निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुन्छ : प्रधानमन्त्री देउवा « Khabarhub

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुन्छ : प्रधानमन्त्री देउवा


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने र यसले हाम्रो संविधानलाई चलायमान बनाउनाका साथै  जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।

निर्वाचन गराउने कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको समृद्धि, सम्पन्नता र आत्मसम्मान अभिवृद्धि नै आफूहरूको एकमात्र अभिष्ट भएको स्पष्ट पारे। ‘संविधान दिवसका अवसरमा उक्त लक्ष्य पूरा गर्न कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई सर्वाेपरी ठान्दै विकास र सम्मुन्नतिको महायज्ञमा जुट्न म सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्रलगायत सबैमा आह्वान गर्दछु’, उनले भने, ‘अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रुपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तर सुधार नै हो।’

प्रधानमन्त्री देउवाले  जनताको जीवनस्तरमा सुधार ल्याई मुलुकको स्वाधीनता र स्वाभिमानलाई संरक्षण र संवर्द्धन गर्न तथा समृद्धिको सपनालाई चाँडो पूरा गर्ने गरी काम गर्न जरुरी रहेको भनाइ व्यक्त गरे। लोकतन्त्र भनेको जनताले जनताद्वारा जनताकै लागि उनीहरूको इच्छाबमोजिम गरिने शासन हो भन्दै उनले लोकतन्त्रमा सम्पूर्ण निर्णायक शक्ति सार्वभौम जनतामै रहने हुनाले राज्यका सबै तहका संरचनामा देशका सबै वर्ग तथा समुदायको समान पहुँच र सहभागिता सुनिश्चित हुने स्पष्ट गरे।

प्रधानमन्त्री देउवाले भने, ‘लोकतन्त्रमा सबै जनता संविधान र कानुनले सुनिश्चित गरेको हकअधिकार समानरुपमा उपभोग गर्न सक्ने हैसियतमा हुनुपर्छ। शासन प्रणालीमा सबै जनता अटाउने र राज्यका अवसरहरुमा सबैले समान हिस्सा पाउने व्यवस्था यसको आधारभूत चरित्र हुनुपर्छ। कसैलाई पनि नछोड्ने सबैलाई सँगसँगै लिएर अघि बढ्ने विशेषता यसको हुनुपर्छ।’

संविधानको कार्यान्वयनले गति लिएको र मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार अग्रसर रहेको बताउँदै उनले राजनीतिक परिवर्तनसँगै यस प्रणालीलाई संस्थागत गर्न हाम्रा सोच, काम गराई, प्रवृत्ति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए।

संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले  संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए।

उनले विनासकारी भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण नसकिँदै कोभिड-१९ को महामारी र डेङ्गुको प्रकोपबाट थप पीडित हुनुपरेको उल्लेख गर्दै सबैको समन्वयात्मक प्रयासबाट महामारी नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसहित उच्चपदस्थ पदाधिकारी र कर्मचारीको उपस्थिति थियो।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ११ : ५८ बजे

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले