्तन हुँदा नयाँ आउने नेतृत्वले जारी संकटलाई समुचित रूपमा व्यवस्थापन गर्नु पनि अझ धेरै चुनौतीपूर्ण बन्ने देखिन्छ । श्रीलंकाली नेतृत्व परिवर्तनसँगै निकट भविष्यमा श्रीलंकाका दातृ एवम् सहयोगी मुलुकहरूले देखाउने प्रतिक्रिया रोचक हुनेछ । खास गरी अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकजस्ता दातृ निकायसँग वित्तीय सहयोगबारे छलफल भइरहेका बेला नेतृत्व परिवर्तन हुँदा यस्ता छलफलमा पर्ने प्रभाव पनि उत्तिकै अर्थपूर्ण रहनेछ ।

विदेशी मुद्राको चरम अभाव र अत्यावश्यक वस्तुको आयात गर्न कठिनाइ उत्पन्न भएका कारण श्रीलंकालीहरुको आक्रोश उत्कर्षमा पुगेको छ । श्रीलंकाली जनताको आक्रोश यस्तो स्तरमा पुगेको छ कि, प्रदर्शनकारीको भीडले हाकाहाकी कानून एवम् मर्यादा मिचेर राष्ट्रपति निवासभित्र प्रवेश गरी दंगा फसाद गर्दा समेत श्रीलंकाली सुरक्षा बल मूकदर्शक बन्न बाध्य भएका छन् । कोलम्बोको सडकमा अराजकता उत्पन्न भएको  छ ।

फलस्वरूप मुलुकमा सुरक्षाका हिसाबले सबैभन्दा संवेदनशील मानिने राष्ट्रपतिको निवासमा सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी प्रवेश गर्दा मुलुकका सर्वोच्च व्यक्तित्व आफैँ भागेर फरार हुन बाध्य भएका छन् । यसले श्रीलंकाली सरकार आफूले बनाएका नियम कानून पालना गराउन समेत असफल भइसकेको देखिएको छ ।

यसअघि पनि प्रदर्शनकारीको आक्रोश खेप्न नसकेपछि राष्ट्रपति राजपाक्षेका दाजु तत्कालीन प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिएका दिए । प्रधानमन्त्री राजपाक्षेको स्थानमा प्रधानमन्त्री बन्न आएका विक्रमासिंघेले मुलुकलाई संकटबाट पार लगाउने बाचा गरेका थिए । तर, प्रधानमन्त्री पद सम्हालेको केही समयबाट नै उनले निकै निराशापूर्ण अभिव्यक्तिहरू दिन थालिसकेका थिए । केही समयअघिमात्रै उनले आफ्नो मुलुक ‘पूर्ण रूपमा टाट पल्टेको’ घोषणा गरेका थिए ।

त्यस्तै, मुलुकमा एक दिनलाई मात्र पुग्ने पेट्रोल रहेको भन्ने उनको अभिव्यक्तिका कारण पनि श्रीलंकालीहरु आक्रोशित बन्न पुगेका थिए । त्यसपछि त्यहाँ विद्यालय बन्द गर्ने, सातामा बिदा बढाउने, सरकारी जागिर खानेलाई विदेशमा काम गर्न बेतलबी बिदा दिने लगायतका कदम चाल्न श्रीलंका सरकार बाध्य भएको थियो । श्रीलंकाली सरकारका यस्ता निराशापूर्ण एवम् व्यग्र कदमले त्यहाँको अवस्थामा अझै सुधार हुन नसकेको देखिन्छ ।

श्रीलंकामा जारी संकट कहिलेसम्म चल्ने हो अझै स्पष्ट छैन । नेतृत्व फेरिएको खण्डमा श्रीलंकामा सकारात्मक परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ । मुलुकमा जारी आर्थिक संकट व्यवस्थापन गरी अराजकता निर्मूल पार्दै मुलुकलाई पुनः विधिको शासनमा फर्काउनु नयाँ नेतृत्वको सानो प्रयासले मात्रै सम्भव हुने देखिँदैन ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : ४१ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको

हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने 

काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको

दार्चुला जिप दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

खलङ्गा– दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौं– गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको

कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी