१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी « Khabarhub

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–२ का इन्दल पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनी २०६५ फागुन १२ गते साविक नेत्रगन्ज गाविस–२ का विरेन पासवानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उक्त दिन विरेन स्थानीय चिताइन मेला हेर्न भन्दै घरबाट बाहिरिएका थिए । राति करिब १० बजे उनी नेत्रगन्ज गाविस–२ स्थित एक खाली जग्गामा छातीमा गोली लागेको अवस्थामा मृत फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा हत्यामा धनुषाको कपटोल स्थायी ठेगाना भएका तथा तत्कालीन नेत्रगन्ज–२ मा बस्दै आएका इन्दल पासवानसमेतको संलग्नता रहेको खुलेको प्रहरीको भनाइ छ । घटनापछि भने उनी फरार रहँदै आएका थिए ।

लामो समयदेखि फरार रहेका पासवानलाई इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरको समन्वयमा लालबन्दी नगरपालिका–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय हरिपुरमा राखेर अनुसन्धान गरिएको थियो । अनुसन्धानपछि जिल्ला अदालत सर्लाहीको आदेशअनुसार उनलाई पुर्पक्षका लागि सर्लाही कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका पासवान यसअघि पनि हातहतियार तथा खरखजाना मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । उक्त मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएपछि उनले सजाय भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै, उनीविरुद्ध महोत्तरी र धनुषामा चोरी तथा डाँकासम्बन्धी मुद्दासमेत चलेको प्रहरीको भनाइ छ । १८ वर्षअघि भएको हत्या घटनामा संलग्न रहेको आरोपमा फरार रहेका पासवान पक्राउ परेसँगै प्रहरीले घटनासँग सम्बन्धित थप पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ८ : ४३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको