दिनभर आज: भन्सार छली ल्याइएको मल किसानले गरे कब्जा, प्रिय‍ंका रानी बनिन् मिस नेपाल | Khabarhub Khabarhub

दिनभर आज: भन्सार छली ल्याइएको मल किसानले गरे कब्जा, प्रिय‍ंका रानी बनिन् मिस नेपाल


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज एसपीपी सम्झौता, भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरेको विषय, प्रियंका जोशीले मिस नेपालको उपाधि जितेको लगायतका समाचारले चर्चा पाए । यी हुन् आजका मुख्य समाचारहरुः

भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरे

धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जा गरी मल लुटेका छन् ।

भारतबाट भन्सार छली गरेर ल्याइएको मल राजश्व विभागले नियन्त्रणमा लिएपछि धार्केमा व्यापारीकै सूचनापछि किसानलमल लुटेको जनाइएको छ ।

मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् ।

चार किलोमा पुनः पहिरो खस्दा तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।

शनिबार बेलुकी ५ः४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुनः पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५ः४० बजे पन्छाएर बाटो खुलाइएको थियो ।

पहिरो खसेसँगै पुनः सडक अवरुद्ध बनेको छ ।

सत्ता गठबन्धन दलका शिर्ष नेताले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने

सत्तागठबन्धन दलले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)का विषयमा प्रधानमन्त्री शेर बहादुर देउवासंग छलफल गर्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र आफूबीच आज छलफल भएको र एसपिपीका बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

युवा संघको विरोध प्रदर्शन

‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)मा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादी निकट युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

एसपीपी राष्ट्रको हित विपरीत रहेको भन्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनीहरुले भनाइ छ ।

माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले एसपीपी अस्वीकार गर, आन्तरिक मामिलामा हस्तक्षेप नगर, लगाएतका प्लाकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक अंग बन्न सक्दैन: प्रदिप ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रकोे रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ज्ञवालीले मुलुकको राष्ट्रहित विपरीत नेपाल शक्ति राष्ट्रकोे रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका हुन् ।

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का विषयमा धेरै आशंका रहेको भन्दै यसबारे राज्यले थप स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

तत्कालीन समयमा नेपाली सेनाले कुनै राजनीतिक नेतृत्वलाई जानकारी नै नदिई पत्र लेखेको पाइएको उनले बताए ।

एसपीपीको विषयमा सेना विवादमा आउनु गम्भीर: वर्षमान पुन

माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रक्रिया छलेर एसपीपीका बारेमा सेनाले पत्र पठाएको भन्दै सेना नै विवादमा आउनु गम्भीर विषय भएको बताएका छन् ।

उनले यस विषयमा राजनीतिक दलहरुले नै नेतृत्व लिएर विवाद अन्त्य गर्नुपर्ने धारणा राखे । पुनले सैन्य सम्झौतालाई कुनै पनि राजनीतिक दलहरुले स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।

एसपीपी सम्झौता कुनै पनि हालतमा गर्न हुन्नः टोप बहादुर रायमाझी

नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि बताए ।

नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे ।

एसपीपी ओलीकै पालामा अघि बढेको पुष्टि भइसक्योः विश्वप्रकाश शर्मा

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् ।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताए ।

उनले कूटनीतिक मर्यादाविपरीत सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

एमालेलाई कुनै गठबन्धनको आवश्यकता छैनः पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।

रिटर्नी फेडरेसन नेपालको लुम्बिनी प्रदेश स्तरीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै पौडेलले गठबन्धन बनाउने नाममा कुनै पनि नेतालाई प्रधानमन्त्री प्रस्ताव नगर्ने भन्दै एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको प्रष्ट पारे ।

पौडेलले केही दलका नेताले आफुलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै कांग्रेससँग बार्गेनिङ गरिरहेको जिकिर गरे ।

पौडेलले नेकपाको दुई तिहाइको सरकार गिराएर विपक्षीको शरणमा जानेहरुलाई प्रधानमन्त्री स्वीकार गरेर गठबन्धन गर्ने कुराको कुनै तुक नभएको बताए ।

सञ्चार तथा सूचना प्रविधिको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार तथा सूचना प्रविधिको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

आइसिटी फाउण्डेशन नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ विषयक कार्यक्रममा पुनले आइसिटी क्षेत्रको तीव्र विकासका निम्ति राज्यले योजनाबद्ध रुपमा कार्य अघि बढाउनुपर्ने बताए ।

उनले सरकारले सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कको सपना पूरा गर्ने लक्ष्यअनुरूप गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् ।

आज धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषदबाट निर्णय गरेर विधेयक निर्माणको कार्य अघि बढाइने बताए ।

यसअघि प्रतिष्ठान बनाउने विषयमा आवाज नउठे पनि अहिले सबैको एउटै माग रहेकोले अब चाँडै सुदूरपश्चिमवासीकोे माग सम्बोधन हुने प्रधानमन्त्री देउवाले बताए ।

प्रधानसेनापति शर्मा लेबनान प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि लेबनान प्रस्थान गरेका छन् ।

सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेबनान गएका हुन् ।

भ्रमण दलले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति र फौज तैनाथीको अवस्थालगायतका विषयमा जानकारी लिने तय भएको छ ।

प्रेम आलेको स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफूले हातपात नगरेको स्पष्टीकरण दिएका छन् ।

विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको आलेको भनाइ छ ।

समाचारमा उल्लेख भएजस्तो मन्त्रालयमा बोलाएर मातहतका कुनै पनि कर्मचारीलाई दुर्व्यवहार तथा हातपात नगरिएको भन्दै आलेले मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्न आग्रह गरेका छन् ।

मिस नेपाल प्रतियोगिता खारेज माग गर्दै महिला संगठनहरुद्वारा विरोध प्रदर्शन

सात महिला संघसंगठनले मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, नेपाल महिला फेडरेशन, वैज्ञानिक समाजवादी महिला संगठन, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला युनियनले उक्त विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले मिस नेपाल २०२२ को ग्राण्ड फिनाले भइरहेको ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रबाहिर विभिन्न नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।

महिला उत्पिडनविरुद्ध युवाद्वारा माइतीघरमा प्रदर्शन

महिला उत्पीडनविरुद्ध काठमाडौंमा युवाहरु प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंमा महिला उत्पीडनविरुद्ध खबरदारी गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले घर, कार्यालय र समाजबाटै महिला हिंसाका घटनाहरु भएकाले सजक हुनुपर्ने बताएका छन्

नेपालमा १४ कोरोना संक्रमित थपिए

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ९० पिसिआर परीक्षणका क्रममा ११ जना र ९ सय ४४ एन्टिजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ८८ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आाइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौंकी प्रियंका रानी जोशीले यस वर्षको मिस नेपालको उपाधि पाएकी छन् ।

ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।

उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए ।

गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो १२ बजेतिर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु

पोखरामा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

पोखराको तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा–५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो ।

उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासी पुलमा खसेका थिए । उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ ।

रौतहटमा ग्यास सिलिन्डर पड्केर वृद्ध महिलाको ज्यान गयो

रौतहटमा ग्यास सिलिन्डर पड्केर एकजना वृद्ध महिलाको ज्यान गएको छ ।

जिल्लाको गढीमाई नगरपालिका वडा नं–१ समनपुरमा शनिबार भान्छा कोठामा खाना पकाइरहेको बेला ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो ।

गढीमाई नगरपालिका —१ समनपुरका स्थानीय बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी सहनीको मृत्यु भएको समनपुरका स्थानीय रन्धिर साहले जानकारी दिए ।

सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार आरोपीमध्ये दुई जना पक्राउ

दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहनगरपालिका–५ की २५ बर्षीया युवतीमाथि असार २ गते राति तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये तुलसीपुर–९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका हुन् भने अन्यको खोजी जारी रहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।

पुँजीबजार सुधारको माग गर्दै प्रदर्शन

पूँजीबजार सुधारको माग गर्दै आन्दोलनरत शेयर लगानीकर्ताहरुले शनिबार प्रदर्शन गरेका छन् ।

पूँजीबजार सुधार संघर्ष समितिले आफूहरुले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै ललितपुरको खुलमटारस्थित धितोपत्र बोर्डको कार्यालय नजिकै र्‍यालाीसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले पुँजी बजारको सुधार र विकास रोक्न पाइँदैन, नेप्सेको पुनसंरचना गर, धित्तोपत्र बोर्डलाई स्वायत्त बनाऊ लगाएतका नारा लगाएका थिए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ०४ बजे

एमालेले प्रचण्डलाई दिएको अल्टिमेटम सकिँदै, मन्त्रीहरू बालकोटको निर्देशन कुर्दै

काठमाडौं- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन आफ्ना मन्त्रीहरूलाई

तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल

एजेन्सी– अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौं– सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र

टी-२० अलराउण्डरको वरीयतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

काठमाडौं– भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर

झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार 

काठमाडौं– मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य