आज भदौ ३१ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १६, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
पुटिन र सीबीच भेटवार्ता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता भएको छ ।
रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीबार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो ।
वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको सन्तुलित अडानका लागि धन्यवाद दिएका छन् । चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथपि दुवै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ ।
यसअघि गत फेब्रुवरीमा आयोजित शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा सी र पुटिनबीच भेट भएको थियो ।
पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु
पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ ।
अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ । घटनामा परी पछिल्लो २४ घण्टामा थप नौ जना घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । यही प्रान्तमा मानवीय क्षति र भौतिक क्षति सबैभन्दा बढी भएको छ । गत मध्य जुनदेखि सुरु भएको मनसुनपछिका घटनाका कारण पाकिस्तानमा यस पटक अकल्पनीय क्षति भएको छ ।
बाढी पहिरोले लाखौँ विस्थापित भएका छन्, भने अरु हजारौ घाइते भएका छन् । घटनामा परी अहिलेसम्म एक हजार ५०८ जनाको मृत्यु भएको जनाइएको छ । त्यसैगरी १२ हजार ७५८ जना घाइते भएका छन् ।
प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार यसअवधिमा १८ लाख १७ हजार ५५० घर क्षतिग्रस्त भएका छन् । नौ लाख २९ हजार ५४३ जनावर मरेको पनि प्राधिकरणले जनाएको छ ।
चिनियाँ र इरानी राष्ट्रपतिबीच भेटवार्ता
चिनियाँ राष्ट्रपति सी जिन्पिङले शुक्रबार बिहान उज्बेकिस्तानको समरकन्द सहरस्थित फोरमलार मजमुआसी कम्प्लेक्समा इरानी राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा दुई देशबीचको बृहत् रणनीतिक साझेदारीलाई सुदृढ र विकास गर्नु दुबै पक्षको साझा रणनीतिक छनौट भएको सीले बताए । चीनले इरानसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको उल्लेख गर्दै राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धमा नयाँ प्रगति गर्न इरानसँग रणनीतिक सञ्चार र समन्वय बढाउन तयार रहेको समेत बताए ।
सीले चीनको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न इरानलाई सहयोग गर्ने र विकासोन्मुख देशहरूको साझा हित र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्न इरानसँग मिलेर काम गर्ने कुरामा जोड दिएका छन् ।
‘दुबै पक्षले आ–आफ्नो बृहत् सहयोग योजना कार्यान्वयन गर्न, बेल्ट एण्ड रोड सहयोगलाई अगाडि बढाउन सक्रिय प्रयास गर्नुपर्छ र सहयोगको थप उपलब्धि हासिल गर्न प्रयास गर्नुपर्छ’ सीले भने ।
ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सामेल हुन इरानलाई स्वागत गरिने भन्दै सीले साङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य भएकोमा इरानलाई बधाई समेत दिएका छन् । इरानसँग निकट समन्वय र सहयोगका लागि तयार रहेको पनि सीले बताएका छन् ।
पाकिस्तानमा सर्वसाधारणलाई ‘यातना दिएको’ आरोपमा चार प्रहरी निलम्बित
पाकिस्तानमा एक जना सर्वसाधारणलाई ‘यातना दिएको’ आरोपमा प्रहरी चौकी प्रमुख सहित चार प्रहरी निलम्बनमा परेका छन् ।
पाकिस्तानको रावलपिण्डी सहरस्थित प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीहरु निलम्बनमा परेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।
आफूले सञ्चालन गर्दै आएको स्नूकर क्लबमा प्रहरी आएर आफूलाई धम्की दिएको र क्लब नै बन्द गर्न उर्दी जारी गरेको पीडितको भनाइ छ । साथै उनले प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको र आफूलाई यातना दिएको समेत बताएका छन् ।
