काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यु आर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धी सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोको क्यु आरहरूमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्डलगायत क्रेडिट कार्डवाहकले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधीनमा रही क्यु आर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकलाई थप सुविधा प्राप्त हुनेछ ।
मोको डिजिटल वालेटमा कार्डहरू लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता नपर्ने बताइएको छ । क्रेडिट कार्डवाहकहरुले समेत क्यु आर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुनेछ । उक्त सम्झौता पत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राज भण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । अन्य जानकारीका लागि बैंकका शाखा कार्यालयहरूमा सम्पर्क राख्न आग्रह गरिएको छ ।
प्रतिक्रिया