विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

आज चैत्र १, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च १५, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

रुसी आक्रमणमा ८५ बालबालिकाको मृत्यु

युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बालबालिकाको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ घाइते भएका छन् । ‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यलयले भनेको छ ।

मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन् ।पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए ।

रुसी हमलामा अहिलेसम्म ३६९ ओटा शैक्षिक संस्थामा क्षति पुगेको ५७ ओटा पूर्णरुपमा ध्वस्त भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
सोमबार रुसी सेनाले पोल्यान्डसँगको सीमामा रहेको एउटा युक्रेनी आधारमा हमला गर्दा ३५ जनाको मृत्यु र १३० जना घाइते भएका थिए ।

कर्नाटक उच्च अदालतको फैसला

भारतको दक्षिणी राज्य कर्नाटकको उच्च अदालतले कक्षाकोठामा हिजाब लगाउन राज्य सरकारले लगाएको प्रतिबन्धलाई सदर गरेको छ ।

कर्नाटकको उच्च अदालतका महान्यायाधीश ऋतुराज अवस्थीले मुसलमान महिलाले लगाउने हिजाब इस्लाम धर्मको अभिन्न अङ्ग नभएको फैसला सुनाएको हो ।

अनिवार्य पोसाक सम्बन्धी व्यवस्था उचित रहेको भन्दै अदालतले स्कूल कलेजले तोकेको पोसाक लगाउन अस्वीकार गर्न नसक्ने समेत ठहर गरेको छ ।

कर्नाटक सरकारले राज्यमा कर्नाटक एजुकेशन एक्ट १९८३ को धारा १३३ लागू गरी सबै विद्यालयमा पोसाक अनिवार्य गरेको थियो । यसपछि केही विद्यार्थीले हिजाब लगाएर विद्यालय प्रवेश गर्न खोजेपछि विवाद शुरु भएको थियो ।

पछि विद्यार्थीहरुले हिजाब आफ्नो धर्मको अनिवार्य हिस्सा रहेको भन्दै आफूहरुले कक्षाकोठामा हिजाब लगाउन पाउनुपर्ने भन्दै अदालत पुगेका थिए ।केही विद्यार्थीहरुले भने आफूहरुले बरु पढाई छाड्ने तर बिना हिजाब विद्यालय नआउने प्रतिक्रिया दिएको भारतको आज तक टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।

यी विद्यार्थीहरुले उच्च अदालतको फैसलाका विरुद्ध सर्वोच्च अदालतमा अर्को याचिका दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ग्याङका नाइकेको गिरफ्तारीपछि अमेरिकी नियोगमा गोली प्रहार

मेक्सिकोमा रहेको अमेरिकी नियोगमा गोली प्रहार भएको छ । अमेरिकाको सीमानजिक रहेको मेक्सिकन शहर नुएभो लारेडोस्थित अमेरिकी नियोगमा गोली प्रहार भएको हो ।

स्थानीय आपराधिक ग्याङका नाइके हुआन जेरार्डो ट्रेभिनोलाई पक्राउ गरिएलगत्तै सो शहरमा हिंसात्मक घटना भएको जनाइएको छ । उनीमाथि लागूऔषध तस्करी, सम्पत्ति शुद्धिकरण, हत्या, आतंकवाद र अन्य अपराधको अभियोग लगाइएको र उनको अमेरिकातर्फ सुपुर्दगी समेत हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नियोगमा गोली प्रहार भएपछि सोमबार केही समयका लागि नियोगको कार्यालय बन्द समेत गर्नुपरेको जनाइएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै उक्त नियोगले सो क्षेत्रमा आकस्मिक घटनाको विकास भएको भन्दै अमेरिकी नागरिकलाई सुरक्षित रहन समेत आह्वान गरेको छ ।

ग्याङका नाइकेलाई गिरफ्तार गरेपछि उनका समर्थकहरुले शहरमा हिंसा मच्चाएको र घटनामा एक जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

युक्रेनमा फक्स न्युजका बेलायती पत्रकार घाइते

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजमा काम गर्ने बेलायती पत्रकार घाइते भएका छन् ।राजधानी किभबाहिर समाचार संकलन गरिरहेका फक्स न्युजका बेलायती पत्रकार बेन्जामिन हल घाइते भएको फक्स न्युजले जनाएको छ ।

फक्स न्युजका मध्यान्ह समयका समाचार प्रस्तोता जोन रोबर्ट्स ले दिएको जानकारीअनुसार घटनाको पूर्ण विवरण आइसकेको छैन । हललाई उपचारका लागि अस्पताल भर्ना गरिएको फक्स न्युजले जनाएको छ । फक्स न्युजकी प्रमुख कार्यकारी सुजन स्कटले घटनाको न्यून स्तरमा विवरण प्राप्त भएको भन्दै उनका लागि प्रार्थाना गर्न आह्वान गरेकी छिन् ।

युक्रेनी गृहमन्त्रालयका सल्लाहकार आन्टोन गेराशचेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा पोष्ट गर्दै हलको अवस्था गम्भीर रहेको जनाएका छन् । यद्यपि उनको साथमा रहेका भनिएका क्यामेरापर्सन र समाचार उत्पादकको अवस्थाबारे युक्रेनी अधिकारीहरु जानकार नरहेको गेराशचेन्कोको भनाइ छ ।

हल र उनको समाचार संकलन गर्ने टिम राजधानी किभबाट २० किलोमिटर टाढा पर्ने इरपिन शहरमा रुसी रकेट हमलामा चपेटामा परेको हुनसक्ने बताइएको छ ।

३९ वर्षीय हलले सन् २०१५ मा फक्स न्युजमा काम थालेयता ‘अमेरिकी विदेश मन्त्रालयको संवाददाता’ को रुपमा खटिएका थिए । त्यसयता उनी मध्यपूर्व र अरु द्वन्द्वग्रस्त क्षेत्रमा पुगी समाचार संकलन गर्दै आएका थिए ।

यसअघि आइतबारमात्रै न्युयोर्क टाइम्समा कार्यरत अमेरिकी पत्रकार ब्रेन्ट रेनडको इरपिन शहरमा गोली हानी हत्या गरिएको थियो ।

चीनमा एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिए

चीनमा मंगलबार एकै दिन ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित देखिएका छन् । यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।

चीनमा देशव्यापी ओमिक्रोन संक्रमणका कारण नयाँ संक्रमितको संख्या पनि रेकर्ड तोड्ने गरी दिनहुँ बढिरहेको छ । एनएचसीका अनुसार उत्तरपूर्वी प्रान्तमा ३ हजार भन्दाबढीमा संक्रमण देखिएको छ ।

चीनले कोभिडविरुद्ध ‘शून्य सहनशिलता’को नीति अप्नाएको जनाउँदै आएको छ । कठोर प्रतिबन्ध र स्वास्थ्य मापदण्डका बाबजुद पछिल्लो दुई सातामा यसअघिका रेकर्ड तोड्ने गरी संक्रमितको संख्या देखिएको छ ।

यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुन र १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा यसै साता लकडाउन घोषणा गरिएको थियो । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनिएको छ । रोकथाम र नियन्त्रणलाई समयमै सशक्त नबनाइए कोभिड सजिलै समुदायस्तरमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

संक्रमणका कारण सांघाईमा विद्यालय र उत्तरपूर्वी शहरहरु बन्द छन् । चीनका १८ ओटा प्रान्त ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेका छन् । चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो ।

युद्धबाट युक्रेनी सञ्चारमाध्यम जोगाउने अभियान तीव्र

युक्रेनका स्वतन्त्र सञ्चारमाध्यमलाई रुसले थालेको आक्रमणबाट जोगाउन सहयोग सङ्कलन गर्ने कार्यले तीव्रता पाएको छ । आर्थिक सहयोग सङ्कलन गर्ने साइट ‘गो फन्ड मी’ मा पेज बनाएर शुरु गरिएको अभियानमा हालसम्म १५ हजार भन्दा धेरैले सहयोग गरिसकेका छन् ।

८ लाख बेलायती पाउण्ड स्टर्लिङ सङ्कलन गर्ने लक्ष्य लिइएको उक्त पेजमा हालसम्म ८ लाख ७० हजार भन्दा धेरै सहयोग सङ्कलन भइसकेको छ । संकलित सहयोगबाट प्राप्त पैसा हाल रुसी आक्रमणको सामना गरिरहेको किभ, लभिभजस्ता युक्रेनी शहरमा काम गर्ने पत्रकारलाई वार्सा, भिल्नस र अरु छिमेकी देशका राजधानी सार्न प्रयोग गरिने यस अभियानका आयोजक एवम् किभ इन्डिपेन्डेन्ट पत्रिकाका प्रमुख आर्थिक अधिकारी याकुब, पारुनिस्कीले बताएका छन् ।

‘हामीलाई अहिले विश्वका लागि देशभरबाट विश्वसनीय र भरपर्दो सूचना चाहिएको छ, ता कि युक्रेन, रुस र बेलारुसका जनताले खासमा के भइरहेको छ थाहा पाउन् ।’ उनले बेलायतबाट प्रकाशित हुने द गार्जियनलाई भने ।

यो अभियानबाट किभ इन्डिपेन्डेन्ट, समाचार पोर्टल जाबोरोना र अरु १२ समाचार संस्थाहरूले यो सहयोगबाट लाभ लिने जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको अर्को महासचिव महिला हुनुपर्छ

संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्लाह शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने बताएका छन् ।महासभाको ७६ औँ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् ।

महिलाको स्थितीसम्बन्धी आयोगको ६६ औँ अधिवेशनको उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताएका हुन् ।‘लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा संयुक्त राष्ट्रसङ्घले विश्वभर उत्कृष्ट मापदण्ड लागू गर्न आह्वान गर्दै म व्यक्तिगत रूपमा अर्को महासचिव महिला होस् भन्ने चाहान्छु ।’ उनले बताए, ‘म व्यक्तिगत रूपमा अर्को महासचिव महिला हुनको लागि आह्वान गर्दै नेतृत्व गर्नेछु।’

विगत ७६ वर्षमा संयुक्त राष्ट्रसंघको सबै नौ महासचिव पुरुष रहेका छन् । वर्तमान महासचिव एन्टोनियो गुटेर्रेस आफ्नो दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्षमा छन् ।

युक्रेनमा तीन बेलायती पूर्व सैनिक मारिएकोबारे अनुसन्धान शुरु

रुसी आक्रमणमा युक्रेनमा तीन जना बेलायती पूर्व सैनिक मारिएको समाचारबारे बेलायतको विदेशमन्त्रालयले अनुसन्धान थालेको छ ।

आइतबार पोल्यान्डको सीमानजिक याभोरिभ सैनिक तालिम केन्द्रमा रुसले हमला गर्दा ३ जना बेलायती पूर्वसैनिक समेत मारिएको हुनसक्ने भन्ने समाचारबारे अनुसन्धान थालिएको बेलायतबाट प्रकाशित हुने इभिनिङ स्ट्यान्डर्ड पत्रिकाले जनाएको छ ।बेलायती अनुसन्धानकर्ताहरूले यसका लागि युक्रेनी सुरक्षा अधिकारीहरूसँग पनि जानकारी मागिरहेको जनाइएको छ ।

यसअघि बेलायतको डेली मिरर पत्रिकाले मारिएका बेलायतीहरू युक्रेनमा लड्न नभई अरु नै कामका लागि गएको हुनसक्ने जनाएको थियो । यद्यपि उनीहरु के कामले युक्रेन पुगेका थिए वा उनीहरु बेलायती विशेष फौजको कुन शाखामा कार्यरत थिए भन्नेबारे केही खुलाइएको छैन ।

आइतबार रुसले गरेको हमलामा ३५ जना मारिएको युक्रेनी पक्षले जनाएको थियो तर रुसी रक्षामन्त्रालयले भने उक्त आक्रमणमा १८० भन्दा धेरै भाडाका विदेशी लडाकु मारिएको दाबी गरेको थियो ।

यमनमा खाद्यसंकट चुलियो

केही वर्षयतादेखि द्वन्द्वमा फसेको यमनमा खाद्यान्नलगायत अन्य आधारभूत आवश्यकताको खाँचो हुँदै गएको चिन्ता व्यक्त गरिएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले यमनमा चरम खाद्य संकट उत्पन्न भएको जनाएको हो । पहिलेका वर्षको तुलनामा खाद्यान्नको अभावमा परेका त्यहाँका नागरिकको सङ्ख्या यसवर्ष पाँच गुणा बढेको बताइएको छ ।

एफएओले यमनीहरुका लागि अब केही खाद्यान्न बाँकी नरहेको भन्दै तत्कालै आवश्यकता आपूर्ति गर्नुपर्ने बताएको छ । केही हप्तामात्र अघि पनि संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले खाद्यान्न तथा आवश्यक पोषणका अभावमा यमनमा बालबालिका बिरामी पर्न थालेका भन्दै आवश्यक सहयोगका लागि विश्व समुदायलाई आग्रह गरेको थियो ।

यमनमा यस वर्ष चरम खाद्यान्न अभावमा रहेका मानिसहरूको सङ्ख्या लाखौँ हुने बताइएको छ । खाद्यान्न सङ्कटको तीव्र वृद्धिलाई चिन्ताजनक भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सबैसँग आह्वान गरेका छन् ।

द्वन्द्वग्रस्त यमनमा पहिल्यैदेखि रहेको खाद्य सङ्कट थप जटिल बन्ने प्रक्षेपण गरिएकोमा पछिल्लो समयमा रुस र युक्रेनको द्वन्द्वका कारण पनि पुनः यहाँका नागरिकमा यस्तो संकट बढ्नसक्ने भन्दै सहयोगका लागि उनले आग्रह गरेका हुन् ।

रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छ – रुसी वार्ता टोली प्रमुख

रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनबीच प्रायः दिनहुँ वार्ता भइरहेको खुलासा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिने उनले रुस र युक्रेनका द्विपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको जनाएका हुन् ।

यद्यपि वार्ताका क्रममा ठोस निष्कर्ष भने ननिस्किएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेन्डाअनुसार वार्ता गरिरहेका छौँ ।’

युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । जसका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने २५ लाख भन्दा धेरै शरणार्थी बनेर विदेश पलायन हुन बाध्य छन् । त्यसबाहेक युक्रेनका भौतिक पूर्वाधारका संरचनाहरू पनि ध्वस्त भएका छन् । तर, वार्ताबाट कुनै निकास भने निस्किएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ०३ बजे

सौतेनी भाइ भारतीय रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई । एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष

काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत

चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु

बेइजिङ– चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा

राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको

इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह

एजेन्सी– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार भ्याटिकन पोप फ्रान्सिससँगको बैठकपछि