नवौँ राष्ट्रिय खेलकुद : सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको ! « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको !


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ।

बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको तयारीस्तरलाई हेर्दा ‘च्याम्पियन’को इतिहास आफनो टोलीले सहजरुपमै दोहोर्‍याउने नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले दाबी गरे। यसअघि सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताका सातौँ र आठौँ संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ बन्न सफल भएको थियो।

उनले भने, “तालिमको स्तर हेर्दा अघिल्लोभन्दा यसपाली प्रदर्शन राम्रो हुन्छ, नतिजा पनि राम्रो हुने अपेक्षा छ। राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो। अन्य टोलीका तुलनामा पूर्वाधार र व्यवस्थापन चुस्त छ, खेलाडी अब्बल छन्, च्याम्पियनको इतिहासको वर्चश्व कायम राख्न कोसिस गर्छौँ।”

सङ्घीय संरचनाका आधारमा हुँदैआएको राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक भने प्रादेशिक संरचनामा हुन लागेकाले विभागीय टोलीलाई प्रादेशिक टोलीको कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ। सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा पार्न सामूहिकभन्दा व्यक्तिगत खेल विधातर्फ बढी ध्यान केन्द्रित गरेको छ। मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरी खेलाडी उत्पादनमा निकै प्रभावकारी नतिजा हासिल हुने विश्वास गरिएको छ।

पछिल्लो समय खेलकुदको विकासका लागि प्रादेशिक र स्थानीय तहमा समेत विभिन्न संरचना र कार्यक्रम विकास तथा विस्तार हुँदैगएको छ। सेनाले टोलीलाई जिताउन मात्र केन्द्रित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सेनाले गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा जारी उक्त प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षक, अफिसियल र प्रतिनिधि गरी सात सय २८ जनशक्ति पठाएको छ। प्रतियोगिताअन्तर्गत सेनाले फुटबल, एथलेक्टिस, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, भलिबल, टेवल टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, ह्याण्ड बल र स्क्वासमा प्रतिस्पर्धा गर्ने छ।

त्रिभुवन आर्मी क्लबका खेलाडी हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफट टेनिस र रग्बीमा अन्य टोलीका खेलाडीसँग सशक्तरुपमा भिड्ने छन्।

प्रतियोगीताका लागि तय भएका स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकमध्ये कम्तीमा पनि एक सय ४० स्वर्ण, ८२ रजत र ७५ कास्य जित्ने सेनाले दाबी गरेको छ। सेनाले यस पटक जिम्न्यास्टिक, पौडी, कराते, तेक्वान्दो, दौड, टेनिसलगायतका खेल विधामा बढी पदकको अपेक्षा गरेको छ।

यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ काँस्य पदक हात पारेको थियो। यस प्रतियोगिताका लागि क्लबले दुई सय ७५ महिला खेलाडीसमेत पठाएको छ। तेह्रौँ साफ खेलकुदमा नेपालले प्राप्त गरेका दुई सय सात पदकमध्ये सेनाका खेलाडीले मात्रै एक सय तीन पदक जितेका थिए।

साफमा नेपालको प्रतिनिधित्व गरी पदक प्राप्त गर्ने अधिकांश खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी रहेकाले पनि सेनाले विगतको रेकर्ड सुरक्षित राख्ने दाबी गरेको हो। अन्य टोलीका तुलनामा नियमित अभ्यास र प्रशिक्षण गर्दै आएका सेनाका खेलाडीका लागि प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ७ : १७ बजे

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका