विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज वैशाख ४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परी ४ सय जनाको मृत्यु

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४ सय जनाको ज्यान गएको छ । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् भने र दशौं हजार घरबारविहीन भएका छन् ।

बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पुर्‍याएको छ भने घरहरू बगाएको छ ।

दक्षिणपूर्वी क्वाजुलु–नाताल प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ। बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ ।

हतियार बोकेको युक्रेनी वायुसेनाको विमान खसालेको रुसी दाबी

रुसले पश्चिमा मुलुककरुबाट युक्रेनतर्फ ल्याइँदै गरेको विमान खसालेको दाबी गरेको छ । रुसको रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभलाई उद्धृत गर्दै रुसको तास समाचार संस्थाले जनाएअनुसार ओदेसा शहर नजिक रुसी फौजको कारवाहीमा विमान खसालिएको हो ।

विमानभेदी क्षेप्यास्त्रमार्फत पश्चिमा मुलुकबाट आयात गरिएका हतियार बोकेको युक्रेनी वायुसेनाको पारवहन विमान खसालिएको तासले जनाएको छ ।

यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ । घटनामा कति जनाको मृत्यु भएको हो भन्ने पनि स्पष्ट नभएको बताइएको छ ।

जनरल कोनासेन्कोभका अनुसार पछिल्लो २४ घण्टामा रुसी वायुसेनाले ६७ धेरै स्थानमा युक्रेनी फौजलाई निशाना बनाएर आक्रमण गरेको छ । युक्रेनी पक्षले यसबारे सार्वजनिक टिप्पणी गरिसकेका छैनन् ।

युक्रेनी सैनिकले आत्मसमर्पण नगर्ने

रुसले प्रस्ताव गरेपनि मारिउपोल शहरमा रहेका सैनिकले आत्मसमर्पण नगर्ने युक्रेनी पक्षले जनाएको छ । मारिउपोल शहरका मेयरका सल्लाहकार पेट्रो आन्द्रेउस्चेन्कोले सामाजिक सञ्जाल टेलिग्राममार्फत युक्रेनी सैनिकले शहरको रक्षा गर्ने कार्यलाई निरन्तरता दिने जनाएका हुन् ।

उनले रुसी फौजले आवासीय भवनहरूमा समेत गोलाबारी जारी राखेको आरोप लगाए । त्यस्तै, एकजना युक्रेनी सांसदले पनि मारिउपोल शहरमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण नगर्ने बताएका छन् ।

युक्रेनी संसद्मा ओदेसा क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद ओलेक्सेई गोन्चारेन्कोले मारिउपोलमा रहेका युक्रेनी सैनिकले रुससँग आत्मसमर्पण नगर्ने बताएका हुन् ।

‘मैंले उनीहरुसँग हिजोमात्र कुरा गरेको थिएँ र मलाई थाहा छ उनीहरु अन्तसम्म लडिरहन्छन् ।’ गोन्चारेन्कोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मारिउपोलबाट युक्रेनी सैनिकको सफाया भएको खण्डमा त्यसले युद्ध अन्त्यका लागि हुने शान्ति वार्ता प्रभावित हुने चेतावनी दिएका छन् ।

यसअघि रुसले मारिउपोलमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न समयसीमा सहितको प्रस्ताव अघि सारेका थिए ।

युक्रेनमा फेरि अर्का रुसी जर्नेल मारिए

युक्रेनमा तैनाथ अर्का रुसी जर्नेल पनि मारिएका छन् । रुसको तास समाचार संस्थाका अनुसार युक्रेनमा तैनाथ रुसी सेनाको आठौँ डिभिजनका उपकमाण्डर भ्लादिमिर पेट्रोभिच फ्रोलोभ मारिएका हुन् ।

सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जाण्डर बेगालोभले उनको मृत्यु भएको पुष्टि गरेको जनाइएको छ । ‘भ्लादिमिर पेट्रोभिच फ्रोलोभले युक्रेनी राष्ट्रवादीहरू विरुद्धको युद्धमा साहसिक मृत्युवरण गरेको’ उनले बताए ।

फ्रोलोभले ‘आफ्नो ज्यान बलिदान गरेका छन् ता कि डोनबासका केटाकेटी, महिला र वृद्धवृद्धाले बम विष्फोटको आवाज नसुनून् ।’ गभर्नर बेगालोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता रुसी सेनाका धेरै उच्च पदस्थ सैनिक अधिकारीको मृत्यु भइसकेको बताइएको छ । रुसी सेनाका जनरलहरुले युद्धमैदानमै पुगी आफ्नो ज्यानको बाजी राख्नु अस्वभाविक रहेको बीबीसीले जनाएको छ ।

रुसद्वारा कृष्ण सागरमा डुबेको युद्धपोतका जहाजीको तस्वीर सार्वजनिक

युद्धपोत मोस्कवा कृष्ण सागरमा डुबेयता रुसले पहिलोपटक युद्धपोतका जहाजीहरुको तस्वीर सार्वजनिक गरेको छ । रुसको रक्षामन्त्रालयले कृष्ण सागरस्थित क्राइमियाको बन्दरगाह शहर सेभास्टोपोलमा जहाजीहरुले परेड खेलिरहेको तस्वीर तथा भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मोस्कवा युद्धपोतका जहाजीहरुलाई भेट्न रुसी नौसेनाका प्रमुख एडमिरल निकोलाई येभमेनोभ सेभास्टोपोल पुगेका थिए ।

येभमेनोभले मोस्कवाका जहाजीलाई भेटेको सन्दर्भमा रुसी रक्षा मन्त्रालयले २६ सेकेण्ड लामो भिडियो पनि सार्वजनिक गरेको जनाइएको छ । यद्यपि उनले ती जहाजहरुलाई कहिले भेटेका हुन् भन्ने स्पष्ट नभइसकेको रोयटर्सले जनाएको छ ।

गत बुधबार युक्रेनले नेप्चुन क्षेप्यास्त्रले मोस्कवामा आक्रमण गरेको दाबी गरेको थियो । त्यसको भोलिपल्ट रुसले क्षतिग्रस्त मोस्कवा युद्धपोत बन्दरगाहतफै लैजाने क्रममा डुबेको स्वीकार गरेको थियो ।

आक्रमणका क्रममा उक्त युद्धपोतमा रहेका सबै ५ सय जहाजीको मृत्यु भएको दाबी गरेको थियो । यद्यपि युक्रेनले यसबारे कुनै प्रमण भने पेश नगरेको जनाइएको छ ।

एक महिनामा अमेरिका–मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ ।

समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ ।

यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु ११ हजार पनि नियन्त्रणमा लिइएको रोयटर्सले जनाएको छ ।

सो संख्या अघिल्लो वर्षमा सोही महिनाको तुलनामा २४ प्रतिशतले बढि रहेको जनाइएको छ । रोयटर्सका अनुसार अघिल्लो वर्षको मार्च महिनामा १ लाख ६९ हजार अवैध आप्रवासीलाई पक्राउ गरिएको थियो ।

यसअघिको ट्रम्प प्रशासनले लागू गरेका कठोर आप्रवासन नियममा सुधार गर्ने बाचाका साथ राष्ट्रपति बनेका बाइडेनको प्रशासनले पनि अवैध आप्रवासनको नियन्त्रण गर्ने योजनालाई निरन्तरता दिएको आरोप लाग्दै आएको छ ।

पछिल्लो समय मेक्सिकोसँगको सीमा नाघेर अवैध रुपमा अमेरिका प्रवेश गर्नेमा मध्य अमेरिकाका मेक्सिको सहित ग्वाटेमाला, मेक्सिको, एल साल्भाडोर, होण्डुरस लगायतका मुलकका साथै रुस र युक्रेनबाट आएका आप्रवासी समेत रहेको रोयटर्सले जनाएको छ ।

आगामी केही साताहरुमा दैनिक १८ हजारभन्दा धेरै आप्रवासी अवैध रुपमा अमेरिका प्रवेश गर्ने अनुमानका साथ तयारी थालिएको अमेरिकी आप्रवासन अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

बेलायती प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने

बेलायती प्रधानमन्त्री बोरिस जोनसन यसै साता भारतको भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री जोनसनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । भेटका अवसरमा रक्षा र व्यापारलगायतका विषयमा छलफल हुनेछ ।

कोभिडका कारण अघिल्ला भ्रमणहरू स्थगित भएपछि प्रधानमन्त्रीको रूपमा जोन्सनको यो पहिलो भारत भ्रमण हुनेछ । रुसले युक्रेनमा आक्रमण गरेपछि बेलायतले मस्कोमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई मनाउने प्रयास गरिरहेको छ ।

रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन र व्यापार, रक्षा, ऊर्जा र खाद्य सुरक्षा जस्ता क्षेत्रमा सहकार्य गर्न गत महिना विदेशमन्त्री लिज ट्रसले भारतको भ्रमण गरेकी थिइन् । भारतले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेदेखि प्रत्यक्ष रूपमा रसियाको आलोचना गरेको छैन । त्यस्तै, उसले यसबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएका मतदानमा पनि निन्दा गरेको छैन ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री जोनसन बिहीबार पाँचौं ठुलो राज्य गुजरात पुग्नेछन् । गुजरातमा उनले बेलायत र भारतका प्रमुख उद्योगहरूमा ठुलो लगानीको साथै विज्ञान, स्वास्थ्य र प्रविधिमा नयाँ सहकार्यको घोषणा गर्ने अनुमान गरिएको छ ।

भ्रमणअघि प्रधानमन्त्रीले भने, ‘निरंकुश राज्यहरूबाट हाम्रो शान्ति र समृद्धिमा जोखिम सामना गर्दा लोकतन्त्र र मित्रहरू एकसाथ रहनु महत्त्वपूर्ण छ ।

उनले अगाडि भनेका छन्, ‘भारत प्रमुख अर्थतन्त्र र विश्वकै ठुलो प्रजातान्त्रिक देश हो । यो अनिश्चित समयमा उ बेलायतका लागि एक उच्च मूल्य वान रणनीतिक साझेदार पनि हो ।’

भारत भ्रमणले दुवै देशका जनतालाई रोजगारी सिर्जनादेखि आर्थिक वृद्धि प्रदान गर्ने उनको भनाइ छ ।

इथियोपियाले साउदी अरबमा फसेका नागरिकलाई धमाधम स्वदेश फर्काउँदै

पछिल्लो एक हप्तामा इथियोपियाले साउदी अरेबियामा अवैध रुपमा पुगेर फसेका आफ्ना ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ । इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको हो । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरिएको हो र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिइनेछ ।

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरूलाई स्वदेश फर्काइरहेको बताएकी छिन् । उनले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने बताइन् ।

विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा केबल ७ लाख ५० हजार भन्दा केही बढी इथियोपियाली नागरिक रहेका छन् । ती मध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया पसेका बताइएको छ ।

यसैकारणले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको बताइएको छ । इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया गएको मार्च महिनादेखि सुरु गरेको थियो ।

गत मार्च महिनामा सरकारले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यका लागि एक समिति गठन गरेको थियो । सो समितिले थप अनुसन्धान गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा प्रक्रिया थालेको हो । त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको बताइएको छ ।

इथियोपियामा द्वन्द्वसमेतका कारण संकट गहिरिएको छ । त्यहाँका विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन् । त्यहाँको टिगरे क्षेत्रमा संकट गहिरिएको देखिएको छ । यहाँ केही वर्ष यतादेखि द्वन्द्व जारी रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीका छोरा पञ्जाब प्रान्तका नयाँ मुख्यमन्त्री

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका छोरा हम्जा शरिफ पाकिस्तानको पञ्जाब प्रान्तको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् ।

पञ्जाबको प्रान्तीय सभामा पाकिस्तान मुस्लिम लिग नवाज पीएलएमएन का नेता हम्जाले आफ्नो पक्षमा १ सय ९७ मत ल्याएर मुख्यमन्त्रीमा निर्वाचित भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

३ सय ७१ सिट रहेको पञ्जाब प्रान्तीय सभामा सरकार बनाउन १ सय ८६ सिट पर्याप्त हुन्छ । पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक–इ–इन्साफ (पीटीआई) पार्टीले चुनाव बहिष्कार गरेकाले हम्जाका प्रतिद्वन्द्वी परवेज इलाहीले कुनै मत प्राप्त गर्न सकेनन् ।

त्यसअघि संसद्मा पीटीआईका सदस्यहरूले होहल्ला गरेका थिए । प्रान्तीय सभामा पीटीआईका सदस्यहरूले उपसभामुख दोस्त मोहम्मद मजारीलाई हातपात गर्न खोजेपछि हंगामा समेत मच्चिएको बताइएको छ ।

नयाँ हतियार परीक्षण गरेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले नयाँ किसिमको हतियार परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार सर्वोच्च नेता किम जोङ उनको रोहबरमा नयाँ किसिमको ‘ट्याक्टिकल गाइडेड’ हतियारको परीक्षण गरिएको हो ।

यस हतियारले मुलुकको आणविक क्षमतालाई विस्तार गर्ने केसीएनएले जनाएको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको पूर्वी तटबाट प्रहार गरिएका दुई क्षेप्यास्त्रको सूचना पाएको जनाएको थियो ।

ती क्षेप्यास्त्र २५ किलोमिटरको उचाइमा पुगी ११० किलोमिटर टाढा गएर खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । केसीएनएले यस परीक्षणबारे केही विस्तृत जानकारी नदिएपनि यसलाई मुलुकको आणविक उद्देश्यसँग जोडेर प्रस्तुत गरेको रोयटर्सले जनाएको छ ।

गत अप्रिल ५ मा मात्रै सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले आक्रमण गरेको खण्डमा आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएकी थिइन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : १३ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन