काभ्रे २ : हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा | Khabarhub Khabarhub

काभ्रे २ : हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नजिकिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार-प्रसार बढ्दै गएको छ । यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटाबीच हुने अनुमान गरिएको छ । दुबै प्रतिस्पर्धी आ-आफ्नै शैलीमा प्रचार-प्रसारमा होमिएका छन् । दुवै पक्षले मतदाता आकर्षित गर्नका लागि मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन् । 

बाँस्कोटा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री  समेत हुनु भएका बाँस्कोटाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ ।

उनका प्रतिस्पर्धी काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने संविधानसभा निर्वाचन २०६४ र २०७० मा पराजित भएका थिए । साथै, अघिल्लो निर्वाचनमा विश्राम लिएका थिए ।

हुमागाईँ र बाँस्कोटालाई दुबै जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ । हुमागाईँ र बाँस्कोटाले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ । 

२०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका गठबन्धनका उम्मेदवार हुमागाईँ पार्टीका विभिन्न भातृ संगठन हुँदै चारपटक पार्टीको जिल्ला नेतृत्व एवं एकपटक केन्द्रीय सदस्यको नेतृत्व गरेका थिए ।

विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गरेका बाँस्कोटा पार्टीका विभिन्न भातृ संगठन तथा पार्टीको विभिन्न तह हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्युरो सदस्य हुन् । २०७० को संविधानसभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्रीसमेत भएका थिए ।

अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी भएका बाँस्कोटाको विरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ । हुमागाईँलाई बाँस्कोटाकै गृहनगर मण्डनदेउपरका गठबन्धन दलअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्वसांसद विदुरप्रसाद सापकोटासमेतको साथ  छ ।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङ र एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री रेशम लामाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ । 

२०४४ मा नेकपा (मसाल)बाट राजनीतिक यात्रा सुरु गरेका दोङ तत्कालीन नेकपा माओवादीको दशवर्षे सशस्त्र युद्धमा सहभागी हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गरेका थिए । 

यस्तै विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा दोङले कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका सङ्ग्रामजीत लामालाई पराजित गर्दै निर्वाचित भएका थिए। दोङ २०७० को संविधानसभा सदस्य निर्वाचनमा भने नेपाली कांग्रेसका तीर्थ लामासँग पराजित हुनुपर्‍यो । 

यसैगरी विसं २०४७ देखि विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गरेका लामालाई एमालेले गठबन्धनका उम्मेदवार दोङसँग प्रतिस्पर्धामा उतारेको हो । राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्दै २०७० को संविधानसभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका लामा केही वर्षअघि मात्रै एमाले प्रवेश गरेका हुन् । उक्त प्रतिनिधिसभा क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र (१) र (२) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन् । उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा छन् । 

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (१) र (२) मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ छन्। उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा रहेका छन् ।

काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । 

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १ : ३६ बजे

संसद्आ जैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

इटहरी– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको

इजरायली सेनाद्वारा इरानले प्रहार गरेका ड्रोन निस्तेज पार्न शुरु

काठमाडौं– इजरायली सेनाले इरानले प्रहार गरेका चालकरहित हवाइ उपकरण ड्रोन

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

धनगढी– कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

दिल्ली आइरहेको एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण

काठमाडौं- एयर इन्डियाको अर्को विमानले थाइल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन

कांग्रेसद्वारा अहमदावाद विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति