दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१ . माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित 

नेकपा माओवादी केन्द्रको  आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगन  भएको छ । पार्टी कार्यालय कोटेश्वरको पेरिसडाडाँमा आज दिउँसो १ बजे  बस्ने भनिएको बैठक भोलि  बिहान ८ बजेका लागि सारिएको हो ।

आज बस्ने स्थायी समितिको  बैठकमा आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनमा गरिने तालमेल सम्बन्धमा छलफल हुने तय भएको थियो  ।

यस्तै भोलिको बैठकमा स्थायी समिति बैठकले चुनावी कार्यक्रम तय गर्ने, नेताहरुको कार्य विभाजन गर्ने र पदाधिकारी चयन समेत गर्न सक्ने नेताहरूले बताएका छन् ।

२. सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक  जारी
आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ  ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह सचिव टेकनारायण पाण्डे र रक्षा सचिव किरण शर्मासहित चार वटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक गृह मन्त्रालयमा बसिरहेको  हो ।

बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारी सहभागी रहेका छन् ।

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन मिति घोषणा गरेसगैँ चारै वटा सुरक्षा निकायले आ–आफ्नो तर्फबाट निर्वाचन सुरक्षा तथा साधन स्रोत र जनशक्ति व्यवस्थापनसम्बन्धी कार्य योजना  तयार पारेका छन् । सोही कार्य योजना आज केन्द्रीय सुरक्षा समितिको बैठकमा पेस गरिएको छ ।

३. पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई आकर्षित र विकास गर्ने गरी सरकारले काम गरिरहेको बताए।

मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्नका लागि सरकारले कार्य योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढाएको बताए। मन्त्री श्रेष्ठले आन्तरिक पर्यटनलाई बढवा दिँदै बाह्य पर्यटन भित्राउनका लागि सम्बन्धित संस्थासँग सहकार्य गर्दै अघि बढिने जानकारी दिए।

त्यस्तै उनले अहिले आरोहणमा नरहेका पाँच हजार आठ सय मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको बताए।

टानको वार्षिक साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

४. नेकपा एसका नेता खनालले इलामको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने  
नेकपा एकीकृत समाजवादी (एस) का सम्मानित नेता झलनाथ खनालले संघीय निर्वाचनमा इलामबाट उम्मेदवारी दिने बताएका छन् ।

गृहजिल्ला इलाममा  आज पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताएका हुन् ।

उनले प्रदेश र संघीय निर्वाचनमा तालमेलका लागि केन्द्रमा छलफल भइरहेको बताए तालमेलमा स्थानीय तह निर्वाचनको मतलाई आधार मान्नु व्यावहारिक नहुने उनको भनाइ छ । उनले वामपन्थीको व्यापक मोर्चा बनोस् भन्ने पहिल्यैदेखि सबैले शुभेच्छा राखेको समेत  जिकिर गरे ।

देशको सबै भन्दा ठूलो बाम समूह लचिलो भए बाम एकता सम्भव हुने पनि उनको  तर्क छ ।

५. ‘सङ्घीय शासन प्रणाली सवलीकरण’ विषयक छलफल सुरु

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सङ्घीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु भएको छ ।

कणाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रियसभा, सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिको आयोजनामा आजबाट छलफल सुरु भएको छ ।

अन्तरक्रियात्मक छलफल कार्यक्रमको उद्घाटन राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे । नेपालको संविधानको धारा ५६ उपधारा (२) को कार्यान्वयनको अवस्था, राष्ट्रियसभा नियमावली, २०५७ को उपनियम ७८ बमोजिम गठित समितिका काम कर्तव्य अधिकारलगायत विषयमा छलफलका लागि समितिले देशभरका प्रदेश राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको जनाइएको छ ।

सोहीअनुसार दुई दिनसम्म कर्णाली वीरेन्द्रनगरमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना हुनेछ ।

६. निजामती कर्मचारीहरुद्धारा दोस्रो चरणको आन्दोलन सूरु 
निजामती सेवाका कर्मचारीहरूले, पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न र कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

निजामती कर्मचारीहरुको संयुक्त ट्रेड युनियन सन्जाल आन्दोलन परिचालन समितिको नामबाट संघर्षरत कर्मचारीहरूले आज ‘पे कमिसन’ (तलब आयोग) मा ट्रेड आफ्ना प्रतिनिधि पनि समावेश गराउन माग गद आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले आज नै   सामान्य प्रशासन मन्त्री र अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय पनि  गरेका छन् । विगतमा राजपत्रांकित तहमा भएको भनिएको तलब समायोजनलाई कायम राख्दै निजामती सेवाका पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न ट्रेड युनियन सम्मिलित तलब आयोग गठन हुनुपर्ने कर्मचारीहरूले  माग गरेका छन् ।

७.जङ्गली जनावरको आक्रमणबाट २ जनाको मृत्यु 
सुर्खेत भेरीगंगा–५ का स्थानीयले नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गरेका छन् । जङ्गली जनावरको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएपछि आफन्त र छिमेकीले राजमार्गअन्तर्गत बबईमा सडक अवरुद्ध गरी आन्दोलन गरिरहेका हुने ।

हिजो बेलुका भेरीगंगा–५ गेरवानीका रामबहादुर चन्द र कवी ओलीको जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको थियो ।  बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका उनीहरू मृत फेला परेका थिए ।

स्थानीयले मानवीय क्षति पुर्‍याउन जङ्गली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै आज  बिहान ११ बजेदेखि सडक अवरुद्ध  पारेका हुन् ।

८. कर्णाली करिडोर आजदेखि  सञ्चालनमा  
पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर आजदेखि  सञ्चालनमा आएको छ । कर्णाली करिडोरको कालिकोट खण्डमा पर्ने लालिघाट भीरमा पहिरो खस्दा गत  शनिरबारदेखि अवरुद्ध राजमार्ग आजदेखि  सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको जानकारी दिए।

वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । प्रहरी प्रशासन र सडक डिभिजनको समन्वयमा पहिरो पन्छाएर राजमार्ग खुलाइँदै आएको छ।

 ९. अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता पलट गरेको एक वर्ष पूरा  

अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता पलट गरेको एक वर्ष पूरा भएको छ । गत वर्षको १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेको थियो । तालिबानले अफगानिस्तानमा आफ्नो सत्तामा फर्केको पहिलो वर्षगाँठ  आज  राष्ट्रिय बिदाको साथ मनाएको छ । तर, धेरैले महिला अधिकार कटौती भएको र मानवीय संकट झनै बिग्रिएको अशान्त वर्षको रूपमा  चित्रण गरेका  छन् ।

एक वर्षअघि  आज कै दिन कट्टरपन्थी इस्लामवादीहरूले काबुल कब्जा गरेपछि सरकारी सेनाविरुद्धको राष्ट्रव्यापी आक्रमणले अमेरिकी नेतृत्वको २० वर्ष लामो सैन्य हस्तक्षेपको अन्त्य गरेका थिए । तालिबान सत्तामा आएपछि अधिकांश महिलाको अधिकार कटौती भएको छ । सत्तामा आएपछि लामो समयसम्म तालिबानले बालिकालाई विद्यालय जानबाट रोक लगाएको थियो ।

त्यस्तै, महिला सरकारी कर्मचारीलाई पनि महिनौँसम्म घरमै बेतलबी बिदामा बस्न बाध्य पारेको थियो । आफ्ना अधिकार कटौती भएको विरोधमा महिलाहरूले प्रदर्शन गर्दै आएका छन् ।

तालिवान सरकारले  अधिकारमाथि प्रतिबन्ध लगाएसँगै यसअघि दातृ निकायले दिँदै आएको ऋण र सहयोग पनि कटौती गरेका छन् ।

१०. नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने
नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा  बोलाएका छन् ।कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट, अनन्त तामाङ, लगायतका अनुभवी सिनियर खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडी मध्ये सुमन लामा मात्र अटाएका छैनन्  । नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ४६ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले