विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज असोज १, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १७, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

अडियो सुन्नुहोस्-

रुसका राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच भेट
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताएका छन् । नयाँ दिल्ली र मस्कोबीच शीतयुद्धदेखि नै लामो समयदेखि सम्बन्ध रहँदै आएको छ र रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो ।

तर फेब्रुअरीमा मस्कोको सेनाले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक आमनेसामने भएको भेटमा मोदीले पुटिनलाई भने, ‘महामहिम, मलाई थाहा छ आजको समय युद्धको लागि उपयुक्त समय होइन ।’ तेल र अन्य वस्तुहरूको मूल्य वृद्धिको कारण बनेको रूसी आक्रमणबारे रूसको विपक्षमा उभिन भारत चाहेको देखिएको छैन ।

उज्बेकिस्तानको समरकन्द शहरमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा भएको भेटमा उनले लोकतन्त्र, कूटनीति र संवादको महत्वमा जोड दिएका थिए ।उनीहरुबीच शान्तिको मार्गमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको मोदीले बताए ।

युक्रेनमा रुसी सेनाले ठूलो युद्धभूमिको असफलताको सामना गरिरहेको बेला एससीओ शिखर सम्मेलन हुन लागेको छ र यसले पुटिनका लागि पश्चिमी प्रयासका बावजुद आफ्नो देश पूर्ण रूपमा एक्लो नभएको देखाउने अवसरको प्रतिनिधित्व गरेको छ ।

‘मलाई युक्रेनको द्वन्द्वमा तपाईंको तपाईंको चिन्ता र स्थिति थाहा छ । यसलाई जतिसक्दो चाँडो अन्त्य गर्न हामी सक्दो प्रयास गर्नेछौं,’ पुटिनले मोदीसँग भने ।

तर युक्रेनको नेतृत्वले वार्तालाई अस्वीकार गरेको र युद्धभूमिमा सैन्य माध्यमबाट आफ्नो लक्ष्य हासिल गर्न चाहेको पुटिनको दाबी थियो ,

बेलायती महारानीको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपति सहभागी हुने
बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपतिले सहभागिता जनाउने भएको छन ।चिनियाँ राष्ट्रपति सी चिनपिङ्को विषेश प्रतिनिधिका रुपमा उपराष्ट्रपति वाङ क्विशान अन्त्येष्टिका लागि बेलायत जाने भएको हुन् ।

बेलायत सरकारको महारानीको अन्त्येष्टि समारोहमा आतिथ्यता ग्रहण गर्न आग्रह गर्दै राष्ट्रपति सीलाई निमन्त्रणा गरेको थियो । उनको अन्त्येष्टि यही सेप्टेम्बर १९ मा लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी बेलायती सरकारले गरेको छ । अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई निमन्त्रणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुन बेलायत प्रस्थान गर्दै छन् । विभिन्न देशबाट आएका पाहुनाहरु बेलायतका नयाँ राजा चाल्र्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन ।

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ बर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा बेलायतसहित धेरै देशका राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो । औपचारिक रूपमा शोक प्रकट गर्न अहिले बेलायतका सरकारी र राजपरिवारसँग सम्बद्ध कार्यालयहरुमा झण्डा आधा झुकाइएको छ ।

तर राजा रहेको ठाउँमा भने झण्डा नझुकाइने अभ्यास रहेको छ । एउटा राजा वा रानीको निधन भएपनि अर्को राजाले तत्कालै जिम्मेवारी लिने भएकाले राजा रहेको ठाउँमा झण्डा नझुकाइने भएको हो ।

अन्य ठाउँमा झुकाइएका झण्डा भने महारानीको राजकीय अन्तिम संस्कार सकिएको भोलिपल्ट बिहान ८ बजेसम्म नै आधा झुकाइने भएको छ ।

क्षेप्यास्त्र आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु
इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कस स्थित अन्तरराष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ।

बेलायत स्थित युद्ध पर्यवेक्षक, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएअनुसार सो आक्रमण दमास्कसको ग्रामीण इलाका र सय्यदा जैनाब क्षेत्रमा लक्षित थियो। त्यस क्षेत्रमा लेबनानमा रहेको शिया आन्दोलन र पार्टीसँग सम्बन्धित गतिविधि केन्द्रित बताइएको छ।

इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा २० जना पुरिए

इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन्, । घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको किनन्दे गाउँमा भएको भए पनि सो बारे जानकारी प्रादेशिक खोज तथा उद्धार कार्यालयका उद्धारकर्तालाई शुक्रबार राति मात्र प्राप्त भएको थियो ।

हामीले शुक्रबार राति जानकारी पायौं र तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गर्यौं, उद्धार कार्यालयका प्रमुख एरिक सुबर्यान्टो सिन्ह्वालाई फोन मार्फत बताएका छन् । विगत केही दिनदेखि परेको अविरल वर्षा, दुर्गम स्थान र कमजोर सञ्चार सुविधाका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीले बताएका छन् ।

खानी क्षेत्रमा खोज तथा उद्धार कार्यमा सैनिक, स्थानीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका कर्मचारी र गाउँले पनि संलग्न रहेको उनले जानकारी दिएका छन् ।

पाकिस्तानमा बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु
पाकिस्तान विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने अन्य ९२ जना घाइते भएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण एनडीएमएका अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमध्येमा १६ बालबालिका र सात महिला रहेका छन् । यो वर्षको वर्खेझरीका कारण देशका विभिन्न स्थानमा बाढी आउँदा एक हजार पाँच सय ४५ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ५० जना घाइते भएका छन् ।

देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख २० हजार घर ध्वस्त भएका तथा नौ लाख ३५ हजार सात सय ९५ चौपाया मरेका छन् । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।

जापानमा ‘खतरनाक’ आँधी आउने चेतावनी
जापानको मौसम विज्ञान निकायले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ आँधी आउने जोखिम रहेको बताएको छ । आँधीबाट कल्पनीय क्षति हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई आँधीपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ ।

‘नानमाडोल’ नाम दिइएको आँधीले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ आँधीको रूपमा वर्गीकृत गरिएको छ ।दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो ।यो आँधी आइतबार क्युशुको दक्षिणी कागोशिमा प्रान्तमा प्रवेश गर्ने र त्यसको अर्को दिन उत्तरतर्फ सर्ने र त्यसपछि जापानको मुख्य टापुतर्फ अघि बढ्ने अनुमान गरिएको छ ।

‘भयानक प्रकृतिको आँधीबेहरी, उच्च छाल, र व्यापक रेकर्ड वर्षाको जोखिम देखिएको छ,’ जापानको मौसम विज्ञान निकायको पूर्वानुमान एकाइका प्रमुख र्युता कुरोराले सञ्चारकर्मीसँग भने। उनले थपे, ‘अधिकतम सावधानी आवश्यक छ । जोखिमको प्रभावित क्षेत्रका बासिन्दाहरूलाई चाँडो भन्दा चाँडो खाली गर्न आवश्यक देखिन्छ । यो निकै खतरनाक आँधी हो ।’

कुरोराका अनुसार कागोशिमा क्षेत्रका लागि शनिबार पछि पनि उच्च चेतावनी अपनाउन आवश्यक छ । जेएमएले केही दशकमा एकपटक देखिएको अवस्थाको पूर्वानुमान गरेपछि मात्र ‘विशेष चेतावनी’ चेतावनी जारी गर्छ । सन् २०१३ मा वर्तमान प्रणाली सुरु भएयता ओकिनावा क्षेत्रबाहिर जारी गरिएको यो पहिलो आँधीसँग सम्बन्धित विशेष चेतावनी हो ।

सन् २०१८ मा पश्चिमी जापानमा वर्षेनी आएको बाढी र पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको थियो । जापान एयरलाइन्स र अल निप्पोन एयरवेजको वेबसाइटका अनुसार नानमाडोल आँधी आउनुअघि नै उडान रद्द हुँदा कागोशिमा, मियाजाकी र कुमामोतोलगायत क्षेत्रीय विमानस्थलको गतिविधि प्रभावित हुन थालेको छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण जापानमा आँधीबेहरीको गम्भीरता बढिरहेको छ र अत्यधिक गर्मीको लहर, खडेरी र बाढीजस्ता चरम मौसमहरू बारम्बार र तीव्र हुँदै गएका छन् ।

फिलिपिन्समा एकैदिन २१ सयमा कोरोना संक्रमण
मनिला–फिलिपिन्समा कोभिडबाट दुई हजार १ सय जना संक्रमित भएका छन् । योसँगै कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन ३१ जनाको ज्यान गएको छ ।

अहिलेसम्म फिलिपिन्समा कोभिडबाट ६२ हजारभन्दा बढीको मृत्युभएको छ । राजधानी मनिला कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फिलिपिन्समा जनवरीमा एकै दिन ३९ हजार संक्रमित फेला परेका थिए । तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा संक्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

फिलिपिन्समा अहिलेसम्म ७२ दशमलब ८ प्रतिशत नागरिकले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् ।

लन्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार
मध्यलन्डनमा शुक्रबार बिहान दुई प्रहरी अधिकारीहरूलाई एक व्यक्तिले छुरा प्रहार गरेका छन्। आक्रमणकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ। लेस्टर स्क्वायर वरपरको नाइटलाइफ क्षेत्रमा उक्त हमला भएको हो।

घाइते प्रहरी अधिकारीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि आम बेलायती शोकाकुल भइरहेका बेला पछिल्लो घटना भएको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : १७ बजे

क्यानडाद्वारा अमेरिकी प्रविधि फर्महरूमाथिको कर लगाउने घोषणा फिर्ता

एजेन्सी – अमेरिकी प्रविधि कम्पनीहरूलाई असर पार्ने करहरू क्यानडाले फिर्ता

पोखराबाट ८ जना जुवाडे पक्राउ

कास्की– पोखरा महानगरपालिका-१६ सुन्दरफिट बस्ने ६६ वर्षीय जस काजी गुरूङको घरमा जुवातास

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-५ बस्ने मोहम्मद

कांग्रेस बैठक चलिरहेका बेला देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा शिक्षा तथा विज्ञान

पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिए देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको जारी केन्द्रीय कार्यसमिति