कांग्रेस नेता सिंहलाई रवीन्द्र मिश्रका १५ प्रश्न « Khabarhub

कांग्रेस नेता सिंहलाई रवीन्द्र मिश्रका १५ प्रश्न


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहलाई १५ प्रश्न गरेका छन् ।

कांग्रेस नेता सिंहले हिजो एक कार्यक्रममा मिश्रप्रति व्यङ्ग गरेपछि त्यसको जवाफमा उनले १५ प्रश्न गरेका हुन् । उनले सिंहको नाम नलिई प्रश्न गरेका छन् ।

‘लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एक जना ‘वरिष्ठ नेता’ ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ । उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो,’ मिश्रले भनेका छन् ।

सिंहले हिजो मिश्रको नाम लिएर दल खोल्नु भनेको नाङ्लो पसल खोलेजस्तो नभएको भन्दै व्यङ्ग्य गरेका थिए । मिश्रले आफ्नो पार्टी दुई वर्ष पनि टिकाउन नसकेको आरोप सिंहले लगाएका थिए, जसको जवाफ आज मिश्रले दिएका हुन् ।

मिश्रले कांग्रेस नेता सिंहलाई गरेका १५ प्रश्न यस्ता छन्: 

१. पन्ध्र वर्ष सांसद हुँदा, संसद् चलेका कूल दिनहरूमा तपाईँ कति पटक संसदमा उपस्थित हुनुभयो ? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?

२. संसद् भनेको देशको नीति–नियम बनाउने थलो हो । तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका के, के विषयमा कति पटक बोल्नुभयो ? बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो ?

३. तपाईँ देशको राजधानी काठमाडौँको १५ वर्षदेखिको सांसद । राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुवाँ नियन्त्रित, ट्राफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयो ? फेरि तपाईँ त कुनै बेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो !

४. काठमाडौँ सम्पदाको शहर हो । सम्पदा संरक्षणका लागि संसदमा कुनै आवाज उठाउनु भयो कि ?

५. बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ। तपाईँ युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो । अहिले छुन पनि हिचकिचाउनु पर्छ । नदीनाला सफाइका लागि केही काम गर्नुभयो ?

६. त्यो सांसद विकास कोष भन्ने छ नि ? त्यो खासमा बहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनी राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरी छुटाइएको बजेट हो । तपाईंले त्यो लिनु भयो कि भएन ? वास्तवमा भन्ने हो भने तपाईंले संसदमा त्यसको घनघोर विरोध गर्नु पर्थ्यो नि, हगी ?

७. तपाईँ मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो कि ? सुशासनका लागि सरकारी कर्मचारीहरूको ‘दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो ? अनि नि, तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालाबन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो ?

८. इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरुद्ध बोल्नुभयो कि ?

९. साँच्ची, नेपाली पुरुषसँग विवाह गरे लगत्तै विदेशीलाई नागरिकता दिने तर देशभित्रकै महिला र पुरुषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसी, एसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो ?

१०. द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्ने त्यति बेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्बन्धमा जुन अत्यधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नु भएन । त्यो त गम्भीर विषय हो नि । अलि चासो दिनु पर्थेन ?

११. हुन त, विचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ । त्यो त अति भएन र भन्या ?

१२. तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो ?

१३. अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घडीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?

१४. झन्डै एउटा कुरा बिर्सिएको । गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरुद्ध सृंखलावद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रे ? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ । छ भने बताइदिनोस् न, कृपया ।

१५. तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भएछ । मैले त बीपी, कृष्ण प्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हु ँ। गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ । तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो । १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन । मौका पाए कोही नबस्ने देश बनाउनु भयो । राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो । खै के भनुँ! अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ । मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ५ : ०४ बजे

खाना पकाउने ग्यास लिन सर्वसाधारणको लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै