काठमाडौँ– आज दिनभर तत्कालीन नेकपामा रहेका सचिवालयका पाँच नेताहरूबीच छलफल, गठबन्धन त्यागेर एमालेमा आउन योगेश भट्टराईको आग्रह, गभर्नरको राजीनामा माग्दै आज पनि प्रदर्शन लगायतका समाचारले मुख्य स्थान पाए ।
यी हुन् आज दिनभरका प्रमुख घटनाक्रम:
अनधिकृत व्यक्तिको संग्लग्नताबारे छानबिन समितिले जनार्दन शर्मासँग छलफल गर्ने
आर्थिक वर्षको बजेट निमार्णका क्रममा करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले निर्वतमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ ।
सिहंदरबारका समितिको आज बसेको बैठकले शर्मालाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।
यस्तै निवर्तमान अर्थमन्त्री शर्मामाथि विशेष समितिले डिलिट भएको सीसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाउने भएको छ ।
गत जेठ १४ र १५ गतेको सीसिटिभी फुटेज रिकभरका लागि प्रक्रिया अघि बढाउन लागिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए । त्यस्तै पूर्वअर्थमन्त्री शर्मामाथि विशेष समितिले आज थप प्राविधिक राखी अनुसन्धान गरेको थियो ।
छानबिन समितिको हिजो बसेको बैठकले सीसीटीभी फुटेज फेला पार्न नसकिने निष्कर्ष निकालेको थियो ।
आर्थिक वर्ष २०७९/२०८० को बजेट निमार्णका क्रममा निर्वतमान अर्थमन्त्री शर्माले मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै सो विषयमा छानविन गर्न गत असार २२ गते ११ ससंदीय छानविन समिति गठन गरिएको थियो ।
माओवादी र समाजवादीका नेताबीच पार्टी एकताबारे छलफल
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकताबारे छलफल भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो ।
नेताहरुबीच चुनावी गठबन्धनबारे नेपाली कांग्रेस र एमालेले गरेका निर्णयबारे छलफल भएको थियो ।
बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अहिले गठबन्धनलाई कायमै राखेर अगाडि बढ्ने बताए ।
यसअघि अध्यक्ष दाहालले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्ता भऐका थियो ।
भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको विषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका थिए ।
गठबन्धन बनाउने सन्दर्भमा अरू पार्टीसँग पनि कुरा गर्ने सहमति भएको उनको भनाइ थियो । यस्तै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय सही भएको बताएका थिए ।
काँग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन एमाले नेता भट्टराईको आग्रह
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् ।
अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले आज आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आग्रह गरेका हुन् ।
तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको उनको भनाइ छ । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोडिदिएर बिर्सिनुपर्ने उनले बताए ।
सचिव भट्टराईले देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको जिकिर गरे ।
देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उनले तर्क गरे ।
राप्रपाका चार नेताले गरे पार्टी परित्याग
राप्रपाका चार नेताले पार्टी परित्याग गरेका छन् ।
दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले आज प्रेस विज्ञप्ति जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको भएको जनाएका हुन् ।
अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको उनीहरुले विज्ञप्तिमार्फत जनाएका छन् ।
पार्टीलाई नयाँ ढंगले लैजाने र बृहद् एकता बनाउने अभियान सुरु गर्ने प्रस्ताव गर्दा उल्टै पार्टी हित विपरीत लागेको आरोप लगाएकाले आफूहरुलाई अपमान महसुस भएर परित्याग गरेको नेता गिरीले बताएका छन् ।
यता पार्टीमा गलत गतिविधि गरेकाले उनीहरुलाई कारबाही गर्ने प्रस्ताव पार्टीको बैठकमा पेश भएको थाहा पाएपछि उनीहरुले पार्टी परित्याग गरेको हुनसक्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जिकिर गरेका छन् ।
आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्णः देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
६० औँ इन्जिनियर दिवसको अवसरमा नेपाल इन्जिसिनयर्स एशोसिएसनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने समेत बताए ।
उनले राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियरहरू नै भएको जिकिर गरे । प्रधानमन्त्री देउवाले पूर्वाधार निर्माणमा देखिएको समस्याहरुलाई समाधान गर्दै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्नु आजको आवश्यक भएकाले यसमा पनि इन्जिनियरहरुले भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरे । देशको आर्थिक विकासलाई सहयोग पु¥याउने गरी आधुनिक पूर्वाधार सुविधाहरूको विकासका लागि सबै पक्षबीच समन्वयन हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिसिनयर्सहरुको समस्या समाधान लागि इन्जिसिनयर्स परिषद्सम्बन्धी बिधेयक सदनमा रहेको र यहि अधिवेशनले पारित गर्ने बताए ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
यसैगरी बेस्ट इन्नोभेसन अवार्ड इन्जिनियर अनुप खनाललाई प्रदान गरिएको थियो । त्यस्तै अन्य इन्जिनियहरुलाई पनि सम्मान गरिएको थियो ।
काँग्रेस र एमालेको भागभण्डा मिलेपछि तिलोत्तमा नगरपालिकामा नगर सभाको बैठक बस्यो
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विषयगत समितिहरुमा नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागवण्डा मिलेपछि नगर सभा बैठक बसेको छ ।
नगरसभाको आजको बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारितसँगै विभिन्न चार वटा समिति संयोजक र सदस्यहरु चयन गरेको हो ।
यसअघि नगरपालिकाको विभिन्न समिति गठनका विषयमा विवाद हुँदा लगातार चारपटक नगरसभा बैठक स्थगित भएको थियो ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समितिका सदस्यसमेत नगरसभाले टुंगो लगाउनुपर्ने अडान राखेका थिए । तर नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले नगर सभाबाट बजेटमात्रै पारित गराउन खोजेपछि विवाद भएको थियो ।
गत आइतबार नगरसभा स्थगित भएपछि नाराबाजीका क्रममा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडाअध्यक्षलाई धकेलेर स्वीमिङ पुलमा खसालेका थिए । त्यसपछि स्थिति थप तनावग्रस्त बनेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ ।
भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको हो । महानगर क्षेत्रमा सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको मन्त्री राईले जानकारी दिए ।
यस्तै सङ्घीयता कार्यान्वयन नहुँदा यातायात व्यवस्थापनको सबै विषय मन्त्रालयले हेर्ने गरेकामा अहिले अन्तर प्रदेशको यातायात मात्रै मन्त्रालयको कार्यक्षेत्रमा रहेको उनले बताए ।
महानगरका क्षेत्रभित्र पर्ने सडक आगामी दिनमा महानगरले नै हेर्ने भए पनि हाल सङ्घीय सरकारले नै हेरिरहेको मन्त्री राईले बताए । यस्तै मन्त्री राईले मन्त्रालयको कार्यभार सम्हाल्दा मन्त्रालयका पुराना ठेक्काको समस्या समाधानका लागि एउटा समिति र चालक अनुमतिपत्र, इम्बोस्ड नम्बर प्लेट जडानलगायत यातायात क्षेत्रको समस्या समाधानका लागि अर्काे समिति बनाएका थिए ।
यसैबीच काठमाडौं महानगरपालिकाले भित्री सहरका लागि उयपयोगी ३ वटा दमकल ल्याएको छ ।
काठमाडौं महानगरको विपद व्यवस्थापन विभागले १० फुटको भित्री बाटोमा पनि जानसक्ने खालको दमकलहरु ल्याएको हो ।
एक वर्षअघि नै टेन्डर गरेर इन्डोनेसियाबाट ल्याउने गरी खरिद सम्झौता भएको थियो ।
गभर्नरको राजीनामा माग्दै आज पनि प्रदर्शन
विभिन्न पार्टी निकट विद्यार्थी संगठनहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले आज संयुक्त विज्ञप्ति जारी गरी चरणबद्ध आन्दोलन घोषणा गरेका हुन् । अधिकारीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानूनी राज्यको धज्जी उडाएको उनीहरुले आरोप लगाएका छन् ।
तत्काल अधिकारीले राजीनामा नदिए उनको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री र प्रतिनिधि सभाका सभामुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, यही साउन ४ गते नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशभरीका शाखा कार्यालयहरूमा कालो ब्यानर राख्ने, ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन गर्ने तथा अन्तक्रिया कार्यक्रम गर्ने, ६ गते देशैभरी क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।
यस्तै साउन ७ गते संघीय संसद सदस्यहरुलाई गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनी मार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम रहेको पनि विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
नेपालमा थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ८ सय ५७ पीसीआर परिक्षणका क्रममा २ सय ६८ जना र १ हजार ५ सय एन्टीजेन परीक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ६२ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार ९ सय ८२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्यासको मुस्लो
काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्दा ग्याससहितको लेदो निस्किएको छ ।
आज बिहान करीब १० बजे बोरिङ खन्ने क्रममा पाइप राख्दा ग्याससहितको लेदो निस्किएको स्थानीयहरुले जनाएका छन् ।
लेदो मिसिएको ग्यास निस्किँदा वरपरका घरका बासिन्दा प्रभावित भएका छन् । जमिनबाट ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका थिए । २ सय ८५ मिटर खन्नुपर्नेमा ३३० फिट बोरिङ खनेका कारण ग्यास निस्केको अनुमान गरिएको छ ।
आठ वर्षिया बालिकामाथि बलात्कारको घटना सार्वजनिक
मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिका माथि बलात्कार भएको घटना छ महिनापछि सार्वजनिक भएको छ ।
गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले बालिकालाई बलात्कार गरेका थिए । घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र भएकोे ६ महिनापछि घटना सार्वजनिक भएको हो ।
घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पीडित बालिकाका बाबुले असार ३० गते दिएको जाहेरीका आधारमा प्रहरीले कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजीमान पुरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पुरीमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए ।
पुरीलाई सोमबार पक्राउ गरिएको उनले बताए । मिलापत्र गराएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
माघ ५ गते पुरीलाई बाटोमा खेलिरहेकी बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेका बालिकाका आफन्तले बताएका छन् ।
बलात्कारको हल्ला गाउँमा फैलिएपछि सोही दिन ७ जना ८ जना गाउँका अगुवाले आरोपीलाई माफी माग्न लगाएर मौखिक मिलापत्र गराएका थिए ।
यस्तो छ आजको शेयर बजार
शेयर बजार परिसूचक नेप्से आज पनि झिनो अकंले बढेको छ ।
नेप्से आज १६ दशमलव २० अंकले बढेर २ हजार ४५ दशमलव ६३ विन्दुमा पुगेको हो । २ सय १३ कम्पनीका ५७ लाख १३ हजार २ सय ४८ कित्ता शेयर कुल २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३ सय २६ रुपैँयामा कारोबार भएको छ ।
आज सबै समूहको शेयर सामान्य अंकले बढेको छ । आज इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्ेको छ । यसतै गणपती लघुवित्तको ६ दशमलव ९ , ग्रिन भेन्चरको ५.५, आईसीएफसीको ५.२ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एभेरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र अरुणकाबेली क्रमश अगाडि रहेका छन् ।
प्रतिक्रिया