दिनभर आज के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज के के भयो देशभर ? (अडियोसहित)


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

निर्वाचन आयोगले एकीकृत समाजवादी र कांग्रेस नेतालाई स्पष्टीकरण सोध्यो
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीले आचारसंहिता उल्लंघन गरेको उजुरी प्राप्त भएको र सो विषयमा तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिए ।त्यस्तै आयोगले चुनाव खर्चबारे दिएको सार्वजनिक भनाइका विषयमा कांग्रेसका नेता डा. शशांक कोइरालासँग जवाफ मागेको छ । २०७४ को निर्वाचनमा कोइरालाको निर्वाचन खर्च विवरण २१ लाख ७५ हजार मात्र उल्लेख भएको र ६ करोड खर्च भएको अभिव्यक्ति दिएको भन्दै यस विषयमा सात दिनभित्र जानकारी दिन भनिएको प्रवक्ता पौडेलले बताए ।

सत्ता गठबन्धन दलबीच एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता
सत्ता गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गर्दै आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता कार्यकर्तासँग अपिल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको संयन्त्र बैठकले संयुक्तहरूमा अपिल जारी गर्दै स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरूलाई अमूल्य मत दिई विजयी गराउन आग्रह समेत गरेको छ ।गठबन्धनले यसअघिका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् ।चुनावी तालमेलको मोडालिटी तयार गर्न  भोलि दिउँसो ४ बजे गठबन्धनको अर्को बैठक बोलाइएको कार्कीले जानकारी दिनुभयो ।

अर्थतन्त्रमा कुनै पनि संकट आएको छैन : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको दावी गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले हालसम्म उपलब्ध विवरणका आधारमा मुलुकको अर्थतन्त्रमा ठूलो सङ्कट नआएको दावी गरेका छन् । उहाले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने भन्दै व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको तर्क गरे । अर्थमन्त्री जनार्दश शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति जनाउदै यसरी अफवाह फैलाउनु राष्ट्रघात भएको बताए ।

सरकारी इन्धन खर्च कतौटी गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस
अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । अर्थतन्त्रको संकट टार्न मन्त्रालयले सरकारी कार्यालयमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । अर्थमन्त्री शर्माले सार्वजनिक बिदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिनुभएको हो । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको उहाँको भनाई छ । उहाँका अनुसार सर्वसाधारणलाई समेत पेट्रोलियम इन्धनको प्रयोग घटाउन आह्वान गर्नेगरी प्रस्ताव गरिएको छ ।

मिचिएको भूमि फिर्ता ल्याउन खोज्दा मेरो सरकार ढाले : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा आफ्नो सरकार सिध्याउन खोजेको आरोप लगाएका छन् । २६ वर्षपछि बझाङ पुगेको बताउँदै ओलीले एमालेलाई देश विकास गर्न खोज्दा हटाइएको बताएका हुन् । नेकपा (एमाले) बझाङले आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बझाङ पुगेका ओलीले देशभर एमालेको पक्षमा जनलहर उत्रेको दाबी पनि गरे ।

चुनावपछि केपी ओलीले सरकारको नेतृत्व गर्छन् : एमाले उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले परमादेशबाट विस्थापित भएका ओलीलाई जनादेशबाट पुनर्स्थापना गरिने बताएका छन् । बझाङमा आयोजित एमालेको जनसभामा बोल्दै पौडेलले देश विकासका लागि एमाले सरकारको विकल्प नभएको उल्लेख गरे।

निर्वाचनको वातावरण बनाउनका लागि सरकार गम्भीर हुनुपर्छ : सभामुख
सभामुख अग्नि सापकोटाले निर्वाचनको वातावरण बनाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगले आज ललितपुरमा आयोजना गरेको निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मुलुककै महान उत्सव भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताए ।

सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने योजना छ : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका छन्। आज सिंहदरबारमा आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फछर्यौट कार्यमा सर्वोकृष्ट/उत्कृष्ठ हुने कर्मचारी र अवकाशमा जान लाग्नुभएका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० गते बस्ने
नेपाली कांग्रेसले बुधबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले एक सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् हो । बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्र सम्बन्धी विषयमा छलफल हुनेछ ।

मेलम्ची खानेपानीको मूल सुरुङमा भोलिदेखि पानी पठाउन सुरु गरिने
मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा भोलिदेखि पानी पठाउन सुरु गरिने भएको छ ।मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा हुने ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा भोलि त्यहाँ जानुहुने बताइएको छ ।त्यसअघि प्रधानमन्त्री देउवाले सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक शिलान्यास कार्यक्रम पनि रहेको छ । हेडवक्र्सको निर्माण नसकिँदै गत असार १ मा आएको बाढीले आयोजनाको मुहान क्षेत्र तहसनहस पारको थियो ।अस्थायी बाँध बनाइसकेपछि गत चैत १९ मा खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गर्नुभएको थियो ।

बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु
बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला सदरमुकाम चैनपुरस्थित बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो। प्रहरीका अनुसार डुबेर बित्थडचिर गाउँपालिका ४ का १८ वर्षीय कमल बोहराको मृत्यु भएको हो। दिउसो ४ बजेतिर उनको ज्यान गएको प्रहरीले जनाएको छ। यसअघि पनि बाहुलीगाडमा डुबेर एक जनाको मृत्यु भएको थियो।

नेपालमा कोरोना कोरोना अपडेट
पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ९ सय ७२ पीसीआर परीक्षणका क्रममा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ६८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रेस काउन्सिलले सञ्चारमाध्यममा निर्वाचन आचारसंहिताको अनुगमन गर्ने
प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ । आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोगबीच हिजै सम्झौता भएको हो । सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । त्यस्तै आयोगले डिजिटल माध्यममा निर्वाचन गतिविधि निरीक्षण गर्न र कारवाही सिफारिसका लागी पनि कार्यदल गठन गरेको छ ।

बिस्केट दोश्रो दिन आज भैरव र भद्रकालीको रथमा पूजाआज
भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्का जात्राको दोश्रो दिन  आज  भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ ।स्थानिय भक्तजनहरूले बिहानैदेखि भैरव र भद्रकालीमा पूजाआजा गरेका हुन् ।नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय गोलीसहित युवती पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले आज  पक्राउ गरेको हो । भानु नगरपालिका ७ की स्थायी बासिन्दा नेपालीको झोला जाँचको क्रममा मनीपर्सभित्र के एफ १३५.५६ लेखिएको गोली फेला परेको प्रहरीले जनाएको छ ।

उदयपुरमा श्रीमानले गरे श्रीमतीको हत्या
उदयपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको अभियोगमाकटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाललाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । बसिरहेको अवस्थामा श्रीमान्  पोष्टराजले चिर्पटले प्रहार गर्दा नानुमायाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । यता कैलालीमा श्रीमानको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेका आरोपमा ३३ वर्षीया श्रीमती थुमा थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शेयर बजार परिसूचक नेप्सेमा आज ४४ दशमलव ६४ अंकले घट्यो
शेयर बजार परिसूचक नेप्सेमा आज गिरावट आएको छ । नेप्से आज ४४ दशमलव ६४ अकंले घटेर २ हजार ४ सय १९ दशमलव ७१ विन्दुमा पुगेको हो । आज कुल  ५ लाख ९५ हजार ८ सय ३४ कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६ सय  २८ रुपैयाँमा कारोबार भएको  छ । आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीवन बीमा, उत्पादन, अन्य, होटल तथा पर्यटन, विकास बैंक, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

सिरहामा सामुदायिक वनका अध्यक्ष लाखौँ मूल्यको अवैध काठसहित पक्राउ
सामुदायिक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका–७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् ।तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स१त ३६०७ ट्रयाक्टरसहित उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल मिर्चैया बेसक्याम्प उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका पोखरेललाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय लहानलाई बुझाइएको प्रहरीले जनाएको छ ।

लघु उद्यमीहरूको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु
लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।सो सम्मेलनको नेपाल राष्ट्र बैङ्कका कामु गभर्नर डा.निलम ढुङ्गाना तिमिल्सिनाले आज उद्घाटन गरे । सम्मेलनमा देश भरका ७७ वटै जिल्लाका करिब ८ सय लघु उद्यमी संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्नुहुँदै कामु गभर्नर डा ढुङ्गानाले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या छिटै समाधान हुने विश्वास व्यक्त गरे ।

विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रलाई सभामुखको आग्रह
सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६ औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले अर्थतन्त्र परनिर्भर हुँदा अनेक खालका समस्या देखिएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रको सार्थक सहयोग र सहकार्य जरुरी रहेको बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ३९ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,