ललितपुर ३ मा भुसाल र खड्का मुख्य प्रतिस्पर्धी | Khabarhub Khabarhub

ललितपुर ३ मा भुसाल र खड्का मुख्य प्रतिस्पर्धी


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पाटन– ललितपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता एवं ऊर्जामन्त्री पम्फा भुसालसहित २० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी उपमहासचिव भुसाल र नेकपा (एमाले) का उम्मेदवार अमृत खड्का छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की पनि चर्चामा छिन्। भुसाल, खड्का र डा कार्कीबाहेक ललितपुर-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निरञ्जन थापाले उम्मेदवारी दिएका छन् । 

यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट सपना महर्जन, नेपाल आमा पार्टीबाट कविता राई, लोकतान्त्रिक समाजवादी पार्टीबाट किरण शाही, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजु, नेसनलिष्ट पिपल्स पार्टीबाट चिरञ्जीवी सापकोटा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णुकुमार लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजेन्द्रप्रसाद ओझा, हाम्रो नेपाल पार्टीबाट राजाराम तण्डुकार र मौलिक जरोकिलो पार्टीबाट धीरेन्द्र सोडारीले उम्मेदवारी दिएका छन् । राजनीतिक दलबाहेक सञ्जय महर्जन, जेसनदेव वैद्य, विष्णु महर्जन, चिरन थापा, कृष्णभक्त ब्रह्मचार्य, राधेश्याम खड्का र रघुनाथ केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गोदावरी नगरपालिका-१२ र १४ ललितपुर महानगरपालिका-१, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ गरी २२ वटा वडाहरू रहेको यो क्षेत्रमा ९४ हजार एक सय १६ मतदाता छन् । जसअनुसार ४५ हजार तीन सय ६ पुरुष र ४८ हजार आठ सय १० महिला मतादाता रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।  

दुईचोटी सांसद भएकी नेता भुसालले गत निर्वाचनमा कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई एक हजार सात सय आठ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी  भएकी थिइन् । भुसाल यस पटक अमात्यकै सहयोग लिएर सांसद बन्ने अभियानमा छिन्। गत निर्वाचनमा भुसालले २४ हजार ३६ मत ल्याएकी थिइन् भने अमात्यले २२ हजार तीन सय २८ मत ल्याए। 

एमाले उम्मेदवार खड्का र डा कार्की सांसदमा पहिलोपटक प्रतिस्पर्धामा छन् । खड्का विसं २०५४ मा तत्कालीन सैबुँ गाविसको अध्यक्ष भएका थिए । डा कार्की उम्मेदवार हुनुअघिसम्म पाटन अस्पतालमा जनरल सर्जनका रूपमा कार्यरत थिइन् । बत्तीस वर्षीया डा कार्की सानैदेखि नेतृत्वदायी भूमिकामा आउन रुचाउने स्वभावको थिइन्। ‘मतदाताका अपेक्षा सामान्य छन्, यहाँ खानेपानी, बाटो, स्वास्थ्य र शिक्षाको समस्या रहेछ, काठमाडौँ उपत्यका नजिकै भए पनि यहाँ आधारभूत सुविधा पनि छैनन’, उनले भनिन् , ‘मतदाताहरूले परिवर्तन चाहनु भएको छ, आफ्नो मतप्रति इमानदार भइदिए हुन्थ्यो भन्ने कामना छ ।’

भुसालले आफू दुई पटक सांसद र मन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मानेकी छिन् । ‘म २०३६ सालदेखि यहाँका स्थानीयवासीहरूसँग साक्षात्कार छु । यहाँ मेरो योगदान छ, यहाँको स्थानीय विकास, सम्पदा संरक्षणमा, अन्य विकासमा मैले काम गरेको छु । पर्यटनमा आधारित अर्थतन्त्र, पर्यावरणमैत्री पूर्वाधार र समतामूलक समाज निर्माण गरी ललितपुरवासीले गुणस्तरीय जीवन जिउने आधार तय गर्न मलाई मत दिनुहुनेछ भन्ने विश्वास छ’, भुसालले भनिन् । 

यता खड्काले सामाजिक तथा आर्थिक परिवर्तनका लागि काम गर्न जनताले मत दिएर विजयी गराउने दाबी गरे। ‘रोजगारी सृजना, बेरोजगारको अन्त्य, सर्वसुलभ ढङ्गले गुणस्तरीय स्वास्थ्य सेवा दिने र प्रदूषणमुक्त सहर बनाउने मेरो योजना छ ।’  यस क्षेत्रका कूल २२ मध्ये गत स्थानीय चुनावमा सातवटामा कांग्रेसले, तीनवटा माओवादी केन्द्रले, दुईवटामा नेकपा (एकीकृत समाजवादी), दुई वटामा स्वतन्त्र र आठ वटामा एमालेका उम्मेदवारले वडाध्यक्ष जित हासिल गरेका थिए । यो क्षेत्रमा स्थानीय निर्वाचनमा कांग्रेसले १८ हजार पाँच सय ४५, एमालेले १७ हजार सात सय नौ, माओवादीले सात हजार सात सय २७, एकीकृत समाजवादीले पाँच हजार एक सय २९ र राप्रपाले चार हजार तीन सय ३२ मत प्राप्त गरेको छ । यो क्षेत्रमा एमालेले कसैसँग पनि तालमेल गरेको छैन । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ३० बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