‘प्रदेश खारेजी र स्थानीय तहको पुनः संरचना गर्नुपर्छ’ « Khabarhub

समीक्षा बास्कोटासँग अन्तर्वार्ता

‘प्रदेश खारेजी र स्थानीय तहको पुनः संरचना गर्नुपर्छ’

‘जनताले अझै पनि राम्रा योजना ल्याएर आएमा हामीलाई भोट दिन्छौँ भन्नुभएको छ’



विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट रवीन्द्र मिश्रले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा समीक्षा बास्कोटा चयन भएकी छिन् । योसँगै विवेकशील साझा पार्टीको अबको बाटो कस्तो हुनेछ भन्नेमा पनि धेरैलाई चासो रहेको छ । आगामी निर्वाचनमा विवेकशील साझा पार्टी कसरी अगाडि बढ्छ, एजेन्डाहरु के के छन् लगायतका विषयमा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटासँग खबरहबका लागि  चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको अंशः

मङ्सिर ४ गते चुनावको मिति घोषणा भएपछि सबै राजनीतिक दलहरूलाई चुनाव लागेको छ, तपाईँहरूको दलको के छ ?

हामीलाई पनि चुनाव लागेको छ किनभने हामीले दल दर्ता गर्नुपर्ने एउटा प्रक्रिया भर्खरै पूरा गरेका छौँ ।

दल दर्ता निर्वाचन आयोगमा गरेपछि मात्र हुने हो कि उम्मेदवारको छिनोफानो कसरी गर्दै हुनुहुन्छ ?

दल दर्ता निर्वाचन आयोगको सामान्य प्रक्रिया हो । विवेकशील साझा पार्टीभित्र विगतदेखि विभिन्न प्रतिरोधहरू थियो । त्यसलाई अन्त्य गर्दै केन्द्रीय कमिटीको बैठक बस्दै अगाडि बढ्ने महत्त्वपूर्ण कुरा हो र अब हामी सबै मिलेर तराजु चिन्ह लिएर जानुपर्छ भन्नेमा सबैको एकमत छ । कहाँ कस्ता कस्ता उम्मेदवार उठाउने भनेर छलफल गर्नुपर्छ । हामीले उठाएका उम्मेदवाररू अरूभन्दा कम हुने तर अब्बल हुने सबै जनाले थाहा पाउनुभएको छ ।

पहिला वैकल्पिक शक्ति भनिने पार्टी अहिले स्थानीय तहको चुनावमा पनि खस्किनुभयो, आगामी चुनावसम्म पार्टीलाई अगाडि लैजान कस्ता चुनौतीहरू देख्नुभएको छ ?

चुनौतीहरू धेरै छन् किनभने त्यहाँ विचारका विमतिहरू छन् । ध्रुवीकरणका कुराहरू छन्  यो ५ वर्षको वैकल्पिक राजनीतिले सबै कुरा सिकायो । एकै पटक हामी माथि पुग्यौँ र एकै पटक सानो भयौँ । अब त्यसलाई माथि लैजानु पर्दछ सबै चुनौतीलाई सहजै समाधान गर्न सक्ने विश्वासका साथ हामी अगाडि बढेका छौँ ।

हिजोको नै शक्ति छ भन्ने तपाईँहरूमा छ तर आम जनताले यो पार्टी अब हरायो भन्नु हुन्छ नि ?

जनताले हामीलाई अझै पनि राम्रा योजना अगाडि सारेर आउनुभयो भने हामीले भोट दिन्छौँ भन्नुभएको छ । हिजो गरेका कामका आधारमा जनताले हामीबाट धेरै आशा गर्नुभएको छ । पार्टी यस्तो खस्केको अवस्थामा पनि उहाँहरूबाट जुन मतदाताले हालेको मतका आधारमा हामी फेरि उठ्ने हौसला मिलेको छ ।

अहिले गठबन्धनको कुराहरू धेरै उठेका छन् सबै पार्टीहरू आफ्नो विचार मिल्ने शक्तिसँग मिल्नुपर्छ भनेर लागेका छन् । तपाईँहरू पनि एक्लै अगाडि जानुहुन्छ कि विचार मिल्नेसँग एकता गरेर बढ्नुहुन्छ ?

हामी विभिन्न चरणमा बैठक बसेका छौँ । हामी एक्लैभन्दा पनि भर्खरै आएका पार्टीहरू स्वतन्त्रहरूसँग सहकार्य गरेर अगाडि जाने प्रक्रियामा छौँ । २०७४ सालमा विवेकशील साझाले रोपेको बिउका कारण स्वतन्त्रप्रति लहर आएको छ । हामी त्यसमा खुसी छौँ । यो सबैलाई समेटेर भ्रष्ट्राचार, बेथितिका विरुद्ध हामी कसरी उभिने भनेर खुला छलफल गर्नेछौँ ।

केन्द्रीय संयोजक मिलन पाण्डेले एक पटक एकीकृत समाजवादीसँग एकता गर्ने भनेर भन्नु भयो रे, पछि यो हरायो अहिले के छ यो एकताको विषय ?

एकीकृत समाजवादीसँग एकताको विषय मलाई थाहा छैन र मिलन जी गए पनि उहाँले जे जति प्रयास गर्नुभयो त्यो उहाँको व्यक्तिगत प्रयास हो । उहाँको अहिले हालको स्थितिमा विवेकशील साझामा कुनै भूमिका छैन । उहाँको लक्ष्यहरू र मुद्दाहरूका आधारमा पछि सहकार्य गर्न सक्छौँ । उज्ज्वल थापाको देहान्तपछि यो विवेकशीलको असली को हो भन्ने किसिमले उहाँहरू भित्र पनि द्वन्द्व छ । अहिले हाम्रो पार्टीमा पनि असली हामी हो भन्ने धेरै हुनुहोला । त्यसलाई हामीले दल एकीकरण गरेर ल्याएको हो र को असली हो हैन भन्ने छैन यो साझा हो ।

विवेकशील साझाले राजा मान्छ कि मान्दैन र चुनावमा जाँदा मुख्य एजेन्डा कुन हुन्छ ?

विवेकशील साझाले संघीयता खारेज गरेर अन्य मुद्धाहरु उठाएर केन्द्रीय समितिले पास गरेको थियो राजाको कुरामा यो हामी मान्दैनौँ । राजाको एजेन्डा हामी उठाउँदैनौँ । यो निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्षबाट राजीनामा दिएपछि ल्याएको व्यक्तिगत विचार  हो । अहिले उहाँ पार्टीमा सामान्य सदस्य रहनुभएको छ । हामीले उहाँलाई सम्मान गर्छौँ ।

तपाईँहरूले ‘विचारभन्दा माथि देश’ भनेर रवीन्द्र मिश्रको लाइनलाई फलो गर्नुभएन भने उनी केही समूह लिएर राजेन्द्र लिङ्देलसँग जान्छन् भन्ने कुरा आएको छ यसले तपाईँहरू कमजोर हुने स्थिति आएको हो ?

जो कोही व्यक्तिले आफ्नो विचार गर्न पाउँछ । तर हामीलाई त्यस्ता धेरै चुनौतीहरू छन् तीलाई हामी चिर्न सक्छौँ भनेर अगाडि बढ्छौँ । उहाँको व्यक्तिगत धारणामा उच्च सम्मान छ । तर विवेकशील साझामा राजको मुद्धाहरु लिएर अगाडि जाँदैन ।

हामीले लिएको ‘विचारभन्दा माथि देश’ दुई तिहाइ बहुमतले पारित ग¥यौँ ।  त्यसमा प्रदेश संरचना खारेजी र स्थानीय संरचनाको सुदृढीकरण भनिएको छ र धर्मको सवालमा जनमत सङ्ग्रह भनेर तत्कालीन केन्द्रीयले पास गरेको डकुमेन्ट हो । त्यो महाधिवेशनमा गएर छलफल हुन्छ । कोही व्यक्ति उहाँको विचार मन परेर जानुहुन्छ भने केही छैन । हैन, यो सही हो भनेर यही बस्नुहुन्छ । त्यो सबैको स्वतन्त्रता हो । भोलिको दिनमा आउने चुनौतीहरूको आंकलन गरेर आजको भोलिको लागि नै निर्णय गर्न सकिँदैन । हामीले राम्रो काम गरेर जनताको माझमा जाने कुरा महत्त्वपूर्ण छ किनभने नागरिकले हामीले गर्ने काम नियाल्नुभएको छ । त्यसैले उहाँहरूलाई हामीले निराश बनाउनु हुँदैन ।

कानुन र संघीयता मान्नुहुन्छ कि हुँदैन ?

हामीले नेपालमा भएपछि ऐन कानुन मान्दिनँ भन्न पाइँदैन मान्नुपर्छ तर पार्टीले बोक्ने विचार फरक हुन सक्छ । जस्तो हामी संघीयता मान्छौँ भन्दा संघीयतामा प्रदेश खारेजी र स्थानीय तहको पुनः संरचना भनेका छौँ ।

तपाईँहरूलाई संघीयता मन परेको छैन भने त स्थानीय तहलाई अधिकार सम्पन्न गरौँ र केन्द्रबाट महत्त्वपूर्ण काम गरौँ भन्नुपर्‍यो नि ?

हामीले भनेको प्रदेश सरकार पेन्डुलम छ । काम कर्तव्य र अधिकार  केन्द्र सरकारलाई छ र कि त स्थानीय सरकारलाई छ ।  बीचको प्रदेश सरकारको काम छैन र त्यो सरकार राखेर हामीलाई आर्थिक भार थपेको छ । नागरिकहरूले स्थानीय तहलाई सुदृढीकरण गर्नुपर्छ भनेको छ तर प्रदेश सरकालाई धेरै प्रश्न उठेको छ । यो बढी खर्चिलो भयो व्यक्तिगत प्रयोजनका लागि प्रयोग भयो भनिएको छ । यस्तो कुरा हामीले उठाएका छौँ ।

यस पटकको चुनावमा तपाईँहरूको एजेन्डा के हो ?

हामी सामूहिक छलफलबाट हामी सार्वजनिक गर्छौँ । अहिले यो प्रदेश सरकार खारेजी र शिक्षा, स्वास्थ्य राज्यको दायित्व हुनुपर्‍यो ।

रवीन्द्र मिश्रलाई सबै जनाले पार्टीको कानुन विपरीत काम गरेर विधान र संरचनालाई  ध्वस्त बनाएको आरोप लगाउँदा तपाईँले पनि यो आरोप लगाउनुहुन्छ कि अझै मिल्छौँ भन्नुहुन्छ ?

उहाँले विचार ल्याउँदा म केन्द्रीय कमिटीमा विचार राख्छु र अल्पमतमा परे भने पनि स्विकार्छु भन्नुभएको थियो । त्यसैले आरोप लगाउनु हुँदैन । उहाँले केन्द्रीय समितिबाट र साथीभाइबाट छलफल गरे नै गर्नुभएको हो ।(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ११ : ०७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको