आज असार २८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाइ १२, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
श्रीलंकामा अराजकता कायमै, देश छाड्ने दाउमा रहेका राजपाक्षेहरु विमानस्थलबाटै फर्काइए
श्रीलंकाका पूर्वअर्थमन्त्री बासिल राजापाक्षलाई प्रदर्शनकारीहरुले विदेश उड्न अवरोध गरेका छन् ।
सोमबार साँझ संयुक्त अरब इमिरेट्सको दुबई जाने हवाइजहाज चढ्न विमानस्थल पुगेका उनलाई अध्यागमन अधिकारीहरूले रोकेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
देशमा जारी चरम आर्थिक संकटका बेला बासिलले श्रीलंका छोड्ने प्रयास गरेपछि हवाइजहाजका यात्रीले घोर विरोध जनाएका थिए । प्रदर्शनकारीहरुले राजापाक्ष परिवारका सदस्यका साथै राजनीतिक दलका उच्च नेताहरुलाई विदेश जानबाट रोक्नका लागि विमानस्थलमा चेकपोष्ट राखेर बसेका छन् ।
देश आर्थिक संकटमा फसेपछि राष्ट्रपति गोटावायाको निर्देशनमा बसेलले गत अप्रिलमा राजीनामा दिएका थिए । राष्ट्रपति गोटावाया राजापाक्ष तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका भाइ बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ ।
देश आर्थिक संटकमा फसेपछि स्थानीय बासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन् । राष्ट्रपति भवन अहिले प्रदर्शनकारीकै नियन्त्रणमा छ । यसैबीच, प्रदर्शनकारीको आक्रोश खेप्न नसकी फरार रहेका श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे भागेर दुबई जान खोजिरहेको दाबी गरिएको छ । गोप्य स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले राजपाक्षे भागेर दुबई जान खोजिरहेको दाबी गरेको हो ।
मुलुकमा आर्थिक संकट चुलिरहेको एवम् अत्यावश्यक वस्तुको चरम अभाव रहेको अवस्थामा आक्रोशित प्रदर्शनकारीले सरकारी निवास कब्जा गरेसँगै फरार रहेका राष्ट्रपति यसअघि विमानस्थलबाट भागेर विदेश जाने तरखरमा रहेको जनाइएको छ ।
यद्यपि मंगलबार मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारीहरुसँग लज्जास्पद वादविवाद भएपछि उनी स्वदेशमा नै अड्केको एएफपीको दाबी छ ।
विमानस्थलको अति विशिष्ट कक्षका अध्यागमन कर्मचारीहरुले उनको राहदानीमा छाप नलगाइदिएपछि उनी स्वदेशमा नै रहन बाध्य भएका हुन् । आम सर्वसाधारणको आक्रोश खेप्न नसक्ने देखेर उनले सार्वजनिक कक्षको प्रयोग गर्न पनि अस्वीकार गरेको एएफपीको दाबी छ ।
यसअघि उनका कान्छा भाइ बसिल राजपाक्षे पनि विदेश भाग्न खोज्दा विमानस्थलबाट फर्काइएका थिए ।
उनी शनिबारयता अज्ञात स्थानमा लुकिरहेका छन् । यसअघि उनी विदेश फरार भइसकेको अड्कलबाजीहरु पनि सुनिएका थिए । यद्यपि केही दिनयता उनी उनकी श्रीमती र केही नजिकका मानिसहरुसँगै विमानस्थल नजिकैको सैनिक अखडामा लुकेर बसेको एएफपीले जनाएको छ ।
यद्यपि जलमार्गबाट उनले देश छाड्न सक्ने अनुमान गरिएको छ । उनले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् ।
तर, पदबाट राजीनामा दिएसँगै आफूमाथि विभिन्न अभियोगमा कारवाही हुने भयले उनले देश छाड्न लागेको जनाइएको छ । दुबईसँग श्रीलंकाको सुपुर्दगी सम्झौता नभएका कारण उनी दुबई जान चाहेको बताइएको छ । यस्तै, श्रीलंकामा गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले आफू राष्ट्रपतिको उम्मेदवार हुन चाहेको बताएका छन् ।
उनको समगी जन बलवेगया (एसजेबी) पार्टीले यस कदमलाई समर्थन गर्न सहयोगीहरूसँग वार्ता गरेको छ । आगामी राष्ट्रपति २० जुलाईमा छानिने बताइएको छ । राष्ट्रपतिको पद रिक्त भएमा पार्टी र सहयोगीहरूले राष्ट्रपतिको पदको लागि आफूले उम्मेदवारी दिने प्रेमदासाले बताएका छन् । सन् २०१९ मा भएका राष्ट्रपति निर्वाचनमा उनी पराजित भएका थिए ।
जित्नको लागि उनलाई गठबन्धनका सांसदहरूको समर्थन चाहिन्छ । श्रीलंकाको राजनीतिमा दुई दशकभन्दा बढी समयदेखि प्रभुत्व जमाएका श्रीलंका र उनको परिवारविरुद्ध आक्रोश बढिरहेका बेला उनी आफ्नो पक्षमा समर्थन जुटाउन लागिरहेका छन् ।
जुनमा श्रीलंकाको मुद्रास्फीति दर ५५५ प्रतिशतमा पुगेको थियो । हाल लाखौँ मानिसहरू जीविकोपार्जन गर्न संघर्ष गरिरहेका छन् । श्री प्रेमदासले सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन आफू तयार रहेको बताए । गत अप्रिलमा प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि एसजेबी नेता प्रेमदासविरुद्ध आलोचना भइरहेको छ ।
उनले अस्वीकार गरेपछि प्रेमदासका प्रतिद्वन्द्वी रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि राजीनामा दिने घोषणा गरेका थिए । श्रीलंकाको वर्तमान अवस्थालाई असफलता, अनिश्चितता र पूर्ण अराजकता भन्दै प्रेमदासाले ‘सहमति, परामर्श, सम्झौता र एकताको खाँचो रहेको’ औँल्याएका छन् ।
यसैबीच, श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास आपूर्ति पुनः वितरण भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन आपूर्ति पुनः वितरण भएको हो ।
राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । लाइनमा हजारौँ थकित मानिसहरूको भिड देखिन्थ्यो । महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत अनुभूति गरेका छन् ।
श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ । अत्यधिक मुद्रास्फीतिले मूल्यवृद्धि गरेको छ । देशको विदेशी मुद्रा सञ्चिति सबै सकिएको छ । खाद्यान्न, इन्धन र औषधि आयात गर्न टापु देशले ठूलो संघर्ष गरिरहेको छ ।
बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने लेबर पार्टीको तयारी
बेलायतको मुख्य विपक्षी लेबर पार्टीले मंगलबार प्रधानमन्त्री बोरिस जोनसनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी छ । प्रस्तावमाथि बुधबार मतदान हुने अपेक्षा गरिएको छ ।
अविश्वासको प्रस्तावको अर्थ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूले तत्कालका लागि जोनसन नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा मतदान गर्नेछन् । सरकारले विश्वास गुमाएमा चुनावमा जाने सम्भावना पनि हुन्छ ।
एक साताअघि प्रधानमन्त्रीले कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । अर्को नेता चयन नहुन्जेल उनी प्रधानमन्त्रीमा रहने बताउँदै आएका छन् ।
प्रधानमन्त्रीले राष्ट्रिय हित विपरीत काम गरेको र यौन दुर्व्यवहारका आरोपित सांसदलाई संरक्षण गरेको भन्दै गत साता उनको मन्त्रिमण्डलका ४० भन्दा बढी मन्त्री र सहयोगीले राजीनामा दिएका थिए ।
जेम्स वेब टेलिस्कोपले अन्तरिक्षमा खिचिएको अहिलेसम्मकै विस्तृत तस्वीर पृथ्वीमा पठायो
गत वर्षको डिसेम्बर महिनामा अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको जेम्स वेब स्पेस टेलिस्कोपले अन्तरिक्षको अत्यन्त विस्तृत, चहकिलो र उत्कृष्ट तस्वीर पृथ्वीमा पठाएको छ ।
यसअघि अन्तरिक्षको तस्वीर लिन अन्तरिक्षतर्फ पठाइएको हबल टेलिस्कोपको उत्तराधिकारी मानिएको जेम्स वेब टेलिस्कोपले खिचेको उक्त तस्वीरमा अहिलेसम्मकै सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य देख्न सकिने बीबीसीले जनाएको छ ।
यस तस्वीरमा टेलिस्कोपसम्म प्रकाश आइपुग्न अरबौँ वर्ष लाग्ने नक्षत्रहरु समेत समावेश रहेको जनाइएको छ ।
उक्त तस्वीर अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा ब्रिफिङका क्रममा देखाइएको थियो । ‘यी तस्वीरहरुले विश्वलाई अमेरिका ठूला काम गर्न सक्षम रहेको स्मरण गराउँछ र अमेरिकी जनताहरु – मुख्यगरी हाम्रा केटाकेटीहरुलाई – हाम्रो क्षमताबाहिर केही पनि छैन भन्ने सम्झाउँछ ।’ राष्ट्रपति बाइडेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
१० अर्ब अमेरिकी डलरको लागतमा जेम्स वेब स्पेस टेलिस्कोपलाई गत वर्षको डिसेम्बर २५ मा अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको थियो । यो टेलिस्कोपको मुख्य दुई उद्देश्य रहेका छन् ।
बीबीसीका अनुसार यो टेलिस्कोपको पहिलो मुख्य उद्देश्य १३ अर्ब ५० करोड वर्षअघि ब्रह्माण्डमा पहिलो पटक चम्केको ताराको तस्वीर लिनु रहेको छ ।
त्यस्तै, यो टेलिस्कोपको दोस्रो उद्देश्य ब्रम्हाण्डका अन्य तारापुञ्ज एवम् वाह्य ग्रह प्रणालीमा पृथ्वीजस्तो बसोबास योग्य ग्रह पत्ता लगाउनु रहेको बीबीसीले जनाएको छ ।
हालै सार्वजनिक तस्वीरले जेम्स वेब टेलिस्कोप पहिलो उद्देश्य पूरा गर्न सक्षम रहेको देखिने जनाइएको छ । यस टेलिस्कोपमा ६.५ मिटर फराकिलो सुनौलो ऐना र अन्य अत्यन्त संवेदनशील उपकरण जडान गरिएको छ ।
हालै सार्वजनिक तस्वीरमा झण्डै १४ अर्ब वर्षअघि ब्रम्हाण्डको उत्पत्तिको कारण ठानिएको ‘बिग ब्याङ’ विस्फोट भएको केबल ६० करोड वर्षपछि अस्तित्वमा रहेका तारापुञ्जको पनि पहिचान भएको बीबीसीले उल्लेख गरेको छ ।
‘प्रकाशको गति १,८६,००० माइल प्रतिसेकेण्डको हुन्छ । र तपाईले देखेको यो प्रकाशले १३ अर्ब वर्षदेखि यात्रा गरिरहेको छ ।’ नासाका प्रमुख बिल नेल्सनले भने । ‘अनि यी अझै पछिका पनि छन् किनकी यो पहिलो तस्वीर मात्रै हो ।
साढे १३ अर्ब वर्षअघिका ताराका तस्वीर पनि छन् । र हामीलाई यो ब्रम्हाण्डको उमेर १३ अर्ब ८० करोड वर्ष हो भन्ने थाहा छ, हामी ब्रम्हाण्डको झण्डै उत्पित्तिसम्म नै पुग्नेछौँ ।’ उनले भने ।
अमेरिकी अन्तरिक्ष निकाय नासा, युरोपेली अन्तरिक्ष निकाय ईएसए, क्यानाडाका अन्तरिक्ष निकाय सीएसएले मंगलरबार थप तस्वीरहरु सार्वजनिक गर्ने जनाइएको छ ।
इटालीले कोरोना भाइरसविरुद्ध दोस्रो बुस्टर खोप प्रदान गर्ने
इटालीले चाँडै नै ६० वर्षभन्दा माथिका सबैलाई कोभिडको दोस्रो बुस्टर डोज प्रदान गर्ने भएको छ । युरोपेली युनियनको स्वास्थ्य निकायहरुको अनुमतिपछि उसले दोस्रो बुस्टर दिन लागेको हो ।
युरोपभर संक्रमण र कोभिडका कारण अस्पतालमा भर्ना हुने नयाँ बृद्धिबीच युरोपेली स्वास्थ्य निकाय एआईएफएले सोमबार बुस्टरका लागि सिफारिस गरेको थियो । पछिल्ला दिनमा सुस्त बनेको खोप अभियानलाई सरकारले पुनः गति दिन राष्ट्रिय निर्णयहरू सहज बनाउने अपेक्षा गरिएको छ ।
स्वास्थ्यमन्त्री रोबर्टो स्पेरान्जाले सरकारले इटालीका २० क्षेत्रीय प्रशासनलाई राष्ट्रिय चिकित्सा एजेन्सी एआईएफएको स्वीकृतिपछि दोस्रो बुस्टर अभियान सुरु गर्न अनुमति दिएको बताए ।
रुसले दोनबासमा युद्ध चर्कायो
रूसी सेनाले पूर्वी युक्रेनको दोनबासका प्रमुख शहरहरूमा लडाईलाई तीव्र पारेको जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडाले मस्कोविरुद्ध प्रतिबन्धहरू कमजोर गरेको आरोप लगाइरहेका बेला रुसले दोनबासका मुख्य सहरलाई पुनः निशाना बनाउन थालेको युक्रेनले जनाएको हो ।
पूर्वी युक्रेनमा रुसी आक्रमणको केन्द्र बिन्दु दोनेत्स्क क्षेत्रको चासिभ यार सहरमा रहेको एक अपार्टमेन्ट भवनमा रुसी गोलाबारीबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
रूसी सेनाले दोस्रो सहर खार्किभको सपिङ सेन्टर र नागरिक आवासलाई लक्षित गरी आक्रमण गरेको क्षेत्रीय प्रमुख ओलेग सिन्येगुबोभले बताएका छन् ।
भारत विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बन्ने तयारीमा
भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ ।
चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिदैन ।
जनसंख्या बृद्धिद अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको राष्ट्रसंघले जनाएको छ । सन् २०८० सम्ममा १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ । तर, विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ ।
आगामी ३० वर्षमा हामीले देख्ने आधाभन्दा बढी जनसंख्या डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा मात्र हुनेछ ।
विश्वका सबैभन्दा विकसित अर्थतन्त्र भएका देशहरूमध्ये केहीले यसअघि नै जनसंख्यामा गिरावट देखिरहेका छन् । ति देशहरुमा जन्मदर घटिरहेको छ ।
प्रतिवेदनअनुसार सन् २०५० सम्ममा ६१ देशमा जनसंख्या कम्तीमा १ प्रतिशतले घट्नेछ । आगामी वर्षदेखि चीनको जनसंख्या घट्ने अनुमान गरिएको छ ।
सरकारले सन् २०१६ देखि नै एक सन्तान नीति त्यागे पनि जनसंख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन् ।
नोर्ड स्ट्रिम १ पाइपलाइनमार्फत् रुसबाट जर्मनीतर्फ ग्यासको आपूर्ति बन्द
बाल्टिक सागर भएर जर्मनी जाने रूसी ग्यास नोर्ड स्ट्रीम १ पाइपलाइनबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ । उक्त पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भार कार्यका लागि उक्त कदम चालिएको जनाएको छ ।
यद्यपि, जर्मनीका मन्त्रीहरूले बर्लिनमाथि दबाब दिनका लागि राजनीतिक रूपले उक्त कदम चालिएको बताएका छन् । जर्मनीका अर्थमन्त्रीले रूसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तम्तयार रहनुपर्ने बताएका छन् ।
चेक गणतन्त्रका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी गर्दै रोबर्ट ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विमति उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रूसले उपयोग गरिरहेकोमा चिन्ता व्यक्त गरे ।
जर्मनीको ऊर्जा नियामकले पनि विगतकै परिमाणमा अब ग्यास आपूर्ति निरन्तर रहनेमा आशङ्का व्यक्त गरेको छ । यसअघि नै ग्यास आपूर्ति साविकमा हुनेको ४० प्रतिशत मात्रै हुने गरेको थियो ।
मस्कोले आर्थिक प्रतिबन्ध तथा टर्बाइनमा समस्यालाई त्यसको कारण बताएको थियो ।
प्रतिक्रिया