मिथिला माध्यमिकी परिक्रमा सम्पन्न « Khabarhub

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा (माध्यमिकी) परिक्रमा सम्पन्न भएको छ ।

महोत्तरी, धनुषा र मित्रराष्ट्र भारतको मधुवनी जिल्लाका विभिन्न तीर्थस्थल घुम्दै १३३ किलोमिटरको वृत्ताकारमा गरिने १५ दिने मध्यमा परिक्रमा आज बिहान पावन नगरी जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै सम्पन्न भएको हो ।

कूल १५ दिनको यस यात्रामा महोत्तरीमा पाँच, धनुषामा छ र भारतको मधुवनी जिल्लामा चार रात्रि बासको परम्परा छ । जनकपुरधामको रङ्गभूमि मैदानमा १५ औँ दिनको रात्रीबास गरेर १६ औँ दिन बिहान जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने परम्परा छ ।

जनकपुरधामको अन्तर्गृह भनिने परिक्रमालाई ‘पञ्चकोशी’ पनि भनिन्छ । फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित मिथिला विहारी मठबाट अवधविहारी (श्रीराम)को प्रतिमा राखिएको डोला बोकिएसँगै यो यात्रा प्रारम्भ हुन्छ । श्रीरामको डोला जनकपुर पुगेपछि अग्निकुण्ड स्थानबाट निस्कने श्री किशोरीजीको डोला मिसिएपछि यात्रा औपचारिकरुपमा प्रारम्भ हुने परम्परा छ ।

रामसीताका प्रतिमा राखिएका डोलासँगै गरिने यो यात्रा मोक्षदायक, कल्याणदायक र आरोग्यदायक हुने हिन्दू मैथिल जनविश्वास छ । त्रेता युगमा श्रीराम र श्री सीताजीको विवाहपश्चात् यो जोडिले विहारकै क्रममा मिथिलाका विभिन्न क्षेत्रको भ्रमण गरेको सम्झनामा मिथिला माध्यमिकी परिक्रमा परम्परा सुरु भएको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्रदास वैष्णव बताउँछन् ।

‘यो मर्यादा पुरुष्वत्तम श्रीराम र मिथिला नन्दिनी श्री जानकीजीको पदचिन्ह पछ्याउने यात्रा नै हो’, सन्त वैष्णव भन्छन्, ‘यो यात्राको अभिष्ठ आरोग्यता, कल्याण र मोक्षको कामना नै हो ।’ हजारौँ हजार साधुसन्त, गृहस्थ जीवनका नरनारी १५ दिनभरि सांसारिक सबै कुरा बिर्सेर यो यात्रामा सहभागी हुँदै आएका परम्परा छ । मध्यमा यात्रा १८ औँ सताब्दीमा प्रारम्भ भएको मानिन्छ ।

मिथिलामा बृहत् मिथिला परिक्रमा, मध्यमा मिथिला परिक्रमा र अन्तर्गृह (पञ्चकोशी) परिक्रमाको वर्णन मिथिला माहात्म्यमा गरिएको छ । हरिहरक्षेत्र, कोशी नदीसहित प्राचीन मिथिलाका सबै भेग पर्ने गरी हुने बृहत् मिथिला परिक्रमा अब हराइसकेको छ । अहिले बर्सेनि फागुन औँसीदेखि पूर्णिमासम्मको मध्यमा परिक्रमा हुँदैछ । यो परिक्रमा पनि अन्तर्गृह गरिएपछि पूरा भएको मानिन्छ । यद्यपि मध्यमा परिक्रमा गर्न नपाएका वा नभ्याएकाले यो पञ्चकोशी परिक्रमाबाटै मोक्षको कामना गर्छन् ।

फागुन शुक्लपक्षभरिको यो यात्रा रामसीताका पदचाप पछ्याउने भनिए पनि यससँगै अन्य परम्परासमेत जोडिएको पाइन्छ । यात्राको १५ औँ दिनको राति ‘होलिकादहन’ र १६ औँ दिन बिहान अन्तर्गृह परिक्रमा टुङ्ग्याइँदै गरिदा ‘धुरा’ उडाउने परम्परा रामजानकी यात्राभन्दा फरक प्रसङ्ग भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल बताउँछन् ।

‘होलिकादहन’ र ‘धुरा’ उडाउने सत्ययुगकालीन घटना स्मरण गरिएको विश्वास गरिन्छ । दानवराज हिरण्यकशिपुले विष्णुभक्त छोरालाई मार्न आगोले नपोल्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा छोरा प्रह्लादलाई अग्निकुण्डमा राखिँदा होलीका आगोले भष्म भएकी पुराणमा वर्णन छ। विष्णुभक्त प्रह्लादलाई भने आगोले नछोएको कथामा उल्लेख छ ।

परिक्रमाको अन्तिम राति सोही घटनाको सम्झनामा दानवीय प्रकृतिकी होलीकाको अन्त्य भएको सम्झनामा उनको आकृतिलाई आगो लगाउने हिन्दू मैथिल परम्परा छ । भोलिपल्ट होलीका दहन गरिएको खरानीको धुलो उडाएर राक्षसी प्रवृति अन्त्य भएको खुसियाली मनाइएको पौराणिक कथालाई पछि ‘धुरा’ उडाउने भनिएको मानिन्छ।

मिथिलामा मनाइने उल्लासको पर्व ‘होली’ यसै पौराणिक कथामा आधारित रहेको मैथिल बताउँछन् । सत्यको विजय र राक्षसी प्रवृत्तिको अन्त्यको प्रतिकका रुपमा ‘होली’ पर्व परम्परा चलेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका सहप्राध्यापक ध्रुव राय बताउँछन् ।

मध्यमा परिक्रमा यात्रा श्रीराम जानकीको पदचाप पछ्याउनै थालिएको र यसै अवधिमा सत्य युगकालीन भक्त प्रह्लाद सम्बन्धित घटना पनि जोडिएको हुँदा यात्रा परम्परामा ‘होलीका दहन’ र ‘धुरा’ उडाउनेसँगै होली पर्व परम्परा परेको पाका मैथिल बताउँछन् । जनकपुरधाममा ‘होली’ पर्व अन्तर्गृह परिक्रमामा ‘धुरा’ उडाइएको भोलिपल्ट मनाइने परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ३५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२