छोटो समयको रोजगारीबाट सन्तुष्टि म्यादी प्रहरी « Khabarhub

छोटो समयको रोजगारीबाट सन्तुष्टि म्यादी प्रहरी


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हुँदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्छन् । उनको आजभोलिको दैनिकी म्यादी प्रहरीको पोशाकमा हातमा लठ्ठी समातेर नयाँबानेश्वर चोकमा ट्राफिक व्यवस्थापन गर्न र नजिकै रहेको आकासे पुल चढ्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सघाउने गर्दा बित्ने गरेको छ ।

दोलखा स्थायी घर भएकी भुजेल श्रीमान्सँग काठमाडौँ बस्दै आएकी छिन् । तीन सन्तानको शिक्षाका लागि आफू दोलखाबाट काठमाडौँ आएर बसेको उनी बताउँछिन्। ‘श्रीमान्को आम्दानीले मात्र पुग्दैन । बेरोजगार बस्न मन लाग्दैन तर काम पाउन सीप छैन’, उनले भनिन्, म्यादी प्रहरीको भर्ना खुल्यो, बालबच्चा हेरचाहको जिम्मा श्रीमान्लाई सुम्पेर म्यादीको काममा आउने गरेकी छु ।’ अहिले छोटो समयका लागि भए पनि म्यादी प्रहरीको रोजगारीबाट पाउने पारिश्रमिकले सन्तुष्टि मिलेको उनी बताउँछिन् । ‘घरमा यतिकै बस्नुभन्दा यहाँ काममा खटिँदा रमाइलो पनि हुने र आम्दानी पनि हुने यसैमा खुसी छु’, उनले भनिन् ।

म्यादी प्रहरीका रुपमा सडकमा रहँदा कतिपयले आफूहरूको अनुरोधलाई बेवास्ता गर्दा असहज लाग्ने गरेको उनी बताउँछिन् । मङ्सिर ४ गते हुने निर्वाचन सकिएसँगै म्यादी प्रहरीको ४० दिनको जिम्मेवारी पनि सकिन्छ । सरितासँग रोजगारीको अन्य कुनै विकल्प नभएको सुनाउँदै भन्छिन्, ‘निर्वाचनपछि त्यही पुरानो दैनिकीमा फर्किन्छु ।’

नयाँबानेश्वरको व्यस्त चोकमा सडक पार गर्न आकासे पुल छ । तर कतिपय पैदलयात्रु गुडिरहेका सवारीको भीडमै सडक वारपार गर्छन् । नीलो पोसाकमा लट्ठी हातमा लिएर डिउटीमा खटिएका म्यादी प्रहरीको समूहले सिठ्ठी फुक्छन् । तर पनि पैदल यात्रु उनीहरूले फुकेको सिठ्ठीको आवाजलाई कुनै वास्तै गर्दैनन् ।

‘हामी म्यादी प्रहरीलाई पैदल यात्री र सवारी चालकले पनि अटेर गर्छन् । हामीले भन्दा उनीहरु हाँस्नु हुन्छ, मान्नु हुन्न’, २१ वर्षीय म्यादी प्रहरी शंकर बोहराले आफ्नो काम गर्दाको अनुभव सुनाउँदै भने। नयाँबानेश्वर चोकमा खटिएका अर्का म्यादी प्रहरी मनोज कुँवरले सँगैको साथी बोहराको भनाइमा सहमति जनाउँदै थपे, ‘कतिले त म्यादी भनेर गिज्याउनु हुन्छ ।’

उनीहरु दुवैजना बैतडीका स्थानीय बासिन्दा हुन्। काठमाडौँ बसेर अध्ययनरत दुवै विद्यार्थी छन्। अध्ययनका र रोजगारीका सिलसिलामा काठमाडौँ छिरेका दुवैजना सँगै डेरामा बस्छन्। मनोज शिक्षण पेसाभन्दा म्यादी प्रहरीमा धेरै पारिश्रमिक पाउने भएपछि भर्ना भएको बताउँछन्न । शङ्कर भने यसअघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी निर्वाह गरिसकेका छन्। 

मनोज र शङ्कर दुवैजना म्यादी प्रहरीको जिम्मेवारी सकिएपछि वैदेशिक रोजगारीमा जाने सोच बनाएको बताउँछन्। ‘नेपाल प्रहरीमा भर्ती हुने इच्छाले म्यादीसम्म डोर्‍यायो । तर अब प्रहरीमा भर्ती हुन उमेरले नमिल्ने भएकाले विदेश जाने सोचमा छु’ शंकरले भने। काठमाडौँको सामान्य घर भाडा तिर्नसमेत धौ धौ हुने भएकाले निर्वाचनलगत्तै जुन देश जाँदा कम लगानी लाग्छ त्यहीँ जाने सोचमा रहेको मनोजले बताए । 

काठमाडौँमा नियमित खटाइएका ट्राफिक प्रहरी निर्वाचनका कारण बाह्य जिल्लामा थप मद्दतका लागि पठाइएका अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनको समेत सहयोगका लागि परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए। अहिले काठमाडौँमा करिब चार सय ट्राफिक प्रहरी खटिएका र बाँकी म्यादी प्रहरीहरूको सहयोगमा सवारी व्यवस्थापनको काम भइरहेको उनले बताए  । 

देशभर निर्वाचन सुरक्षाका लागि एक लाख १५ हजार म्यादी प्रहरी खटिएका छन् । ८४ हजार तीन सय ६८ पुरुष छन् भने ३० हजार ६ सय ३२ महिला रहेका छन् । काठमाडौँमा अहिले तीन हजार दुई सय ७८ म्यादी प्रहरी छन् । आवश्यकताअनुसार मतदानस्थल, मोबाइल र रिजर्भमा समेत परिचालन गरिनेछ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्ररुपमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान संयुक्त रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरीअन्तर्गत म्यादी प्रहरीको परिचालन गरिएको हो । म्यादी प्रहरीहरू मतदानस्थलको सुरक्षा, मतदान बक्सको सुरक्षा र नेपाल प्रहरीले गर्ने दैनिक कार्य गस्ती, निगरानी, सूचना संकलन, घटनास्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा खटिरहेका छन । 

म्यादी प्रहरीलाई नेपाल प्रहरी जवानसरह आधारभूत तलब मासिक २२ हजार ६ सय ८० हुनेछ । बढीमा ४० दिनसम्मका लागि जम्मा ३० हजार दुई सय ४० हुनेछ । साथमा खाद्यान्नबापत सात हजार दुई सय र पोसाक तथा अन्य सामानका लागि ६ हजार सरकारले उपलब्ध गराएको छ । म्यादी प्रहरीका लागि बीमाको व्यवस्थासमेत गरिएको छ । प्रहरी प्रवक्ता राईले म्यादी प्रहरीलाई मतदानका दिन अधिकांश बुथमा खटाइने बताए। प्रहरी जवानमा भर्ना खुल्दा नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना भएको अनुभवलाई प्राथमिकतामा राख्ने गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ०४ बजे

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्बासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा