निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन « Khabarhub

निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न/गराउन निर्देश गरेको छ ।

मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्ने जस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्ने जस्ता कार्यबाट मतगणना यथा समयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोगले आग्रह गरेको हो ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी नेपालको संविधानबमोजिम विभिन्न तहका निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको समग्र जिम्मेवारी निर्वाचन आयोगमा रहेको र आयोगले निर्वाचन सञ्चालनका सबै प्रक्रियामा आयोगको समग्र जिम्मेवारी रहेको प्रति कुनै द्विविधा नरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा आएका अन्यथा अर्थ लाग्न सक्ने आशयको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

“निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण नगर्न नगराउन आयोग आग्रह गर्दछ । तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्नका लागि चालिएका कदमउपर अन्यथा टीकाटिप्पणी गरी आयोगको गरिमा र निर्वाचन प्रक्रियाप्रति नै अविश्वास हुने गरी समाचार सम्प्रेषण नगर्न, नगराउन हुन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “यथासमयमा मतगणना सम्पन्न होस् भन्ने सबैको चाहनालाई विभिन्न मतगणनास्थलमा रहेका राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि र कर्मचारी वर्गले यथार्थरूपमा ग्रहण गरी उक्त चाहनाबमोजिम छिटो कार्य सम्पादन गराउन आयोग अपिल गर्दछ ।”

मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही केन्द्रमा अनपेक्षित अवस्था सिर्जना भई मतदान स्थगन भएकोमा त्यस उपरान्त विभिन्न मितिमा मतदान कार्य सम्पन्न हुँदै गइरहेको छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाको मतगणना कार्य प्रारम्भ भई आज मध्यान्हसम्म चार सय ६० पालिकाको अन्तिम परिणाम प्राप्त भइसकेको र अन्यको परिणाम धमाधम आइरहेको छ । 

परिणाम आउन बाँकी पालिकामा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम प्रयास भइरहेको आयोगले जनाएको छ । धेरै मत गणना गर्नुपर्ने अवस्था रहेका महानगर र उपमहानगरपालिकाका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई स्मरण गराउँदै आयोगले विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशीघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न/गराउन भनिएको छ ।

आयोगको संवैधानिक जिम्मेवारी एवं निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा निर्वाचन सम्पन्न गराउने दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्नका लागि सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत्, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग अपरिहार्य रहेको  विज्ञप्तिमा जनाइएको छ । 

साथै विज्ञप्तिमा विद्यमान कानुनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिको पदावधि यही जेठ ५ गतेसम्म रहेको र तत्पश्चात स्थानीय सरकारमा जनप्रतिनिधिविहीनता हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशीघ्र परिणाम प्रकाशन गरी निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न सम्भव तुल्याउने मनसायले आयोगबाट निर्देशन भएको उल्लेख गरिएको छ । 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : ३२ बजे

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौं– काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका

अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध

एजेन्सी– डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले क्युबा सरकारमाथि थप कडा आर्थिक