आइटिएफ तेक्वान्दोमा आर्मीको अपराजित यात्रा कायमै « Khabarhub

आइटिएफ तेक्वान्दोमा आर्मीको अपराजित यात्रा कायमै


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ । तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो ।

प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा गरी आर्मीले कूल २४ पदक हासिल गरेको हो ।

आर्मीका लागि एकल प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा रिना धिमाल, ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा पूर्णबहादुर मगर, ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा सुमन मस्राङ्गी मगर र ‘ब्ल्यू बेल्ट’तर्फ धनसिंह परियारले स्वर्ण दिलाए ।

भीमबहादुर तामाङले प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ पहिलो डान र ७६–८० किलो तौल समूहको एकल स्पाइरिङमा गरी दुई स्वर्ण जिते । ‘ब्ल्यू बेल्ट’तर्फ सुस्मिता श्रेष्ठ र ‘रेड बेल्ट’मा निकिता धिमालले स्वर्ण पदक हासिल गरिन् । धिमालले एकल स्पाइरिङमा पनि आर्मीलाई स्वर्ण दिलाइन् । ५६–६० किलो तौल समूहको खेलमा एक नं प्रदेशकी सजिना तामाङलाई पराजित गर्दै धिमालले स्वर्ण हात पारेकी हुन् ।

आर्मीकै कन्याम लिम्बूले ६५ किलोभन्दा माथिको तौल समूहको एकल स्पाइरिङमा जित निकाल्दै स्वर्ण जितिन् । पुरुषतर्फ ६६–७० किलो तौल समूहबाट लिलाधर बस्नेतले आर्मीलाई स्वर्ण दिलाए । पुरुष टिम प्याटर्नमा पनि आर्मीले स्वर्ण पायो ।

बुधबार भएको टिम स्पाइरिङमा पनि बागमती प्रदेशलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हात पार्‍यो । महिलातर्फको स्वर्ण भने बागमतीले जित्यो । आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले सातौँ राष्ट्रिय खेलकुददेखि आफ्नो टिमले लगातार च्याम्पियन यात्रा जारी राखेको बताए ।

स्वर्ण पदक विजेता आर्मीका लीलाधर बस्नेतले राष्ट्रिय खेलकुदमा आफ्नो स्वर्ण संख्या चार पुर्‍याए । सातौँमा पहिलो स्वर्ण पाएका उनले आठौँ खेलकुदमा दुई स्वर्ण पदक जितेका थिए । बस्नतेले अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य रहेको सुनाए ।

प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कास्य पदक जित्यो । एक नं प्रदेशले तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदक हात पार्‍यो । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कास्य पायो ।

सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पार्‍यो । नेपालले पुलिसले चार कास्य पदक जित्दा मधेस प्रदेशले एउटा मात्र कास्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी प्रतिस्पर्धा गरेका थिए । पदक विजेता खेलाडीलाई २३ नं बाहिनी अड्डाका सहायक रथी रामप्रसाद अधिकारी, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायतले पदक र पुरस्कार प्रदान गरेको आइटिएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

स्थानीय बाङ्गेचौर कभर्डहलमा शनिबारदेखि सुरु भएको प्रतियोगिता बुधबार सकिएको प्रतियोगिता व्यवस्थापन आयोजना समितिका सदस्य एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ७ : ३१ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज