रूपन्देही- १ : राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा रोचक | Khabarhub Khabarhub

रूपन्देही- १ : राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा रोचक


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रूपन्देही निर्वाचन क्षेत्र नं १ को चुनावी चर्चा उचाइमा छ । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा र निर्वाचनकै समयमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रको निर्वाचन सबैका लागि चासोको विषय बनेको छ ।

एमाले नेता विश्वकर्मा नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित छन् भने भुसाल मार्क्सवादी अध्येता हुन् । यसरी विगतमा एउटै पार्टी र विचार बोकेको पूर्वसहकर्मीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०३७ मा तत्कालीन नेकपा (माले)बाट राजनीतिक यात्रा सुरु गरेका ६० वर्षीय विश्वकर्मा चौथो पटक संघीय संसद्का लागि भुसालसँग निर्वाचन लड्दै छन् । ‘राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका र लामो समय एउटै दलमा रहेका नेताको प्रतिस्पर्धाले यो क्षेत्रको निर्वाचन रोचक बनेको छ’, स्थानीय अगुवा तिलोत्तमा–११ का वेद गिरीले भने ।

विश्वकर्माको राजनीतिक क्षेत्र र भुसालको गृहनगर यो निर्वाचन दुवै उम्मेदवारका लागि प्रतिष्ठाको विषय बनेकाले चुनावी माहोल पनि तातिँदै गएको उनको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा चुनाव प्रचारमा लाग्नुभएका विश्वकर्मा २०३८÷३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति भएका थिए । विद्यार्थी राजनीतिसँगै जातीय विभेद विरुद्धको आन्दोलनमा लामो समय नेतृत्व गरेका विश्वकर्मा २०४५ सालमा स्थापना भएको मालेको भ्रातृ संगठन जातीय उत्थान मञ्चका संस्थापक हुन् । 

विस २०४७ सालमा भएको मञ्चको पहिलो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष र २०५१ मा महासचिव र २०५५ मा अध्यक्ष बनेका विश्वकर्मा एमालेको छैटौँ महाधिवेशनबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । उनी सातौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र भारत प्रवासको इन्चार्ज बनेका थिए ।

दोस्रो जनआन्दोलनपछि विश्वकर्मा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्री बनेका थिए ।

विसं २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका विश्वकर्मा दोस्रो संविधानसभा निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नं १ बाट कांग्रेसका अब्दुल रज्जाकसँग झिनो मतले पराजित भएका थिए । विसं २०७४ मा रज्जाकलाई पराजित गरी विश्वकर्मा प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

यस क्षेत्रको विकास र समृद्धिका लागि योगदान गरेका कारण यो निर्वाचनमा पनि जनताले साथ दिने आशा विश्वकर्माको छ । पूर्वाधार विकासतर्फ उत्तर दक्षिण सडक, सरकारी मेडिकल कलेज र देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना, रोहिणी नदीको संरक्षणलगायतका दर्जनौँ योजना अघि बढाउने प्रतिवद्धता उनको छ ।  

स्याङ्जाको पिडीखोलामा जन्मिएका स्वतन्त्र उम्मेदवार ६१ वर्षीय भुसाल २०२१ मा रूपन्देहीको करहिया झरेका हुन् । अहिले तिलोत्तमा–९ का स्थायी बासिन्दा भुसाल मणिग्रामको संस्कृत माध्यमिक विद्यालयमा पढ्दा विद्यार्थी राजनीतिमा आबद्ध भएका थिए । 

भुसाल नेकपा (माले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सदस्य र दुई पटक महासचिव भए। २०४६ सालको आन्दोलनमा उनी महासचिवका रूपमा सक्रिय भएका थिए ।

विसं २०५० मा नेकपा (एमाले) को रूपन्देही जिल्ला कमिटी उपसचिव र २०५१ सालमा सचिव भएका थिए । विसं २०५३ को उपनिर्वाचनमा रूपन्देहीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी २०५८ देखि २०६४ सम्म एमालेको केन्द्रीय प्रचार विभाग सदस्य, केन्द्रीय स्कुल विभाग सदस्यको जिम्मेवारीमा रहेका थिए ।

भुसालले यसअघि २०७४ को निर्वाचनमा रूपन्देहीको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरालाई पराजित गगरेका थिए। त्यसअघि २०६४ र २०७० मा वर्तमान गृहमन्त्री बालकृष्ण खाणसँग पराजित भएका थिए।

लोकतान्त्रिक-वाम गठबन्धनबाट उम्मेदवार बनेका भुसाललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी एवं बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको समेत समर्थन छ । उनले औद्योगिक तथा व्यावसायिक पूर्वाधारका क्षेत्रमा काम गर्ने बाचा गर्दै मतदातासँग मत मागिरहेका छन् । 

उम्मेदवारी छनोटमा एमाले क्षेत्रीय तथा जिल्ला कमिटीले दुवैको नाम सिफारिस गरेर पठाए पनि प्रदेश कमिटीले विश्वकर्माको एकल नाम केन्द्रमा पठाएको थियो । क्षेत्र नं ३ बाट भुसालको नाम सिफारिस भए पनि राप्रपासँगको तालमेलमा एमालेले सो क्षेत्र छाड्नु परेकाले उम्मेदवारी दर्ताको अघिल्लो दिन पार्टी परित्याग गरेको घोषणा गरेका थिए। 

रूपन्देही क्षेत्र नं १ मा देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नं १, ३, ४, ५, र ६ रहेको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ११ बजे

दमौलीमा पानीको हाहाकार, एक गाग्रीका लागि घण्टौँ लाइन बस्नुपर्ने

तनहुँ–  तनहुँको व्यास नगरपालिका– २  र ३ वडामा खानेपानीको हाहाकार

पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

पाल्पा– ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती

आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि