झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मै नेकपा एमाले कमजोर देखिएको छ ।
ओलीको निर्वाचन क्षेत्र झापा ५ का ४ पालिका मध्ये एकमा मात्रै नेकपा एमालेले अग्रता बनाएको छ । गौरादह नगर प्रमुखमा एमालेका छत्रपति सुवेदीले अग्रता लिएका छन् । काँग्रेसका रोहित साहले उनलाई पछ्याउँदै छन् । २०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमालेले कमल गाउँपालिका र दमक नगरपालिकामा जितेको थियो । यस पटक भने एमाले एउटा स्थानीय तहमा मात्र अग्रस्थानमा छ । अन्य स्थानीय तहमा भने दोस्रो स्थानमा छ ।
झापाको निर्वाचन क्षेत्र नम्बर ५ का पालिका प्रमुखहरूमा एमाले विगतको तुलनामा कमजोर देखिएको छ । दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका रामकुमार थापा अगाडि छन् । यहाँ एमालेकी गीता अधिकारी दोस्रो स्थानमा छिन् । कमल गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट काँग्रेसका हुकुमसिंह राई मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा छन् ।
गौरीगञ्जमा गठबन्धनविनै चुनावी प्रतिस्पर्धा भइरहेको छ । यहाँ अध्यक्षमा काँग्रेसकी फूलवती राजवंशीले अग्रता लिइरहेकी छन् । अघिल्लो पटक गौरादह नगर प्रमुख जितेको काँग्रेसले पछिल्लो मत गणनामा अहिलेसम्म दोस्रो स्थानमा छ ।
दमकमा गणना भइसकेका वडा नम्बर १ , २ र १० मध्ये दुई वडामा एमालेले जित निकालेको छ भने एउटामा संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा एमालेका हरि न्यौपाने, २ मा प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका छन् भने १० मा काँग्रेसका राजेन्द्र भण्डारी विजयी भएका हुन् ।
त्यस्तै गौरादहको वडा नम्बर १ मा एमालेका नगेन्द्र भण्डारी र २ मा गठबन्धनका तर्फबाट काँग्रेसका गोपाल कोइराला वडाध्यक्षमा विजयी भएका छन् । कमलका ३ वडामा गणना सकिँदा एउटा वडामा एमाले र दुई वडामा गठबन्धनले जित हासिल गरेको छ । वडा नम्बर १ मा गठबन्धनका केदार कटुवाल , २ मा एकीकृत समाजवादीका अशोक लिम्बु र ३ मा एमालेका अग्नि कोइरालाले वडाध्यक्ष पद जितेका छन् ।
प्रतिक्रिया