करेन्ट लागेर पाँच जनाको मृत्यु « Khabarhub

 करेन्ट लागेर पाँच जनाको मृत्यु


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– तराई मधेसका जिल्लामा अत्यधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति बिघ्न छ कि पङ्खाबिना एकै क्षण बस्न पनि गाह्रो छ ।

सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादवका छोरा १८ वर्षीय रामनरेश यादव आज घरबाहिर निस्कन सकेनन् । टन्टलापुर घाम र गर्मीका कारण घरबाट बाहिर निस्कन नसकेका उनी हावा खान घरकै बरन्डामा बसे । असह्य गर्मीका कारण पर्खालमा टेबल पङ्खा राखेर हावा लिन थाले । अचानक हातले पङ्खामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भए । घाइतेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइयो । चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे ।

करेन्ट लागेर सप्तरीमा योसमेत नयाँ आर्थिक वर्षमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साउन १८ गते कञ्चनरूपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको सप्तरीवासीले बिर्सिएका छैनन् । कञ्चनरूप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भनिने सौदानन्द सरदारको समेत मृत्यु भएको थियो । घर आँगनमा रहेको ट्युबवेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो ।

यसैगरी सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुखी साहका छोरा ५६ वर्षीय शिवशंकर साहको समेत साउन १७ गते करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी उनको मृत्यु भएको हो । खडक नगरपालिका–११ लालपुरमा साउन ९ गते खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर ६० वर्षीय शत्रुघ्न खङ्ग मण्डलको ज्यान गयो ।

लापरवाहीकै कारण सप्तरीमा गत एक वर्षको अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । यो वर्षको सुरुआतमै पाँच जनाको करेन्ट लागेर मृत्यु भइसकेको सप्तरी प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ को तथ्याङक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

ज्यान गुमाउनेमा चार महिला, छ पुरुष र दुई बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको छ । घाइते हुनेमा १२ महिला, आठ पुरुष र छ बालक थिए ।

ज्यान गुमाउनुको मुख्य कारण मानिसहरूको लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष छ । सावधानीपूर्वक बिजुलीको प्रयोग गर्न, बिग्रेका विद्युत् उपकरणको समयमै मर्मत गरेर उपयोग गर्न र गैरकानूनी तरिकाले बिजुलीको दुरुपयोग नगर्न सप्तरी प्रहरीले अपिल गरेको छ । 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ५ : ३८ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल