र्‍याफ्टिङमा अन्तर्राष्ट्रिय पदक जित्ने नेपालको योजना « Khabarhub

र्‍याफ्टिङमा अन्तर्राष्ट्रिय पदक जित्ने नेपालको योजना


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने गरी साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ ।

साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले आगामी एशियन र ओलम्पिकमा र्‍याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको प्रतिक्रिया दिए ।

नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ । त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, मर्स्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन् ।

नेपालका छ हजारभन्दा बढी नदीनाला रहेकामा त्यसमध्ये दोस्रो स्तरका सहायक नदीमा पनि र्‍याफ्टिङ प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिनेछ । नेपालका नदीमा सन् १९६० देखि सुरु भए पनि सन् १९९० को दशकमा नेपाल भित्रनेमध्ये २० प्रतिशतसम्म पर्यटक जलयात्रामा निस्कने गरेको तथ्याङ्क छ ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीद्वारा गत फागुन अन्तिम साता त्रिशूलीमा भएको र्‍याफ्टिङमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र सचिव रेग्मी सहभागी भएसँगै साहसिक जलयात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने विषयले पुनःचर्चामा पाएको हो ।

सचिव रेग्मी भन्छन्, ‘त्रिशूलीमा भएको र्‍याफ्टिङमा सहभागी भएसँगै हामीमा स्वामित्व ग्रहण भएको छ, आयोजक र खेलाडीमा ठूलो उत्साह देखियो, विभागीय टिम मात्र होइन, व्यक्तिगत खेलाडीमा पनि प्रतिस्पर्धा गर्ने क्षमता उच्च छ, पर्यटक र साहसिक खेलकुदलाई सँगै अघि लैजानुपर्छ, यस विधामा नेपालको पदक जित्ने सम्भावना अधिक छ ।’

नेपालका र्‍याफ्टिङ प्रशिक्षक (गाइड)ले दक्षिण एशियामा मात्र नभई युरोप र अमेरिकामा समेत अनुभवी तथा साहसिकको परिचय बनाएका छन् । नेपालमा हाल र्‍याफ्टिङसँग सम्बन्धित संस्था ८२ को हाराहारीमा छन् भने गाइडको सङ्ख्या करिब ६०० रहेको अनुमान छ । नदीको बहाव उत्तरबाट दक्षिणतर्फ भएका कारण नेपालमा र्‍याफ्टिङ प्रतियोगिताको सम्भावना व्यापक छ ।

साहसिक खेलका रुपमा र्‍याफ्टिङ र कायकिङलाई अब राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिता समावेश गरिने बताउँदै सचिव रेग्मीले खेलनीति र वार्षिक कार्यक्रममा यस्ता खेलका लागि बजेट विनियोजन गर्ने तथा खेल एवं खेलाडीको क्षमता विकास गर्न प्रदेश र स्थानीय तहलाई आग्रहसमेत गरिने जानकारी दिए ।

प्रतियोगिता र पदकको प्रचुर सम्भावना

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीका अध्यक्ष गङ्गाप्रसाद नेपालले सुगमताका हिसाबले त्रिशूली र भोटेकोसी भए पनि र्‍याफ्टिङका लागि कर्णाली, सुनकोसी, तमोर विश्वका उत्कृष्ट १० भित्र पर्ने भएकाले प्रतियोगिताको प्रचुर सम्भावना रहेको बताए ।

तालिम प्राप्त तयारी अवस्थामा रहेकाबाहेक पनि नेपालमा नदी र ताल किनारमा रहेका माझी र बोटेलगायतका जातजातिको माछा मार्ने, डुङ्गा चलाउने र पौडी खेल्ने पुर्ख्यौली पेशा रहेकाले पनि नेपालमा जलयात्राका पथप्रदर्शक अर्थात् प्रशिक्षकको सङ्ख्या प्रशस्त छ ।

नेपालमा प्रशस्त नदीनाला भएर पनि र्‍याफ्टिङ हालसम्म राष्ट्रिय प्रतियोगितामै पनि सामेल हुन सकेको छैन । यद्यपि एजेन्सीको अग्रसरतामा विगतमा केही वर्ष भने भोटेकोसीको सुकुटे क्षेत्रमा १८ देशका खेलाडीसमेत सामेल गराई ह्वाइट वाटर च्यालेञ्ज र्‍याफ्टिङ र कायकिङ प्रतियोगिता सञ्चालन गरिएकामा द्वन्द्व र कोभिड–१९ का कारण हाल स्थगित छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब रु ३० लाख खर्च हुने तथा र्‍याफ्टिङ डुङ्गाको मूल्य करिब रु १० लाख एवं एक जना मात्र बस्न मिल्ने डुङ्गा कायकिङलाई रु डेढ लाख पर्ने संस्थाका पदाधिकारीले जानकारी दिए ।

केही वर्षअघि विश्वको सबैभन्दा लामो २१८ किमी र्‍याफ्टिङ प्रतियोगिता सञ्चालन लक्ष्य लिएकामा कोरोनाका कारण स्थागित हुन पुगेको अध्यक्ष नेपालले बताए। संस्थाका पूर्वअध्यक्ष निम मगर भन्छन्, ‘फ्रान्स र कोरियामा गएर पनि कायकिङ प्रतियोगिता खेलेको छ, प्रत्येक दिन डुङ्गा चलाउने भएकाले हाम्रा गाइडमा लामो अनुभव छ, प्रतियोगिता जित्ने सम्भावना पनि प्रशस्त छ, बजेट विनियोजन र राष्ट्रिय प्रतियोगिता हुनुपर्‍यो, विजयीलाई मनोबल बढाउन एशियन र ओलम्पिकमा पठाउन पर्‍यो ।’

बागमती सफाइ अभियानको प्रचारप्रसारका लागि विगतमा सुन्दरीजलदेखि गोकर्णसम्म मिडियालाई संलग्न गराएर प्रतियोगिता हुँदै आएकामा पछिल्ला वर्षमा त्योसमेत हुन सकेको छैन । निजी क्षेत्रकै पहलमा सिन्धुपाल्चोकको बलेफीमा र्‍याफ्टिङलगायत नदी खेल प्रशिक्षण केन्द्र स्थापना गरिएको छ ।

‘नीति र वातावरण बनाऔँ’

एजेन्सीका पूर्वध्यक्ष मेघ आले नेपालमा पहिलो पटक सन् २०६० को दशकमा र्‍याफ्टिङ  त्रिशूलीमा भएकामा त्यसमा अमेरिकन, जर्मन, फ्रेञ्च र बेलायतीको सहभागिता रहेको जानकारी दिए ।

उनी भन्छन्, ‘नदी पर्यटनका लागि त्रिशूली ऐतिहासिक नदी हो, धार्मिक, पर्यटन संस्कृति र सामाजिक महत्व बोकेका नदी क्षेत्रलाई सम्पदाका रुपमा घोषणा गरी र्‍याफ्टिङ प्रतियोगिता सञ्चालनका लागि नीति र वातावरण बनाउनुपर्छ ।’

नेपाल र्‍याफ्टिङका लागि संसारकै सर्वोत्कृष्ट गन्तव्य भएकाले र्‍याफ्टिङ र कायकिङ खेल विधालाई ठिक ढङ्गबाट अघि बढाइएमा ओलम्पिकबाट नेपालले छोटो अवधिमै पदक ल्याउन सक्ने प्रशस्त सम्भावना छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : १० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२