पीडितले उजुरी दिएसँगै अनुसन्धानपछि नजिकै सदिकाबादमा रहेको प्रहरी चौकीका प्रमुख ताहिर रेहान र उनी मातहतका अरु तीन जवानलाई निलम्बन गरिएको डनले जनाएको छ ।
ग्वाटेमालामा स्वतन्त्रता दिवस मनाउने क्रममा भागदौड मच्चिँदा ९ जनाको मृत्यु
ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालामा स्वतन्त्रता दिवसका अवसरमा रमाइलो गर्ने क्रममा भएको भागदौडमा परी ९ जनाको मृत्यु भएको छ ।
स्वतन्त्रता दिवसका अवसरमा आयोजित एक कार्यक्रममा भागदौडमा परी ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । घटनामा परी अरु २० जना घाइते भएका स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
बिहीबार स्वतन्त्रता दिवसका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको अन्त्य तिर भागदौड मच्चिएको थियो । देशको पश्चिमी क्षेत्रमा रहेको क्वेटजाल्तेनाङ्गमा घटना भएको स्थानीय रेडक्रमकर्मीहरुले जानकारी दिएका छन् ।
रेडक्रसकर्मीहरुले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरिसकेको र शङ्कास्पद केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाइएको छ ।
ग्वाटेमालामा हरेक वर्षको सेप्टेम्बर १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यस मुलुकले स्पेनी साम्राज्यबाट सन् १८२१ सेप्टेम्बर १५ मा स्वतन्त्रताको घोषणा गरेको थियो ।
जम्मु कश्मीर र लद्दाखका विद्यार्थीलाई भारतीय सेनाले छात्रवृत्ति दिने
जम्मु कश्मीर र लद्दाखमा विभिन्न विद्यालयहरु सञ्चालन गर्दै आएको भारतीय सेनाले त्यहाँका ६ सय विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।
भारतीय अनलाइन सञ्चारमाध्यम द प्रिन्टका अनुसार यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतका यी दुई युनियन टेरिटरीका ६ सय विद्यार्थीहरुलाई मुलुकका अन्य स्थानमा विश्वविद्यालय स्तरको शिक्षा प्रदान गरिनेछ ।
भारतीय सेनाको उत्तरी कमाण्डले सन् २०२१ मा सुरु गरिएको ‘जम्मु कश्मीर र लद्दाख विशेष छात्रवृत्ति कार्यक्रम’ अनुसार ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको द प्रिन्टले जनाएको छ ।
आर्थिक रुपमा कमजोर विद्यार्थीलाई मात्र यस किसिमको छात्रवृत्ति दिइने जनाइएको छ । यसबाहेक छात्रवृत्ति पाउने विद्यार्थीले सुरक्षा जोहो र भर्नाका लागि ३० हजार भारतीय रुपैयाँ तिर्नुपर्ने प्रावधान रहेको छ ।
गत वर्ष यस कार्यक्रमअन्तर्गत ३११ जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।
छात्रवृत्तिका लागि ठूलो संख्यामा विद्यार्थीहरुले आवेदन दिएका कारण यस वर्ष छात्रवृत्ति पाउने विद्यार्थीको संख्या बढाइएको हो ।
इटालीमा आँधी– ११ जनाको मृत्यु
मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
आँधीबाट मध्य इटालीको तटीय क्षेत्रमा ११ जनाको मृत्यु भएको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या ११ छ । आँधीबाट अन्य चार जना अझै बेपत्ता छन् । मध्य इटालीमा आँधीका कारण एकैरातमा एक फुटभन्दा धेरै पानी परेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
केही घण्टाको अन्तरालमा सो क्षेत्रमा १६ इन्चसम्म पानी परेको नागरिक सुरक्षा अधिकारी लुइजी डिएन्जेलोले जानकारी दिएका छन् ।
आँधीले मध्य इटालीको एङ्कोना र सेनिगालिया सहर सबैभन्दा प्रभावित भएको जनाइएको छ ।
बङ्लादेशले दिएको सहयोग अस्वीकार गर्ने पाकिस्तानको निर्णय
बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत पुगोस् भन्ने उद्धेश्यले पाकिस्तानलाई एक करोड ४० लाख टाका सहयोग रकम दिने बङ्लादेशले प्रस्ताव गरेको थियो ।
मानवीय सहायता गर्नु छिमेकी मुलुकको हैसियतले कर्तव्य हुने ठानेर सहयोग गर्न लागेको बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गरेकी थिइन् । तर पाकिस्तानले भने बङ्लादेशको सहयोग स्वीकार नगर्ने जवाफ दिएको छ । बङ्लादेशको यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ ।
बङ्लादेशको प्रकोप व्यवस्थापन तथा राहत मन्त्रालयले १० टन बिस्कुट, १० टन सुख्खा केक, एक लाख पानी शुद्धिकरण गर्ने ट्यावलेट, ५० हजार सलाईन, पाँच हजार मच्छेडदानी, दुई हजार ब्लाङ्केट र दुई हजार पाल पाकिस्तानलाई सहयोग स्वरुप दिने निर्णय गरेको थियो ।
सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको बङ्लादेशले विगतमा नमिठा सम्बन्ध र घटना भएपनि सङ्कट परेका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने ठानेर पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको बङ्लादेशी अधिकारीहरूको भनाइ छ ।
पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा आएको पछिल्लो बाढी पहिरोबाट कम्तीमा एक हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ४५० जना बालबालिका रहेका छन् ।
अत्यधिक बर्षापछिका घटनामा परी तीन करोड ३० लाख मानिस प्रत्यक्ष प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ ।
पाकिस्तानमा गत मध्य जुनदेखि आएको मनसुनपछिका घटनाबाट अनपेक्षित रूपमा धेरै क्षति भएको प्राधिकरणको भनाइ छ । बाढी पहिरोले सबैभन्दा बढी क्षती सिन्ध प्रान्तमा गरेको छ ।
बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि प्राधिकरणका अधिकारीहरु, स्वयमसेवकहरु, गैरसरकारी संघ संस्थाका पदाधिकारीलगायत अहिले पनि खटिएका छन् ।
बढी पहिरोबाट प्रभावित भएकाहरुको सङ्ख्या दैनिक रुपमा बढ्दै गइरहेको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।
भियतनामले यस वर्ष १ लाख २० हजारभन्दा धेरै भ्रष्टाचारजन्य अपराधको अनुसन्धान थाल्यो
दक्षिणपूर्वी एसियाली मुलुक भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको छ ।
त्यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएअनुसार १ लाख २० हजार भन्दा मुद्दामाथि अनुसन्धान सुरु गरिएको छ ।
भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मद्दाहरुमाथि अनुसन्धान थालेएको र अधिकांशमा कारवाही प्रक्रिया पनि अघि बढाएको बताइएको छ ।
भियतनामको समाचार समितिले भ्रष्टाचार नियन्त्रण गर्ने निकायले एक लाख २० हजारभन्दा बढी भ्रष्टचारजन्य मुद्दाहरुको अनुसन्धान थालेको समाचारमा उल्लेख गरेको हो ।
सरकारले भ्रष्टाचारजन्य अपराधको अनुसन्धान र कारवाहीलाई अभियानका रुपमा अघि बढाएको छ । सोही बमोजिम सो निकायले आफ्नो काम सुरु गरेको र यसवर्षमात्र यी मुद्धाहरुमाथि अनुसन्धान र कारवाही थालिएको जनाइएको छ ।
भियतनाममा भ्रष्टाचारजन्य गतिविधि निकै बढेको गुनासोका आधारमा सरकारले यो अभियान सुरु गरेको हो । यसवर्ष भियतनाम सरकारले यस कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ ।
यो अभियानबाट भ्रष्टाचारजन्य क्रियाकलापहरुमा संलग्न भएका कैयौँ व्यक्तिमाथि कारवाही हुनुका साथै ठूलो रकम राजस्वका रुपमा प्राप्त हुने पनि बताइएको छ ।
फिलिपिन्समा कोभिड १८ बाट थप २ हजार सङ्क्रमित, ३१ जनाको मृत्यु
फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जना सङ्क्रमित भएका छन् । यो समेत गरी न्यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोभिड १९ को सङ्क्रमण भएको जनाइएको छ ।
साथै त्यहाँ कोभिडका कारण पछिल्लो २४ घण्टामा मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको छ ।
यो समेत हालसम्म फिलिपिन्समा ६२ हजार चार सय ४७ जनाको कोभिड १९ बाट मृत्यु भएको छ । फिलिपिन्सको राजधानी क्षेत्र मेट्रो मनिलालाई कोभिड १९ ले सबैभन्दा बढी प्रभावित बनाएको छ ।
सो क्षेत्रमा मात्र कम्तीमा पनि एक हजार नयाँ सङ्क्रमित थपिएको बताइएको छ । त्यहाँ गत जनवरीमा एकै दिन ३९ हजार जनामा सङ्क्रमण भएको थियो ।
तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेका फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको छ । हालसम्म फिलिपिन्सको जनसंख्यामध्ये ७२.८ प्रतिशत नागरिकले कोरोनाका विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।
प्रतिक्रिया