धार्मिक एवम् ऐतिहासिक महत्व झल्काउने ‘कस्यप ताल’ | Khabarhub Khabarhub

धार्मिक एवम् ऐतिहासिक महत्व झल्काउने ‘कस्यप ताल’


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गण्डकी– तालै तालको शहर पोखराको उच्च भूभाग कास्कीकोटस्थित कस्यप तालबारे कतिपयलाई थाहा नहुन पनि सक्छ । स्वदेश तथा विदेशका विभिन्न स्थानबाट आएका अधिकांशः पर्यटक पोखराको फेवाताल सहित लेखनाथका ताल हेरेर फर्कने गरेको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं २४ मा पर्ने यस ताललाई पर्यटन बजारमा पुर्‍याउने चासो र चर्चा पछिल्ला समयमा बढ्दै गएको छ ।

झण्डै छ हजार वर्षअघि कस्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्तीका कारण पनि यहाँको गरिमा र महत्व अझै बढाएको जनाइएको छ । चार वेद मध्येको एक यजुर्वेद लेखेको विश्वास गरिने कश्यप ऋषिले स्नान गर्ने गरेको यस ताललाई धार्मिक एवं संस्कृतिकरूपमा पनि उत्तिकै महत्वका साथ लिने गरिएको छ ।

कास्कीकोट गाउँको मध्यभागमा अवस्थित यहाँको धार्मिक एवम् ऐतिहासिक महत्व रहेर पनि उजागर हुन नसकेको वास्तविकतामा पछिल्ला समयमा स्थानीय जनसमुदाय एवम् स्थानीय सरकारले चासो दिन थालेको गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष एवम् पोखरा महानगरपालिकाको होमस्टे सञ्चालन तथा दर्ता नवीकरण समितिका अध्यक्ष उदय सुवेदीले बताए ।

करिब पाँच वर्षअघिसम्म हिउँदको समयमा पनि पानी अडिने गरेको यस तालमा पछिल्ला वर्ष पानी सुक्न थालेपछि बढ्दै गएको चासो र चिन्ताका बीच वडा कार्यालयका तर्फबाट यसको संरक्षणमा पहल बढाइएको छ । वडाका तर्फबाट विभिन्न समयमा गरिएको प्राविधिक अध्ययनले यसको पूर्ण रुपमा संरक्षणका लागि साढे तीन करोड रुपैयाँ लाग्ने अनुमान गरिएको वडा सचिव इन्द्र जिसीले जानकारी दिए।

विगतमा एक हजार ६०० भन्दा बढी जनसङ्ख्या बसोबास गर्ने गरेको यस क्षेत्रमा यहाँको पानी गाईवस्तुलाई खुवाउनुका साथै घरायसी प्रयोजन र यहाँको झण्डै ७०० रोपनी क्षेत्रफलमा सिँचाइ पनि उपलब्ध हुँदै आएको थियो । ताल करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

नेपालका शाहवंशीय राजाको पालामा यस तालको थप संरक्षण भई त्यस समयमा पनि यहाँको पानीको भरपुर उपयोग गर्ने गरेको बताइन्छ । ताल माथि रहेको नेपालका शाहवंशीय राजाको उद्गमस्थल कास्कीकोट दरबार र यहाँबाट देखिने अन्नपूर्ण, धवलागिरी लगायतको दृश्यले यसलाई एउटा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको पोखरा महानगरपालिका वडा नं २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारी बताउँछन्।

यसको संरक्षण र विकासका लागि पहल थालिएको बताउँदै उहाँले ताल परिसरमा रेलिङ लगायतका संरचना निर्माणका लागि यस वर्ष पोखरा महानगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । समुद्री सतहबाट एक हजार ७७८ मिटरको उचाइमा रहेको कास्कीकोटमा पहिलो शाहवंशीय राजा कुलमण्डन खानको दरबारका साथै तत्कालीन समयदेखि नै पूजाआजा गर्दै आइएको गुप्तकालिका मन्दिरले यहाँको गरिमा र महत्व अझै बढाएको छ ।

तत्कालीन समयमा यस स्थानमा कश्यप ऋषिले तपस्या गरेको कुटीको भग्नावशेष एवम् ऋषिले सत्सङ्ग तथा प्रवचन गर्ने गरेको धामको गह्रासमेत सुरक्षित रहेको स्थानीयवासी प्राध्यापक बेदहरि तिमल्सिनाले बताए ।

जैविक विविधताले भरिपूर्ण पर्यटकीय, धार्मिक, तथा शाहवंशीय इतिहासको साक्षी कास्कीकोटका धार्मिक एवं ऐतिहासिक सम्पदाको संरक्षण र विकास अपरिहार्य भएको उनले बताए । धार्मिक इतिहासको साक्षी कश्यप तालसँगै यहाँका ऐतिहासिक दरबार तथा मन्दिर उचित संरक्षण गर्न सकेमा पोखरा आउने पर्यटकलाई एक दिन यस क्षेत्रको अवलोकन गराउँदै बसाइ लम्ब्याउन सकिने  उनको भनाइ छ ।

पोखराबाट करिब ११ किमि पक्की बाटो पार गरेपछि यहाँ पुग्न सकिन्छ । त्यस्तै पोखरा-बाग्लुङ राजमार्गको नागडाँडाबाट पुर्वतर्फ करीब पाँच किमी दूरी पार गरेर पनि यहाँ आउन सकिन्छ । तालको संरक्षणसँगै यसले यहाँको इतिहास र पर्यटनलाई जोड्न सक्ने उनले बताए  । 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  २ : ०९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र