विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन २९, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

अफगानिस्तान र पाकिस्तानमा बाढी

अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले जनाएको छ ।

भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो सङ्ख्यामा गाउँ र बस्ती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

प्राकृतिक प्रकोपले सयौं आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन प्रान्तहरूमा हजारौं हेक्टर खेत र दसौं बगैंचाहरू प्रभावित भएका छन् ।

करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एक गाउँमा आएको व्यापक बर्षापछि आएको विशाल बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

त्यस्तै छिमेकी मुलुक पाकिस्तानमा मनसुनी वर्षासँगैको बाढीपहिरोमा परी कम्तीमा १० जनाको ज्यान गएको छ ।

गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको हो ।

सो केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर छ जनाको ज्यान गएको छ ।

त्यसैगरी यहाँको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा पनि बाढीका कारण तीन जनाको ज्यान गएको बताइएको छ । त्यहाँका कतिपय व्यक्ति हराइरहेका पनि बताइएको छ ।

यहाँ यसवर्षको मनसुनी वर्षा सुरु भएको जुनदेखि अहिलेसम्ममा अति वर्षा र बाढीमा परेर पाँच सय ९२ जनाको मृत्यु भएको बताइएको छ ।

त्यसैगरी यस वर्षाका कारण यहाँका करिब एक हजार जना घाइते भएका छन् भने बाढीले हजारौँ घरमा क्षति पुगेको छ ।

रुस र युक्रेनबीच आरोप प्रत्यारोप

युक्रेन र रुसले एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन् । उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो। जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो ।

प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ । उक्त प्लान्टमा सयौ सेना तैनाथ गरेको र हतियार भन्डाण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ ।

‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस । रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त गरेका छौं’, युक्रेनको आणविक एजेन्सी एनरगोआटमले भनेको छ । आफूमाथि लाग्दै आएको आरोप रुसले अस्वीकार गरेको छ। युक्रेनी सेनाले प्लान्टमा हमला गरेको रुसी सेनाको दाबी छ ।

चीनमा कोभिड शून्य नीति असफल

चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणको चपेटामा परेका छन् भने आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौँ पर्यटक अलपत्र परेका छन् । पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ ।

सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाइएकाले जीविकोपार्जनमा असर गरेको छ । एशियन लाइट इन्टरनेसनलका अनुसार मानिसहरूलाई असहाय बनाउँदै कोरोनाभाइरस संक्रमण चीनका नयाँ क्षेत्रमा फैलिरहेको छ ।

आकस्मिक रुपमा गरिएको लकडाउनका कारण अहिले हजारौँ पर्यटक अलपत्र परेका छन् । विडम्बनाको कुरा के हो भने २०२१ को सुरुमा चीन कोभिड–१९ बाट मुक्त भएको घोषणा गर्ने पहिलो देश बनेको थियो ।

कोभिडका कारण पूर्वी चीनदेखि पश्चिम चीनका विभिन्न क्षेत्रमा लकडाउन घोषणा गरिएको छ ।

कोभिड–१९ को महामारी चीनबाट सुरु भई जंगलको डढेलो झैँ विश्वभर फैलिएपछि मात्रै एक जनामा लक्षणविहीन बिरामी रिपोर्ट गरेको थियो। केही दिन अघि तिब्बतले २८ नयाँ संक्रमित फेला पारेको जनाएका छ, जसका कारण यस क्षेत्रमा त्रास फैलाएको छ ।

रुस्दीका आक्रमणकारीविरुद्ध हत्या प्रयासको अभियोग

चर्चित उपन्यासकार सलमान रुस्दीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हत्या प्रयासको अभियोग लगाइएको छ ।

अमेरिकामा शुक्रबार भएको घटनामा आरोपित हाडी मटरलाई हत्या प्रयासको अभियोग लगाइएको न्युयोर्क राज्यको चौताउवा काउन्टीका अभियोजकले बताए ।

मटरलाई एक कार्यक्रममा मञ्चमा दौडिएर ७५ वर्षीय रुस्दी र एक अन्तर्वार्ताकारलाई आक्रमण गरेको आरोप लगाइएको छ । रुस्दीको अवस्था गम्भीर छ ।

भारतीय मूलका ब्रिटश अमेरिकी रुस्दीको उपन्यास द सेटनिक भर्सेसले निन्दा गरेको मुस्लिम समुदायले आरोप लगाउँदै आएका छन् ।

कोरोना अपडेट

फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर पछिल्लो २४ घण्टामा कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनका अनुसार यहाँ चार हजार छ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ हजार भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।

यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि बढेको अर्थात ४० हजार भन्दा बढीमा सक्रिय सङ्क्रमित रहेका जनाएको छ ।

गत जनवरी १५ मा ३९ हजार चार जनामा कोभिडको सङ्क्रमण देखिएको थियो । एकै दिनमा भएको कोरोना सङ्क्रमण सबैभन्दा धेरै सङ्ख्या हो । फिलिपिन्समा कोरोना शुरुभएबाट हालसम्म यस सङ्क्रमणबाट ६० हजार ९९२ जनाको मृत्यु भएको छ ।

यसैबीच मलेसियामा थप चार हजार तीन सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। सङ्क्रमणको कारण १० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ । त्यसैगरी सो यहाँ अहिलेसम्म ४७ लाख ३२ हजार भन्दा बढीमा सो सङ्क्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल यहाँ ४४ हजार छ सय १७जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये ६८ जनाको सघन उपचार केन्द्रमाा उपचार भइरहेको समाचारमा जनाइएको छ ।

पछिल्लो समय भेटिएका यी सङ्क्रमितहरू प्राय: सबैजसो देशभित्रैका रहेका बताइएको छ । मलेसियाली सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरुमा मृत्युदर भने निकै कम रहेको पनि बताइएको छ ।

यसैबीच पाकिस्तानमा पाँच सय ८१ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका र चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार नयाँ सङक्रमणसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १५ लाख ६२ हजार आठ सय ८८ पुगेको छ ।

पाकिस्तानमा कोभिड–१९ शुरुभएबाट हालसम्म सङ्क्रमणबाट ३० हजार पाँच सय २७ जनाको मृत्यु भएको छ । हाल यहाँ एक सय७८ जना विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यता भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित पाइएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९२ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ५३ हजार चार सय ६४ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १६ हजार आठ सय ६१ रहेको छ ।

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार नौ सय ३७ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १६ हजार चार सय ५४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ९ हजार पाँच सय ६६ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ९९ लाख ६३ हजार पाँच सय ५५ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

अस्ट्रेलियाको क्याबेरा विमानस्थलमा गोली चल्यो

अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा टर्मिनलभित्र गोली चलाउने एक बन्दुकधारीलाई पक्राउ गरिएको छ । आइतबार दिउँसो भएको गोली काण्डपछि एक जनालाई नियन्त्रणमा लिएको र एउटा बन्दुक बरामद गरिएको क्यानबेरा प्रहरीले जनाएको छ ।

गोली काण्डमा कोही पनि घाइते भएका छैनन् । गोली प्रहार गरेपछि विमानस्थलका केही भाग लकडाउन गरिएको थियो भने केही क्षेत्र खाली गरिएको थियो । त्यस्तै, विमान ग्राउन्डेड गरिएका थिए ।

‘एक जनालाई कारागार चलान गरिएको छ र एक जनालाई हिरासतमा लिई एक थान भरुवा बन्दुक बरामद गरिएको छ ।

रुस्दीको स्वास्थ्यमा क्रमिक सुधार

विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ । उनको स्वास्थ्य स्थिर भएसँगै उनलाई चिकित्सकले भेटिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन् । उनले बोल्न थालेका छन् । रूस्दीका साथी आतिश तासीरले उनले ख्यालठट्टा गर्न थालेको सामाजिक सञ्जालमा लेखेका छन् ।

विवादास्पद ‘सटानिक भर्सेस’ का ७५ वर्षीय लेखकमाथि गत शुक्रबार पश्चिमी न्युयोर्कमा आयोजित एक प्रवचन कार्यक्रममा २४ वर्षीय हादी माटरले चक्कु प्रहार गरी हत्याको दुष्प्रयास गरेका थिए । माटरले उनको घाँटी, पेट र हातमा चक्कुले पटक प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए ।

यसैबीच, आक्रमणकारी माटरले हत्या र आक्रमणको आरोपमा आफू दोषी नभएको बयान दिएका छन् भने अभियोजकले त्यसलाई पूर्वनियोजित अपराध भनेका छन् । पश्चिमी न्युयोर्कमा भएको बहसका क्रममा न्यायाधिवक्ता जेसन स्मिटले अभियुक्त हत्याको योजनाका साथ ‘फर्जी प्रवेशपत्र लिएर कार्यक्रमस्थलमा पुगेको र त्यो अग्रिमरूपमा उसलाई हासिल भएको’ बताएपछि न्यायाधीशले जमानतबिना नै उनलाई हिरासतमा राख्न आदेश दिएका छन् । कालो र सेतो पोशाक अनि अनुहारमा ‘मास्क’ लगाएको अभियुक्तलाई न्यायाधीशसमक्ष उपस्थित गराइएको थियो ।

लेखक, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सरकारी अधिकारीले रूस्दीको साहसको सराहना गर्दै आफ्नो जीवनलाई जोखिममा पारेर उनले वाक् स्वतन्त्रताका निम्ति योगदान गरेको बताएका छन् । उनीहरूले रूस्दीलाई विश्वभरका सताइएका लेखक एवम् पत्रकारका प्रेरणाका पुञ्ज भएका बताएका छन् ।

लेखक एवम् कलाकार कल पेनले रूस्दी दक्षिण एशियालीका लागि उदाहरणीय एवम् आदर्श व्यक्ति हुन् भनेका छन् । स्वतन्त्र र खुला समाजका पक्षपाति रूसदी सत्य प्रस्तुत गर्न नहिच्किचाउने साहसी सर्जक भएको उनले बताएका छन् ।

सन् १९८१ मा प्रकाशन भएको उनको उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको तीक्ष्ण आलोचना गरेका थिए । उक्त कृति सार्वजनिक भएको सात वर्षपछि छापिएको सटानिक भर्सेसले उनलाई विश्वभर चर्चाको चुलीमामात्र पुर्‍याएन, इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह रूहोल्लाह खोमेनीले उनीविरुद्ध मृत्युदण्ड समेत सुनाएका थिए । सटानिक भर्सेसले इस्लाम धर्म र पैगम्बर मोहम्मदको निन्दा गरेको आरोप छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका