रोपेको एक वर्षमै स्याउ फल्न थालेपछि किसान दंग « Khabarhub

रोपेको एक वर्षमै स्याउ फल्न थालेपछि किसान दंग


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको निसीखोला गाउँपालिका-५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाएका थिए । 

उनले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाएका स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा सर्‍यो । दश वर्षअघि उनले लगाएका स्याउका बिरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहेका जुमबहादुरले २०५८ सालमा अवकाशपछि थालनी गरेका स्याउखेतीप्रतिको रुचि उनमा अझै घटेको थिएन । स्याउखेतीका विषयमा जागिरे जीवनमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसकेका जुमबहादुरले जनआन्दोलनपछि परम्परागतरुपमै स्याउखेती थालेका हुन् । 

स्याउ राम्रो उत्पादन हुन नसक्दा उनको मात्रै हैन निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन्  तर जुमबहादुरले आफ्नो व्यक्तिगतरुपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने तयारी गरे । पन्ध्र रोपनी जग्गामध्ये आठ रोपनी जग्गामा स्याउखेतीका लागि तयारी अवस्थामा राखिएको  छ । पाँच रोपनी जग्गामा नयाँ दुई सय २० बिरुवा र पुराना ५० वटा स्याउका बिरुवा छन् ।

कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात्का कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाए पनि कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएका आधुनिक प्रजातिको स्याउका बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । परीक्षणका लागि लगाएको स्याउखेती एक वर्षमै सफल बनेको पाइएको छ । सानो बोटमा धेरै स्याउ फल्नेगरी विकास गरिएको इटालियन प्रजातिको स्याउले एकै वर्षदेखि  उत्पादन दिन थालेपछि ढोरपाटन क्षेत्रको हावापानीमा उक्त स्याउको परीक्षण सफल भएको ढोरपाटन स्याउ ब्लकका अध्यक्षसमेत रहेका जुमबहादुरले बताए ।

‘मैले स्याउखेती गर्न थालेको धेरै भयो, परम्परागत स्याउ फस्टाउन सकेन तर एक वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको बिरुवामा स्याउ फलेको छ, अहिले एक सय २० बिरुवा लगाइसकेको छु, एक वर्षअघि लगाइएका सय बोटमध्ये २१ बोटमा स्याउ फलेको छ’, जुमबहादुरले भने, ‘यहाँका किसानले परम्परागत तरिकाले लगाएका स्याउको उत्पादन हावापानीअनुसार राम्रो उत्पादन नहुँदा समस्या थियो, अहिले उक्त नयाँ प्रजातिको स्याउका बिरुवा अनुदानमा प्राप्त गरेकामा एक वर्षमै स्याउ फल्दा दङ्ग परेका छन् ।’

बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौं भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ । ढोरपाटन उपत्यकाका सेन्तुङ, श्यालपाखे र निशेलढोर, मसलगायत स्थानमा परम्परादेखि नै फाट्टफुट्ट स्याउखेती हुने गरेपनि त्यसले व्यावसायिकता पाउन सकेको थिएन ।

आर्थिक वर्ष २०७५-७६ र २०७६-७७ मा ढोरपाटन नगरपालिका-९ र निसीखोला गाउँपालिका-५ लाई मसेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रमसमेत चलाइ यहाँका किसानलाई स्याउखेतीप्रति जागरुक बनाइएको थियो । ढोरपाटन क्षेत्रमा उक्त इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिएकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि किसान खुसी भएका छन् । 

ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले  एक सय ८१ वटा बिरुवामध्ये  केही बिरुवामा एक वर्षमै स्याउ फल्न थालेको बताए ।
यस्तै ढोरपाटनकै जीवन पुनले पनि परीक्षणका रुपमा उक्त प्रजातिको एक सय १६ बिरुवा लगाएकोमा १६ वटाको  हुर्काइ राम्रो देखेपछि थप एक सय बिरुवा लगाएका हुन् । 

ढोरपाटन स्याउ ब्लकका अध्यक्ष जुमबहादुरले यो वर्ष ढोरपाटनका स्याउ लगाउन इच्छुक किसानलाई कृषि ज्ञानकेन्द्रमार्फत चार हजार ५०० बिरुवा माग गरेको उक्त केन्द्रकाका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।  

‘छिटो फल्ने, थोरै जग्गामा धेरै बिरुवा लगाउन सकिने र आधुनिक प्रजातिका स्वादिलो स्याउ फलाउन सकिन्छ’, उनले भने, ‘ढोरपाटन, निशेलढोर, तमानको उच्च भाग र जैमिनीको उच्च भागबाटसमेत उक्त स्याउका बिरुवाको माग भएको छ, स्याउ किसानको उत्साहलाई ज्ञानकेन्द्रले मनन गरेको छ, बागलुङको हावापानीमा इटालीबाट ल्याइएको बिरुवा राम्रोसँग हुर्किएर फल दिएको छ ।’ उक्त बिरुवा डेढदेखि दुई मिटरसम्म अग्लो हुन्छ । 

ढोरपाटन क्षेत्रको हावापानीमा इटालियन प्रजातिअन्तर्गतका चार प्रकारका आधुनिक स्याउको परीक्षण सफल भइसकेकाले व्यावसायिक उत्पादन बढाउनका लागि किसानलाई पहिलो वर्ष ५० र अहिले ७५ प्रतिशत अनुदानमा बिरुवा दिन थालिएको प्रमुख भट्टराईले बताए । 

इटालियन प्रजातिको एउटै बिरुवाको बजार मूल्य एक हजार २०० रहेको छ भने अहिले ७५ प्रतिशत अनुदानमा बिरुवा वितरण गर्दासमेत किसानको लागत प्रतिबिरुवा तीन सय पर्ने गरेको छ । 

परम्परागतरूपमा लगाइएको स्याउको बोटले तीन वर्षदेखि चार वर्षसम्ममा मात्रै उत्पादन दिन थाल्ने गरेकामा आधुनिक प्रजातिको स्याउको बिरुवाले एक वर्षमै उत्पादन दिन थालेपछि यहाँका स्याउ किसान हर्षित भएका छन् । उक्त बिरुवाको मनाङ र मुस्ताङमा समेत उच्च माग रहेको छ । थोरै स्थानमा धेरै स्याउ छोटो समयमै फलाउनका लागि इटालियन स्याउको बिरुवा उपयुक्त छ ।

छुट्टाछुट्टै स्याउखेती गर्दा तारबार र पर्खालमा धेरै लागत लाग्ने भएकाले सामूहिकरुपमा नै स्याउ खेती गर्ने अभियानमा निशेलढोर र ढोरपाटनका किसान अग्रसर भएका छन् । स्थानीय जातको स्याउलाई हाइब्रिड गरेर उक्त प्रजातिको स्याउका बिरुवा उत्पादन गरिएको हो । लगाएको एक वर्षमा फल्न थाल्ने उक्त इटालियन प्रजातिका स्याउ सुरुमा १० केजीदेखि सुरु भएर बयस्क रुखमा ८० केजीसम्म फल्ने गर्दछ ।

–खेमराज गौतम रासस

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : २० बजे

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा