काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. संविधान दिवस दिवस मनाइँदै
आज असोज ३ अर्थात् संविधान दिवस, विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो। नेपाली जनताले आफ्ना प्रतिनिधिसभामार्फत निर्माण गरेको संविधानले आज ८औं वर्ष टेकेको छ। संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो। नयाँ संविधान अनुसार मुलुकमा दुई वटा स्थानीय निर्वाचन सम्पन्न भइसकेका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाले पहिलो कार्यकाल पूरा गरेका छन्। तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) का बीचमा भएको शान्ति सम्झौता अनुरुप संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत संविधान जारी भएको थियो। यद्यपि नयाँ संविधान जारी भएको सात वर्ष बित्दा पनि समानुपातिक समावेशी सिद्धान्तसम्बन्धी कानुन बन्न भने सकेको छैन। जसका कारण पिछडिएको क्षेत्रका नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन्।
२. संविधान दिवसमा शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस एवं राष्ट्रिय दिवसको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन्। यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतले पनि संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिएका छन्।
३. संविधान दिवसका अवसरमा ९९८ जनालाई विभूषण
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। गत शुक्रबार बसेको मन्त्री परिषद् बैठकको सिफारिसमा संविधान दिवसका अवसरमा आज राष्ट्रपति भण्डारीले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा विभूषण प्रदान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ। यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ।
४. संविधान दिवसका अवसरमा ६८१ कैदीको कैद सजाय मिनाहा
आठौँ संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय आजबाट लागू हुने गरी माफी मिनाहा गरेकी हुन्। संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको राष्ट्रपतिले जनाएको छ।त्यस्तै, २१ जनालाई सजाय माफी दिइएको छ।
५. समानुपातिकतर्फ बन्दसूची पेस गर्ने अन्तिम दिन
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ। पहिलो दिन हिजो साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका आयोगले जनाएको छ। प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपासहितले भने आज बन्दसूची बुझाउने भएका छन्। प्रमुख दलमध्ये एमालेले मात्र समानुपातिक बन्दसूचीको नाम तयार पारेको छ। नेकपा एमालेको हिजो बसेको सचिवालय बैठकले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो। आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन्। निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ। दलहरूले बढीमा प्रतिनिधिसभातर्फ बढीमा १ सय १० र प्रदेशसभाका लागि २ सय २० जनाको नाम आयोगमा बुझाउनुपर्नेछ। दलहरूले असोज १६ सम्म सूचीमा नाम संशोधन गर्न सक्ने पनि आयोगले जनाएको छ।
६.काठमाडौँ महानगरपालिकाले संरचना भत्काउन नरोक्ने
टुकुचामाथिका अनधिकृत अन्य संरचना भत्काउने कदम नरोकिने काठमाडौँ महानगरले जनाएको छ।टुकुचा खोलामाथि बनेका केही घर तत्काल नभत्काउन भनी उच्च अदालत पाटनले हिजो अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि महानगरले टुकुचामाथिका अनधिकृत अन्य संरचना भत्काउने काम नरोकिने स्पष्ट पारेको हो। महानगरले अदालतको स्टे अर्डरको समय नसकिँदासम्म खाली भागमा मात्रै टुकुचा खोतल्ने जनाएको छ। त्यसका लागि कमलादीदेखि जय नेपाल हलसम्मको खोलामा रातिमा समेत काम गर्न महानगरले बत्ती जडान गरेको छ। महानगरले नदीमाथि बनेका घरटहरा भत्काउन बिहीबारदेखि डोजर चलाएपछि टुकुचासँग जोडिएका जयनेपाल हलस्थित पे्रसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोलाविक्रम थापा, उत्तरमान लामासमेतले शुक्रबार रिट दायर गरेका थिए। उच्च अदालत पाटनले बिहीबार दोहोरो छलफलका लागि विपक्षी महानगरपालिका र निवेदकलाई पेसी तोकेको छ।
७. जापनिज इन्सेफ्लाइटिसले मृत्यु
चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ। अन्य एक जना सङ्क्रमित थपिएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघिनै मृत्यु भएको ढिला गरी थाहा भएको हो। स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईका अनुसार योसँगै जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। यसअघि मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी थिइन्। चापागाईका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको हो।
८. एलिजाबेथको अन्त्येष्टि आज
बेलायतकी दिवगंत महारानी एलिजाबेथको द्धितीयको आज अन्त्येष्टि गरिँदै छ। अन्त्येष्टिका दिन आज बेलायतका सार्वजनिक बिदा दिइएको छ। महारानी एलिजावेथको शव राखिएको पेटिका त्यहाँको स्थानीय समयअनुसार आज बिहान शाही नौसेनाको १२३ वर्ष पुरानो ‘गन क्यारेज’ मा राखेर वेस्टमिन्स्टर आबी गिर्जाघरमा लगिने बीबीसीले जनाएको छ। त्यसपछि बिहान ११ बजे राजकीय अन्त्येष्टि समारोह सुरु हुने जनाइएको छ। महारानीको अन्त्येष्टि समारोहमा भाग लिन विश्वका नेताहरू लन्डन पुगेका छन्। विश्व नेताहरू एकैपटक बेलायतमा भेला भएको यो दसकौँ पछिको संयोग हो।
९ . चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने
राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन्। सीबीएससगँको अन्तर्वार्ताका क्रममा राष्ट्रपति बाइडेनले चीनले ताइवानमा आक्रमण गरेको खण्डमा अमेरिकी सेनाले त्यसको प्रतिरोधमा रक्षा गर्ने बताएका हुन्। उनले ताइवानलाई रक्षा गर्ने बताइरहँदा अमेरिकाको ‘एक चीन नीति’मा भने कुनै पनि परिवर्तन नभएको उल्लेख गरेका छन्। उनले आफूहरू एक चीन नीतिमा सहमत भएको र त्यसमा हस्ताक्षर गरेकाले ताइवानको मामिलामा उनीहरुको निर्णय लिने अधिकार रहेको बताए। आफूहरुले ताइवानलाई स्वतन्त्र बन्न पनि नउक्साएको उनले दाबी गरे।
१०. नेपाल र बंगलादेशबीच भिड्दै
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश साँझ ५ बजे भिड्नेछन्। महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेको हो। महिला साफले आज नयाँ च्याम्पियन टोली समेत पाउनेछ। पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो। नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ। तर, यस पटक भने भारत सेमिफाइनलबाटै घर फर्किएको छ।प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो। बंगलादेशले भने भुटानलाई सेमिफाइनलमा स्तब्ध बनाएको थियो।
प्रतिक्रिया