भक्तपुरका किसानलाई धान रोप्ने चटारो | Khabarhub Khabarhub

भक्तपुरका किसानलाई धान रोप्ने चटारो


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।

धानखेतीका लागि नभई नहुने रासायनिक मल अभाव खेपिरहे पनि खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो ।

“पानी परेर खेतका गरा भरिएपछि मन थाम्न सकिएन, मल कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ”, चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले भनिन् ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस्तै पानी परे यस वर्ष असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको चाँगुनारायण–९ का किसान रोशन गिरी बताउँछन् ।

कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार नलाग्दै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् ।

सूर्यविनायक नगरपालिका–८ नंखेलका किसान सम्पूर्ण थापाले खेतमा काम गर्ने ज्यामी नपाइँदा समस्या परेको बताए । उनले भने, “खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति छैन, यस्तो अवस्थामा पनि धान रोप्नै पर्‍यो, मल नपाए यस वर्ष उत्पादन घट्छ ।”

समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्ने आशामा बसेका किसान मल नभए धानको उत्पादन आधा घट्नेमा चिन्ता व्यक्त गर्छन् । खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने बताउँछन्, कृषि प्राविधिक हरिकृष्ण नेपाल । उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको भन्दै सरकारले धान रोप्न र हिलो सम्याउने प्रविधि सहुलियतमा ल्याउनसके किसानलई सहज हुने र समयमै धान रोप्न सहज हुने बताए ।

विगतका वर्षमा जस्तै पानी ढिला पर्ला भनेर ढिला धानको बीउ राख्ने किसानले पनि छोटो बीउ नै रोप्न थालेका छन् । भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमार श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो बीउ रोपेको बताए ।

किसानले यस वर्ष धान रोपाइँ छिटो भएकामा खुसी लागे पनि मल नपाउँदा दुःख लागेको भन्दै सरकारलाई जतिसक्दो छिटो मल उपलब्ध गराइदिन किसानले माग गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १० : १६ बजे

सोमालियामा बाढीबाट १०० को मृत्यु

संयुक्त राष्ट्रसङ्घ– सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै

 गजुरेलको ‘जोक’ जस्तो जिन्दगी !

काठमाडौं– ताप्लेजुङको मामाङ्खे गाउँमा २०३० सालमा जन्मिएका चर्चित हास्यकलाकार मनोज

राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल 

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको खोल ओढेर

औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या

राँझा– बाँकेको बैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री

युएई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला