साउदीमा अलपत्र नेपाली भन्छन्– आमा बिरामी हुनुहुन्छ, ७ वर्षदेखि भेट्न पाएको छैन « Khabarhub

साउदीमा अलपत्र नेपाली भन्छन्– आमा बिरामी हुनुहुन्छ, ७ वर्षदेखि भेट्न पाएको छैन



दोहा– रोजगारीको सिलसिलामा साउदी अरब पुगेका चितवनका तीन नेपाली युवा अलपत्र परेका छन् ।

७ वर्षअघि साउदी अरब पुगेका कृष्णबहादुर विश्वकर्मा, सागर विक र दिपेन्द्र विक स्वदेश फर्किन नपाउँदा अलपत्र परेका हुन् ।

कम्पनीले लामो समयदेखि घर नपठाएका कारण अलपत्र परेको उनीहरूले बताए ।

साउदीको दम्माममा रहेको फला नासिर अल सैली कम्पनीमा ७ बर्षदेखि काम गरिरहेको र दुई बर्ष पुगेदेखि नै कम्पनीलाई घर पठाउन आग्रह गर्दा पनि अहिलेसम्म घर नपठाएको उनीहरूले खबरहबलाई बताए ।

कान्तिपुर मेनपावर कम्पनीमार्फत दुई बर्षे करार अवधिमा साउदी पुगेका उनीहरुलाई लामो समयदेखि घर फर्किन नदिएपछि आफूहरु कम्पनी छोड्न बाध्य भएको र अहिले आफूहरुसँग खाना किनेर खाने पैसा पनि नभएको कृष्णबहादुर विश्वकर्माले बताए ।

‘घर पठाउन अनुरोध गर्दा नपठाएपछि तीन दिन भयो कम्पनी छोडेर हिँडेको, त्यो कम्पनीमा बसेर के गर्नु? न खान छ न त काम नै छ, मालिकलाई सम्पर्क गर्दा फोन नै उठाउँदैन, त्यही भएर घर जाने केही उपाय पाइन्छ कि भने कम्पनीबाट निस्किएका हौँ, काम गरेको पाँच महिनाको तलव पनि पाएका छैनौँ,’ कृष्णबहादुरले खबरहबसँग भने ।

‘घर जान नपाएको ७ बर्ष भयो, घरमा आमा बिरामी भएर अस्पतालमा हुनुहुन्छ के गर्ने, हामी अप्ठारोमा पर्‍यौँ,’ उनले भने ।

आफूहरु कम्पनी छाडेर हिँडेपछि पूर्वी क्षेत्र दम्माममा रहेको नेपाली दूतावासका जनसम्पर्क अधिकारी नारायण पासवानलाई पनि जानकारी गराएको तर ‘हुन्छ हामी आउँछौ’ भन्ने जवाफ मात्र पाएको उनले बताए ।

‘हामी दुई दिनदेखि सिकू गार्डेनमा बसेका छौँ, दूतावासका कर्मचारीले पनि टार्ने काम मात्र गरेका छन्,’ उनीहरूले गुनासो गरे ।

साउदीमा अलपत्र परेका नेपालीहरू ।

अर्का पीडित सागर विकले दूतावासका अधिकारीलाई पटक–पटक फोन गरेको तर दूतावासले कहिले आफूहरूलाई थाहा छैन भन्दै तर्केको र कहिले मिडियामा गएर आफ्नो समस्या भन्न लगाएको बताए ।

‘हामी घर चाहिँ कसरी फर्किने हो, थाहा छैन,’ उनले भने ।

उनीहरूले तत्काल नेपाल फर्काउन सरोकारवालालाई पहल गरिदिन अनुरोध पनि गरे ।

यता दूतावासका जनसम्पर्क अधिकारी नारायण पासवानले भने उनीहरु कम्पनीमा ४/५ वर्षदेखि विना ईकामा चुप लागेर बसेकाले समस्या भएको बताए ।

‘उद्दार भन्नबितिक्कै सजिलो छैन, यहाँको सिस्टममा जानुपर्ने हुन्छ, दूतावासले सहजीकरण गर्ने हो, लेबर अफिसमा फाराम भर्ने उनीहरु आफै गएर हो,’ जनसम्पर्क अधिकारी पासवानले भने ।

‘मैले सम्झाएको थिएँ, उनीहरुको अफिस जानू भनेको थिएँ, केही भयो भने मलाई फोन गर्नू भनेको छु, नगएर हुँदैन,’ उनले भने ।

जसको ईकामा जहाँबाट बनेको छ, त्यहीँबाट घर फर्किनका लागि प्रक्रिया थाल्नुपर्ने उनले बताए । पहिले निवेदन दिएर प्रक्रिया पूरा नगरी दूतावासले केही गर्न नसक्ने पनि उनले बताए ।

‘दूतावास त अन्तिम विकल्प हो, उहाँहरू सम्बन्धित ठाउँमा पुग्नुभएकै छैन,’ उनले भने ।

अलपत्र परेका नेपालीले खाना खान नपाएको गुनासो गरे पनि दूतावास अधिकारी पासवानले भने त्यस्तो अवस्था नभएको दाबी गरे ।

‘७-८ वर्ष काम गरेको मान्छे एकैपटक खाना छैन, बाटोमा बसेको छु भन्न मिल्छ?  दूतावासको तर्फबाट सधै साथ सहयोग रहन्छ, उहाँहरुले पनि भनेअनुसारको प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १ : ०९ बजे

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक