बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान | Khabarhub Khabarhub

बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ ।

मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल चार्ज नभएपछि आजकल दैनिक तीन चार घण्टा मात्र कुदाउने गरेको बताए । “बिजुली झ्याप्प झ्याप जान्छ, आइहाल्यो भने पनि भोल्टेज हुँदैन”, उनले भने, “महँगी बढेको बढ्यै छ, आम्दानी नभएपछि बिहान बेलुका छाक टार्न समस्या भइसक्यो ।”

अटो रिक्सा चलाएर पाँच जनाको परिवारको जीविकोपार्जन गर्दै आएका श्रेष्ठले सरकारले विद्युत् आपूर्ति नियमित नगरे भोकै बस्नुपर्ने स्थिति सिर्जना हुने बताए । विगतमा दैनिक सात घण्टा काम गरेर रु तीन हजार आम्दानी गर्दै आएका उनले हाल सातरआठ सयमा चित्त बुझाउनुपरेको बताए ।

श्रमिक, साना, ठूला उद्योग र आमसर्वसाधारण नियमित विद्युत् नहुँदा आमउपभोक्ता समस्यामा परेका छन् । एक हप्तादेखि अत्यधिक गर्मी बढ्नु र विद्युत् आपूर्ति ठप्प हुँदा उपभोक्ता मारमा परेका छन् ।

आज बिहान नेपाल विद्युत् प्राधिकरणको धुलाबारी वितरण केन्द्रमा विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै नेकपा (एमाले) ले वितरण केन्द्र घेराउसहित मागपत्र बुझाएको छ ।

एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताको नेतृत्व गर्दै प्राधिकरणमा मागपत्र बुझाउनुभएको हो । उनले मागपत्रमा छिनछिनमा विद्युत् आपूर्ति रोकिने गतिविधि तत्काल बन्द गर्न र नियमित आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको बताए ।

प्राधिकरणका धुलाबारी शाखा प्रमुख इन्जिनियर सुनिलकुमार महतोले आगामी दुई दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । उनले गर्मी याममा सिँचाइ, पङ्खा, फ्रिज र कलकारखाना धेरै चल्दा मागको अनुपातमा आपूर्ति कम भएको हुँदा ट्रान्सफर्मरले लोड धान्न नसकेको जानकारी दिए ।

एमालेका नगर अध्यक्ष राजु कार्कीले प्रतिबद्धताअनुरूप दुई दिनभित्र विद्युत् आपूर्ति नियमित हुन नसके प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ११ : १६ बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा