विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियाेसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियाेसहित)


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ १, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

उत्तर कोरियाद्वारा क्रुज मिसाइल प्रहार

उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले ओन्चोन क्षेत्रबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि जनाएका छन् ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक उत्तर कोरियाले जुलाई १० मा हतियार परीक्षण गरेको थियो ।

उत्तर कोरियाले पछिल्ला केही महिनायता अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलसहित प्रतिबन्धित हतियार परीक्षणलाई तीव्रता दिएको जनाइएको छ । विश्वबाटै एक्लिएको उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षणबारे योजना बनाइरहेको विश्वास गरिन्छ ।

यस हप्ताको सुरुमा दक्षिण कोरियाली र अमेरिकी सेनाले वार्षिक संयुक्त सैन्य अभ्यासअघि नै प्रारम्भिक अभ्यास सुरु गरेका थिए ।

अफगानिस्तानमा डढेलोका कारणा आठ सयभन्दा धेरै परिवार विस्थापित

अफगानिस्तानमा लागेको डढेलोबाट आठ सयभन्दा धेरै परिवार विस्थापित भएका छन् ।

मुलुकको उत्तरमा रहेको जावजवान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको डढेलोबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरुले बुधबार पुष्टि गरेका छन् ।

विस्थापित परिवारहरु जावजान प्रान्तको राजधानी शिबरघान सहर र छिमेकी बल्ख प्रान्ततर्फ प्रस्थान गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सत्तार हलिमीले पत्रकारहरूलाई बताएका छन् ।

‘अगस्ट ८ मा शुरु भएको आगलागीले फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा सबैलाई घेरेको छ, प्रत्येक दिन पाँचदेखि छ घरहरू पूर्ण वा आंशिक रूपमा जलेको छ, र एक सय २० आवासीय घरहरु खरानी भएका छन्,’ एक अधिकारीले जानकारी दिएका छन् ।

प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा आगलागीबाट ठूलो क्षति पुगेको छ । अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण भने खुल्न सकेको छैन ।

जो बाइडेनद्वारा महत्वपूर्ण विधेयकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । राष्ट्रपतिको हस्ताक्षरसँगै यसले कानुनको स्वरुप लिएको छ ।

मुद्रास्फीति न्यूनीकरण ऐन भनिने यो कानूनलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने सबैभन्दा ठूलो प्रतिबद्धताको रूपमा लिएको थियो ।

‘एउटा राष्ट्रलाई रूपान्तरण गर्न सकिन्छ, जुन अहिले भइरहेको छ’, बाइडनेले भने । विधेयक पारित भएसँगै सरकारले हरित ऊर्जा पहलमा लगभग ३७० अर्ब डलर खर्च गर्नेछ । ‘यो दिन भविष्यका पुस्ताहरूले जीवाश्म इन्धन उद्योगविरुद्धको छालको रूपमा हेरिने सिएरा क्लबका अध्यक्ष रामोन क्रुजले बताए ।

भारतमा सडक दुर्घटनामा परी ६ जनाको मृत्यु

भारतमा कम्तीमा छ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

दुर्घटनाका कारण अरु ३३ जना घाइते पनि भएका छन् । उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

काश्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रु बहाक वस नदीमा खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूको भनाई छ ।

भारतमा चालकहरूको लापरवाही, खराब अवस्थाको सडक र पर्याप्त मर्मत नगरिएका सवारी साधनका कारण हरेक वर्ष सयौँ दुर्घटना हुने र हजारौँको मृत्यु हुने गरेको छ ।

पेलोसीको ताइवान भ्रमण क्षेत्रीय तनाव बढाउने भएकाे पुटिनको टिप्पणी

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले हालैका दिनमा गरेको ताइवान भ्रमणले क्षेत्रीय अस्थिरता बढाउने टिप्पणी गरेका छन् ।

उनले पेलोसीको भ्रमण क्षेत्रीय तनाव बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको समेत आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा राष्ट्रपति पुटिनले पेलोसीको यो भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक अङ्ग भएको बताए ।

राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ हो भने ।

रुसी रक्षामन्त्री सर्गेई शोइगुले पनि पेलोसीको ताइवान भ्रमणलाई ‘उत्तेजक अवतरण’ को संज्ञा दिँदै उक्त क्षेत्रलाई अस्थिर बनाउने अमेरिकाको अर्को कदम भएको बताए ।

चीनको चेतावनीलाई वेवास्ता गर्दै पेलोसीले उत्तेजना भड्काउन ताइवानको भ्रमण गरेको उनको टिप्पणी थियो ।

सभामुख पेलोसीले हालै ताइपेइ पुगेर राष्ट्रपति साई इङ्ग वेनसँग गरेको भेटवार्तामा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताएकी थिइन् ।

उनले विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको समेत उल्लेख गरेकी थिइन् । साथै उनले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

कम्युनिस्ट पार्टीको शासन रहेको चीनले स्वशासित राज्यव्यवस्था रहेको ताइवानमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः विलय गर्न सक्ने बताउँदै आएको छ ।

अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँगको अनौपचारिक रक्षा सम्बन्धलाई कायम राखेको छ ।

भारतमा कोरोना अपडेट

भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन् ।

भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ सङ्क्रमित भएका थिए । पछिल्ला केही दिनयता भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५८ जना रहेका छन् ।

गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार एक सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ५७ लाख १५ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

सुडानमा बाढी

अफ्रिकी मुलुक सुडानमा केही दिन यतादेखिको भीषण वर्षाका कारण हताहतीको संख्या बढ्दै जान थालेको पाइएको छ । वर्षाको कारण सुडानमा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर त्यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको छ ।

सुडानको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले दिएको जानकारीअनुसार वर्षा जारी रहेकाले बाढीको खतरा अझै टरेको छैन । उक्त काउन्सिलले प्रकाशन गरेको विज्ञप्तिअनुसार यस बाढीमा परी ३० व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन् ।

मुलुकको उत्तरी कोर्दोफान राज्यमा बाढीको बढी असर देखिएको समाचारहरुमा जनाइएको छ । यसअघि आएका केही समाचारहरुमा सो राज्यमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ ।

उत्तरी र मध्य सुडानमा वर्षाले क्षति पु¥याएको छ । यहाँको सयौँ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । सरकारले प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । वर्षा गत हप्तादेखि नै जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ ।

दक्षिण कोरिया कोरोना अपडेट

दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार आठ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसैसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड १६ लाख ८२ हजार आठ सय १६ पुगेको छ ।

केही दिनअगाडी घटेको कोरोना सङ्क्रमित पुनः बढेको बताइएको छ । अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ४६९ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा ९४ जना कम भएको छ ।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४२ भन्दा बढीको मृत्यु भएको छ । यसैसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार सात सय ५२ पुगेको छ ।

रुस्दी बोल्न थाले

गत साता अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा छुरा प्रहारबाट घाइते भएका चर्चित लेखक सलमान रुस्दीको स्वास्थ्यमा सुधार आउन थालेको छ । उनी बोल्न थालेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अनुसन्धानकर्ताहरूसँगको कुराकानीमा रुस्दी बोल्न थालेका कानून कार्यान्वयन अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । गत शुक्रबार न्युयोर्क राज्यको चौताउवा इन्स्टिच्युसनमा आयोजित एक कार्यक्रमको मञ्चमै छुरा प्रहार भएपछि रुस्दी अहिले अस्पतालमा उपचाररत छन् ।

कार्यक्रममको स्टेजमा पुगेर आक्रमणकारीले ७५ वर्षीय रुस्दीमाथि हमला गरेका थिए । गम्भीर घाइते रुस्दीलाई आक्रमणकारीले शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । गम्भीर घाइते रुस्दीको शल्यक्रिया समेत गरिएको थियो ।

कानून कार्यान्वयन अधिकारीका अनुसार लेखक सोमबार होसमा थिए र उनी अनुसन्धानकर्ताहरुलाई जवाफ दिन सक्षम थिए । यद्यपि, विश्वलाई स्तब्ध पार्ने हमलाको सम्बन्धमा रुस्दीले अनुसन्धानकर्ताहरूलाई के भनेका थिए भन्ने उल्लेख गरिएको छैन ।

अडियो सुन्नुहोस्:

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ८ : ०६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न