आयात नरोकिँदा चितवनका केराले पाएन बजार | Khabarhub Khabarhub

आयात नरोकिँदा चितवनका केराले पाएन बजार


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भरतपुर– भरतपुर-२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उनको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केरा खेती गरेका छन् । सबै भन्दा धेरै क्षेत्रफलमा केरा लगाउने मध्येका एक उनले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन दुई जना मान्छे नै परिचालन गरेका छन् । ‘यो सिजनमा केरा बिक्री र मूल्य राम्रो हुने अपेक्षा थियो तर सोचेजस्तो भएन’, उनले भने ।

केरा उत्पादक सङ्घ चितवनका पूर्व अध्यक्षसमेत रहेका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताए। ‘यो समयमा मेरो मात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन । तर भन्सार छलेर दैनिक १०-१५ गाडी केरा काठमाडौँ भित्र्याइने गरेको छ’, उनले भने ।

सबैभन्दा धेरै केरा उत्पादन हुने जिल्लामा चितवन दोस्रो स्थानमा पर्छ । केरा बिक्री नभएपछि चितवनका किसानले पटक-पटक भारतीय केरा आयात रोक्न माग गरिरहेका छन् । उनीहरूले एक-दुई महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले छठ पर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गरे ।

‘छठ पर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छौँ’, उनले भने, ‘नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ ।’ उनले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘यतिखेर नेपालमा दैनिक रूपमा केरा आयात हुँदै आएको छ । भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन’, अध्यक्ष पन्तले भने ।

केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी विस्थापित हुने अवस्था आउने बताए । ‘सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ । यहाँ विभिन्न नाकाबाट बिना एलसी भारतीय केरा अवैध रूपमा भित्रिएका छन्’, उनले भने, ‘यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन् ।’ उनले यस वर्ष धेरै पानी परेका कारण पनि समस्या भएको बताए। ‘चाडपर्वमा पनि धेरै पानी पर्‍यो, यस कारण यस वर्ष केराको खपत पनि कम भयो’, उनले भने ।

चितवनमा छ सय बिघामा मात्रै हरियो (जिनाइन) केरा लगाएको घिमिरेले बताए । यो केरा एकै पटक पाक्ने भएकाले बजार नपाए सबै बारीमा नै कुहिने उनको भनाइ छ । केरा व्यवसायमा किसानको दिनप्रतिदिन आकर्षण भने बढ्दै गइरहेको उनले बताए  । चितवनमा मात्रै सात सय किसानले व्यावसायिक रूपमा केरा खेती गरिरहेको उनले जानकारी दिए । 

उत्पादन भएको केराको बजारको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको छ । स्वदेशमै धेरै उत्पादन भएको समयमा आयात रोकिनुपर्ने माग उनीहरूको छ । साथै उत्पादित वस्तु बिक्री नभए सरकारले किनिदिनुपर्ने उनीहरू बताउँछन् । उनीहरूले केराको मूल्य तोकेर कार्यान्वयन गराउनुपर्ने माग पनि सरकारसमक्ष राख्दै आएका छन् ।

चितवनमा मात्रै वार्षिक २ अर्बको केराको कारोबार हुने गरेको छ । ‘राज्यले किसानलाई मल र बीउ समयमै उपलब्ध त गराएको छैन । किसानले जेनतेन उत्पादन गरेको वस्तुको पनि बजारको व्यवस्था गर्न सकेको छैन’, घिमिरेले भने । जिल्लाका अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । भारतीय केराको उत्पादन लागत कम पर्ने भएका कारण नेपाली व्यापारीले सस्तो मूल्यमा खरिद गर्ने गरेका छन् । महँगो बीउ, मल, सिँचाइ, जग्गा भाडालगायतका कारण नेपाली केराको उत्पादन लागत भारतीयको भन्दा बढी छ ।

भरतपुर महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धिताल चितवनमा भारतीय केरा नआएको बताउँछन् । अहिले मन्दीका कारण केराको बिक्रीसमेत नभएको उनको भनाइ छ ।  केराको मूल्य प्रतिकोसा रु तीनदेखि चारमा किसानको बारीबाट बिक्री हुने गरेको छ ।

नेपालको उत्पादन तीन लाख आठ हजार तीन सय ८८ मेट्रिक टन छ । यो कुल मागको ६० प्रतिशत रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए। उनका अनुसार ४० प्रतिशत केरा भारतबाट आयात हुँदै आएको छ । ‘चितवनमा उत्पादन भएको केराको मुख्य बजार काठमाडौँ हो’, उनले भने, ‘भारतबाट दैनिक आयात हुँदा किसान मर्कामा पर्ने नै भए ।’ काठमाडौँसँगै चितवनमा उत्पादन भएको केरा पोखरा, बुटवल र दाङमा समेत जाने गरेको छ ।

देशभर केराको कुल माग पाँच लाख १४ हजार ५० मेट्रिक टन रहेको छ । यहाँ २१ हजार छ सय ३३ हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । त्यसमध्ये चितवनमा मात्रै दुई हजार ७६ हेक्टर क्षेत्रमा केरा खेती हुन्छ । त्यसमा ४३ हजार एक सय ९३ मेट्रिक टन चितवनमा उत्पादन हुन्छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केरा खेती हुने गरेको छ । यस्तै भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केरा खेती गरिएको छ ।

–कृष्ण आचार्य रासस

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ३ : ४८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य