काठमाडौँ- कोभिडसम्बन्धी समस्याका कारण भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ ।
७५ वर्षे कांग्रेस अध्यक्षलाई केही दिनसम्म अस्पतालमै राखिने भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ ।
‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुर्जेवलाले ट्विट गर्दै जानकारी दिएका छन् ।
सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ देखिएको थियो । कोभिड संक्रमण देखिएपछि उनी आफ्नै निवासमा आइसोलेसनमा रहेकी थिइन् । उनी चिकित्सकको निरन्तर निगरानीमा रहेको जनाइएको छ ।