एमालेबाट चुनाव जित्न पूर्वमाओवादी भट्टलाई भारी | Khabarhub Khabarhub

चुनावी चर्चा

एमालेबाट चुनाव जित्न पूर्वमाओवादी भट्टलाई भारी

दुई-दुई पटक सांसद र मन्त्री बनेका नेताको यसपटक खाली हात हुने डर !


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिमको चुनावी माहोल बिस्तारै बढ्दै गएको छ । प्रमुख दलका प्रमुख नेताहरू चुनावी माहोलका लागि गृह जिल्ला दौडधुपमा छन् । कतिपयले महिनामा धेरै पटक जिल्ला दौड संख्या बढाएका छन् । कतिपय भने जिल्लातिरको माहोल बुझ्दै सक्रियता बढाउने योजनामा छन् ।

केन्द्रीय राजनीतिमा अभ्यस्त नेताहरू चुनाव जित्न प्राय जिल्ला दौडमा उत्रिने गरेका छन् । राष्ट्रिय राजनीतिमा स्वार्थ र सत्ता केन्द्रित नेताहरू चुनावका लागि भने आश्वासन केन्द्रित हुने गर्छन् । अहिले राष्ट्रिय राजनीतिमा सत्ता र स्वार्थ केन्द्रित नेतामध्येका एक, लेखराज भट्ट यति बेला चुनावी दौडका लागि कैलाली केन्द्रित भएका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र सुदूरपश्चिमका संयोजक लेखराज भट्ट अहिले एमाले छन् । गएको चुनावमा माओवादीबाट जित हासिल गरे पनि एमालेसँगको एकतामा नेकपामै मन्त्री भएर बस्दा भट्ट अहिले एमालेमै रहेका हुन् ।

एमालेमा सचिव रहेका भट्ट अहिले प्रतिपक्षी पार्टीको हैसियतमा चुनावी मैदानमा उत्रिने तयारीमा छन् । २०७४ सालको चुनावमा कैलाली क्षेत्र न. ४ बाट प्रतिनिधिसभा चुनावमा भट्ट विजयी भएका थिए ।

कांग्रेस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३ सय ९९ मत अन्तरले हराउँदै भट्ट निर्वाचित हुँदा भट्ट माओवादीका बलिया नेता थिए । तर अहिले उनको पहिलेको जस्तो रवाफ भने छैन । किनकि उनले लामो समय योगदान दिएको पार्टीसँग नै उनले चुनाव लड्नुपर्ने बाध्यता छ । त्यसमाथि सत्ता र स्वार्थको पछि लागेर एमालेमा बसेको आरोप पनि भट्टमाथि छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नेकपा एमालेले भट्टको नाम सिफारिस गरेको छ । उनको एकल सिफारिस छ । नेकपा विभाजनसँगै माओवादी छोडेर एमाले रोजेका भट्ट पहिलो पटक माओवादीसँगै कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा छन् ।

यो क्षेत्रबाट भट्ट ०६४ र ०७४ को निर्वाचनमा माओवादीबाटै विजयी भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । यसपटक सोही निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने पक्का पक्की जस्तै छ ।

कैलाली जिल्ला नेपाली कांग्रेसको ४ नम्बर क्षेत्रीय समितिमा महरसहित सुनीलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकले चुनावी आकांक्षा बढेको छ ।

गठबन्धनमा सो क्षेत्र जसले पाउँछ, माओवादी र कांग्रेस पार्टीका एक जनाले उम्मेदवार बनाउने पक्का छ । जसको लडाई विगतका माओवादी तर अहिलेका एमाले नेता भट्टसँग पर्ने निश्चित छ ।

सुदूरपश्चिमका व्यापारी, प्रभावशाली नेता र पूर्वमन्त्री
सुदूरपश्चिमको राजधानीमा कैलालीमा व्यापार गर्ने लेखराज भट्ट एक समय आफ्नो सम्पत्तिका ठूला मालिक थिए । जति बेला नेपालमा माओवादीले सशस्त्र द्वन्द्व थाल्यो, त्यसबेला उनको सम्पतिमाथि विद्रोही पार्टीले झण्डा गाड्ने चेतावनी दियो ।

त्यो चेतावनीपछि आफ्नो व्यापार र सम्पत्ति जोगाउन भट्ट माओवादी पार्टीमा लागेको चर्चा कैलालीका पुराना नेताहरू गर्छन् । माओवादी पार्टी भूमिगत हुँदा पनि आफ्नो व्यापार र सम्पत्ति जोगाएका भट्ट त्यसैका आडमा माओवादीको प्रभावशाली नेता बन्दै मन्त्री बनेको चर्चा पनि सुदूरपश्चिममा हुने गर्छ ।

मन्त्री रहेकै बेला नेकपा फुटेपछि सत्ता स्वार्थमा रमाउने भट्ट सरकार छाडेर माओवादीमा फर्किन नसकेका नेता हुन् । माओवादीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नछाडेपछि सांसद पदबाट कारबाही गरेको थियो । त्यसपछि उनी मणि थापा, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीसँगै एमालेमै बस्न बाध्य भए ।

पहिलो संविधानसभा चुनाव जितेपछि श्रम तथा यातायात मन्त्री बनेका भट्ट संघीय संसदीय चुनाव जितेपछि ओली सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । अहिले सांसद र मन्त्रीविहीन भट्ट यसपटक चुनाव जित्न नसके गृह जिल्ला कैलालीमै रहनुपर्ने बाध्यता छन् ।

यस्तो बेला उनले फेरि एक पटक चुनाव जित्न आफ्नो ‘ओरिजिनल ब्याकराउण्ड’मा ठूलो धनराशि खर्चिन सक्ने चर्चा छ । तर सत्ता गठबन्धनका अगाडि चुनाव जितेर फेरि सांसद र मन्त्री बन्न यसपटक लेखराज भट्टलाई फलामका चिउरा चपाउनुसरह छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : २५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा