बाढीले कैलाली भजनीका मात्रै करिब ७ हजार घरपरिवार प्रभावित « Khabarhub

बाढीले कैलाली भजनीका मात्रै करिब ७ हजार घरपरिवार प्रभावित


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली – बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन्।

बाढीका प्रभावित परिवार शनिबार बिहानदेखि हुलाकी सडकमा बसेका छन्। बाढीका कारण आठ हजार बिघामा लगाएको फुट्न लागेको धानबालीमा क्षति भएको बताइएको छ। गत वर्ष पाकेको धान बाढीमा बगेका यहाँका किसान यस वर्ष फुल्न थालेको धानबाली बाढीले नोक्सान गरेपछि थप पीडामा परेका छन्।

बाढीले प्रभावितले घरमा रहेका अन्नपातसमेत जोगाउन सकेनन्, प्रभावितहरू अत्यावश्यक कागजात र गाईभैँसी डोहोर्‍याएर भागेर ज्यान बचाएका स्थानीय जयप्रसाद ढुङ्गानाले बताए। हुलाकी सडकमा बसेकाहरूको बिचल्ली छ। सडकमा बस्नेहरू एकसरो लुगामा रहेका स्थानीय रुपा चौधरीले बताए। ‘बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भन्दै सात जनाको परिवार भाग्यौँ’, उनले भने, ‘ज्यान बाँचे खाइएला, हामी सबै भोकै छौँ, अब सम्पत्ति बगेको हिसाब छैन।’

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणी क्षेत्र डुबानमा परेको हो। चुरे मुहान भएर बग्ने पथरैया, कान्द्रा, काँढा, मोहना, खुटिया, कटैनी नदीमा आएको बाढीले भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, धनगढीलगायतका पालिकामा डुबान भएको छ। टीकापुर नगरपालिका–८ को वनगाउँ क्षेत्रमा कर्णाली नदी गाउँ पसेको छ।

भजनी नगरपालिका सबै डुबानमा परेको र त्यसमा पनि वडा नं ३, ५, ७ र ८ बढी प्रभावित भएका भजनी नगरप्रमुख केवल चौधरीले जानकारी दिए। ‘पूरै पालिका डुबानमा परेको छ, डुबानमा परेकाहरूको उद्धार कार्य जारीरहेको छ’, उनले भने, ‘स्थानीय पनि उद्धारमा खट्नुभएको छ। हामी स्रोत साधन र जनशक्ति परिचालन गरेर खटेका छौँ, हजारौँ घर डुबानमा परेका र सयौँ विस्थापित भएका छन्।’

टीकापुर नगरपालिकामा कर्णाली, मोहना र पथरैया नदीको पानी गाउँमा पस्दा करिब साढे पाँच सय घर डुबानमा परेका छन्। वडा नं ८ को वनगाउँमा कर्णाली नदीले तटबन्ध भत्काएर गाउँमा पस्दा त्यहाँ निकै जोखिम बढेको छ। त्यहाँका नागरिकलाई उच्च घरमा सारिएको छ। अहिलेको यो तथ्याङ्क नै अन्तिम नभएको र अझै पनि तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेकाले वाढीबाट प्रभावितको सङ्ख्या बढ्न सक्ने नगर उपप्रमुख खडक शाहले जानकारी दिए। ‘हामीले प्रभावितलाई अत्यावश्यक सामान त्रिपाल, पानीलगायतका वितरण गरेका छौँ’, उनले भने, ‘उद्धारमा खटेका छौँ, अझै सङ्ख्या बढ्न सक्ने देखिएको छ।’

जानकी गाउँपालिकामा पनि पथरैया नदीको पानी गाउँमा पस्दा वडा नं ४ र ७ का एक सय पाँच घर विस्थापित भएका छन् भने दुई सय घरपरिवार प्रभावित भएका छन्। उनीहरु अहिले स्थानीयस्तरमा बनेका उच्च घरमा आश्रय लिएर बसिरहेका र डुबानबाट विस्थापित परिवारलाई गाउँपालिकाले सामूहिक मेस सञ्चालन गरी खानाको व्यवस्था गरेको जानकी गाउँपालिका विपद् व्यवस्थापन शाखाका संयोजक नेत्रप्रसाद जैशीले जानकारी दिए।

जोशीपुर गाउँपालिकामा पनि एक हजार घर डुबानमा परेका र त्यसको यकिन तथ्याङ्क आउन केही दिन लाग्ने गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले जानकारी दिए। अहिले गाउँपालिकाले बाढीबाट विस्थापित भएकालाई सुरक्षित स्थानतर्फ सारी उनीहरूलाई तत्कालीन राहत दिने काम भइरहेको अध्यक्ष चौधरीले बताए।

कैलारी गाउँपालिकाको पनि वडा नं १, २, ५, ७ र ८ डुबानमा परेका छन्। वडा नं १ र २ आंशिकरूपमा डुबानमा परे पनि ५, ७ र ८ वडाका सबै घर डुबानमा परेका कारण कति घर डुबानमा परे भनी तथ्याङ्कसमेत लिन सकिने अवस्था छैन। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा डुबानमा फसेकाहरूलाई उद्धार गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्थानीय पालिका तथा वडा कार्यालयको समन्वय र सहकार्यमा उद्धार गरिएको छ भने उनीहरूलाई तत्कालीन राहत प्रदान गर्ने काम पनि भइरहेको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ८ : १९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको