'प्रदेशलाई बलियो नबनाए संघीयता कार्यान्वयन हुँदैन' | Khabarhub Khabarhub

मधेस प्रदेश समीक्षा–३

‘प्रदेशलाई बलियो नबनाए संघीयता कार्यान्वयन हुँदैन’

‘प्रदेश प्रहरी ऐन लागू भएमा मधेस प्रदेशको कायापलट हुन्छ’



काठमाडौँ – संविधानमा राज्य पुनसंरचनाअनुसार सातै प्रदेशमा गठन भएका सरकारको पहिलो कार्यकाल सकिन थालेको छ । संघीय सरकारले चुनावको मिति घोषणा गरेसँगै संघ र प्रदेश सरकारको पहिलो कार्यकाल सकिन लागेको हो । पहिलो कार्यकालमा संघीयताको कार्यान्वयन सहज नहुँदा प्रदेश सरकारबारे विभिन्न बहस र विरोधका स्वर सुनिन थालेका छन् । प्रदेश सरकारले क्षमता र जिम्मेवारीअनुसार काम गर्न नसकेको तर भ्रष्टाचारको अखडाका रुपमा विकसित भइरहेको गुनासो बढ्दो छ । त्यसमाथि सत्ताको लडाई र मन्त्री बन्ने/बनाउने खेल हुने केन्द्रका रुपमा पनि प्रदेश सरकार परिभाषित हुन थालेका छन् । यस्तो अवस्थामा पाँच वर्षे प्रदेश सरकारले साँच्चै के–के काम गरे ? उनीहरुले गरेका काम कति उपलब्धीमूलक भए ? उनीहरु आफैँले पहलकदमी लिएर नयाँ के कस्ता कामको थालनी गरे ? प्रदेश सरकारको पाँच वर्षे समीक्षाका क्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

मधेस प्रदेश सरकारको पाँच वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
मैले सोचे जस्तै भयो । यो कार्यकालमा सत्ता पक्ष र प्रतिपक्ष सबैको सहयोग पाएर मैले आफ्नो कार्यकाल पूरा गर्दैछु । हामीले प्रदेश प्रहरी ऐन बनायौँ । हाम्रै कारणले संघीय सरकारले पनि प्रहरीको समायोजन गर्ने प्रहरी ऐन ल्यायो । त्यो हाम्रै कारणले हो । हामीले सोचेका थियौ कि प्रदेशको आफ्नो निजामती कर्मचारी होस् । प्रदेशले आफ्नै कर्मचारी राखोस् भनेर यसको लागि हामीले प्रदेश निजामती ऐन पनि ल्यायौ । यसका साथसाथै हामी लोकसेवा ऐन ल्याएर लोकसेवा गठन गर्‍यौ । लोकसेवा अलिअलि भर्ना प्रक्रिया सुरु पनि गरी सकेका छौँ। प्रहरी समायोजन ऐन मात्रै लागू गराउन सक्यौँ भने मधेस प्रदेशको कायापलट हुन सक्छ ।

तपाईँहरुले प्रदेश प्रहरी ऐन लागू गराउन नपाए आन्दोलन गर्छौ भनेर चेतावनी दिनु भएको छ । सरकारलाई अल्टिमेटम पनि दिनु भएको रहेछ । यसले संघ र प्रदेश सरकारबीच द्वन्द्व मात्रै बढ्ला त ! समन्वय गर्नुपर्नेमा लडाई किन ?

मदेश प्रदेश सरकारले एक चोटि होइन पटक-पटक संघीय सरकारको ध्यानाकर्षण गराएको छ । प्रहरी ऐन २०७६ माघ २८ गते सम्माननीय राष्ट्रप्रतीज्युबाट प्रमाणित भएर ऐन बनिसकेको छ । अब समायोजनमा कुन प्रदेशलाई कति चाहिन्छ भने कुरा गृह मन्त्रालयबाट होमवर्क भएर त्यो क्याबिनेटको पाइप लाइनमा छ । अब यसमा विलम्ब नहोस् भनेर सर्वोच्च अदालतमा रिट हालेका छौँ तर मुद्दा टुङ्गिएको छैन । एउटा प्रमुख जिल्ला अधिकारी प्रदेशको गृहमन्त्रीभन्दा पावरफूल छ । यसरी त संघीयता कार्यान्वयन हुँदैन नि ।

तपाईँहरूले ल्याएको प्रदेश प्रहरी ऐनको औचित्य के हो ? धेरैलाई अहिले पनि बुझ्न सकस भइरहेको छ ?
मुलुक संघीयतामा गइसकेपछि नजिकको सरकार भनेको प्रदेश सरकार नै हो । प्रदेश सरकारसँग प्रहरी प्रशासन भइसक्यो । अहिले सानो घटना हुँदा पनि एक्सन लिने भनेको प्रदेश सरकारले नै हो । त्यसैले प्रदेश प्रहरी ऐन भएर समायोजन भएपछि प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारबाटै हुन्छ । केन्द्रको आदेश र जनशक्ति कुर्नुपर्दैन । यसैकारण प्रहरी समायोजन ऐन ल्याएर कार्यान्वयन गर्न खोजिएको हो ।

पछिल्लो समय संघ सरकारले अधिकार नदिने, तपाईँहरूले अधिकार नपाएपछि धेरै काम गर्न नसक्ने, गरेका काम पनि विवादित हुने भएपछि संघीयता कार्यान्वयनमा गम्भीर समस्या देखियो हैन ?
वास्तविकता यही हो । मुलुक संघीयतामा गइसकेपछि संघीय शासन प्रणालीमा जुन एकात्मक क्षेत्राधिकार थियो त्यसलाई नबाड्ने हो भने ‘लथालिङ्गे राजाको भताभुङ्गे चाला’ जस्तै हुन्छ । संघीयता मन पर्नेहरु र मन नपर्नेहरू थिए/छन् । केही व्यक्तिहरूको चाहनाविपरित पनि संघीयता यो देशमा आएको हो । मधेसी जनअधिकार फोरम नेपाल र त्यसका नेता उपेन्द्र यादवजीको नेतृत्वमा रहेको पार्टीले सुरुमा आन्दोलन गर्दा २२ बुँदे सहमति भएको थियो । त्यो आन्दोलनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाज्यु बाध्य भएका हुन्। नेपालको अन्तरिम संविधानको धारा ३८ मा हेर्न हो भने त्यहाँ नेपालको स्वायत्त प्रदेशसहित अन्य प्रदेशहरु हुनेछ भनेर लेखिएको छ । मदेश आन्दोलनले यो प्रमाणित गरिदियो कि मुलुकमा अहिले पनि अब काठमाडौँको सिंहदरबारको जुन शक्ति छ त्यसलाई जनताको घरदैलोमा नपुगेर यो मुलुक नबनेको हो । विकसित नभएको हो ।

तपाईँको प्रदेशमा मुख्यमन्नत्री नामकै कार्यक्रम ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ मा भ्रष्टाचार भएको हो ?

यसमा अख्तियारद्धारा विशेष अदालतमा मुद्दा नै दायर भएको छ । अदालतमा गइसकेको मुद्दालाई बढी चर्चा नगरौँ । अख्तियारले हेरिरहेको मुद्दामा धेरै टिप्पणी गर्न म चाहन्न । यो कार्यक्रम समाजलाई रूपान्तरण गर्न नै ल्याइएको हो । पछिल्लो पटक ३० हजार साइकलकै टेन्डर हुँदा एउटा मात्र टेन्डर परेर साइकल नै खरिद गरिएन । ३० हजार छोरीहरू साइकलबाट वञ्चित भयो । अब यसका लागि प्रक्रिया मिलाउने कुरा राजनीतिक नेतृत्वले हुँदैन । कर्मचारीले हो । त्यो प्रक्रिया नमिल्दा भ्रष्टाचार भयो भनियो । वास्तविकता के हो अदालतले निर्क्योल गर्ला ।

तपाईँले मधेस प्रदेशमा गृहमन्त्रीहरूको भेला गर्नुभयो । त्यसले शान्ति सुरक्षाको विषय मात्रै उठायो कि अब संघीय सरकारविरुद्ध कडा रुपमा आन्दोलित हुने रणनीति बनायो ?
सातै प्रदेशका सरकारहरुले काम गर्न खोजी रहेका छन् । शान्ति सुरक्षाको जिम्मा प्रदेशको हो । हामीले गर्नै पर्छ । त्यसैले सबैले सामूहिक रुपले प्रहरी समायोजन छिटो भन्दा छिटो गरियोस् भनेर संघ सरकारको ध्यानाकर्षण गराएर संविधान र संघीयतालाई कार्यान्वयन गरियोस् भनेर आह्वान गरेका हौँ । हामीले भेला गरेपछि प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री, सबै दलका नेताहरू सँग भेट्नु भयो । हामीले पनि भेट्यौं । छिटोभन्दा छिटो प्रहरी समायोजन गर्नुस् भनेका छौँ । संघीयता र संविधान कार्यान्वयन गर्नु छ भने सबै मिलेर गर्नुपर्छ भनेर पनि भनेका छौँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत )

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : ०८ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले