‘पाल्पाका किसानलाई सधैँ फड्के कीराकै समस्या’ | Khabarhub Khabarhub

‘पाल्पाका किसानलाई सधैँ फड्के कीराकै समस्या’


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाल्पा – रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो। वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन्।

‘दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी किराले सतायो, कहिले गबारो कहिले फड्के कीरालगायतका विभिन्न समस्याले किसानलाई सधैँ पिरोल्छ’, उनले गुनासो पोखे। वर्षा सकिएपछि हालै काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नुपरेको उनी बताउँछन्। करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धानबाली राम्रै भएपछि स्याहार्ने समयमा फड्के किराको समस्याले क्षति पुगेको छ।

पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यस पटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उनलाई रातदिन सताएको छ। गत वर्ष काटेको धान वर्षाले डुबानमा परी नोक्सानी उनले बेहोर्नुपर्‍यो। क्षतिपूर्तिका लागि गाउँपालिकाले विवरण सङ्कलन गरे तापनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उनको गुनासो छ।

सगाहाको नौसय मुरी खेतभरि नै सो कीराले सताएको अगुवा कृषक ऋषिराम अर्याल बताउँछन्। उनका अनुसार गत वर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रुपमा देखिँदा खासै धानमा असर परेन तर यस पटक ठूलै क्षति हुने गरी फैलिएको छ। आफूले लामो समयदेखि धान लगाउँदै आएको भए पनि यस पटकजस्तो महामारीको रुपमा फड्के कीराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ।

जिल्लाको हुँगी, अगाहाखोला क्षेत्रमा करिब ७० रोपनीमा फड्के कीराको समस्या फैलिएपछि स्थलगत निरीक्षणपश्चात् कार्यालयबाट नियन्त्रणका लागि विषादी उपलब्ध गराइएको कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारी बताउँछन्। ‘धानबालीमा लाग्ने प्रकोपमध्ये यो सबैभन्दा खतरनाक किरा हो, यस वर्ष पानी धेरै परेकाले प्रकोप फैलिएको छ, समयमा नै पहिचान भई उपचार गरेमा नियन्त्रणमा ल्याउन सकिन्छ’, उनी भन्छन्।

काटिसकेको धान भए धेरै क्षति हुन्थ्यो तर काट्न बाँकी रहेका धान भएकाले क्षति कम हुने उनी बताउँछन्। कीराको समस्या देखिएमा किसानलाई पालिका तथा कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सम्पर्क गर्न उनको अनुरोध छ।

रामपुर नगरपालिकाका विभिन्न स्थानमा समस्या भेटिएपछि स्थलगत रुपमा अवलोकनपश्चात् विषादी छर्कन् कृषकलाई सुझाव दिइएको शाखा प्रमुख रामहरि पाण्डेय जानकारी दिए। यस क्षेत्रमा एक हप्तादेखि यस कीराको समस्याका सम्बन्धमा कृषक गुनासो राख्न आउने गरेपछि निःशुल्क विषादी उपलब्ध गराउँदै आएको शाखा प्रमुख पाण्डेयले बताए।

विशेष गरी अलि गहिरो, पानी जम्ने, गाँजको घनत्व बढी भएको जग्गामा पानी परेपछिको सापेक्षित आद्रता उच्च हुन गई यस कीराको समस्या बढ्न गएको अनुमान लगाउन सकिन्छ। वयस्क २.५ देखि ३.४ मिलिमिटर लामो हुन्छ र शरीर कुनै खैरो, कुनै सेता र कुनै हरिया रङका फुत्तफुत्त उफ्रने किसिमका मसिना कीरा हुन्छन्।

यो कीरामा साना र ठूला पखेटा दुवै थरीका हुन्छन्। यसको मझौला पिठ्युँ खण्डमा तीन खैरा धर्साहरु हुन्छन्। शिशु फड्केको भने खैरो शरीर हुन्छ। धानका बिरुवा मर्दछन्, बिरुवा गाँजिन र बढ्न सक्दैनन्, धानको बोटमा बाला नलागी परालजस्तो भई बोट सुकेर जान्छ, यसको लक्षण जग्गाको कुनै एक ठाउँबाट सुरु भई फैलिँदै जान्छ।

रोकथामका उपाय
उपयुक्त जातको छनोट गर्ने, ढिलो लगाइएको भन्दा छिटो लगाइएको र ढिलो पाक्नेभन्दा छिटो पाक्ने धान बालीमा फड्के कीराको प्रकोप कम भएको पाइएको छ। गाँजको घनत्व काम गर्ने, धान रोप्ने समयमा प्रतिगाँजमा दुई–तीन वटाभन्दा बढी बेर्ना नरोप्ने गरेमा रोकथाम गर्न सकिन्छ।

त्यस्तै नाइट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने, तीन चार दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्ने, (पाकेर काट्ने बेलाको धानमा पानी सुकाउने) अन्तिम विकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्ने, एजाडिरिक्टीन २.३ मिलिलिटर, बुफ्रोफेजीन एक मिलिलिटर, इमिडाकोल्प्रिड ०.५ ग्राम र निटेनपाइरम एक मिलिलिटर प्रतिलिटर पानीमा मिसाइ फेदमा पर्ने गरी एक हप्ताको फरकमा छर्कनुपर्दछ। विषादी छर्कदा धानको बिरुवा माथिबाट होइन बिरुवाको फेदमा पर्ने किसिमले छर्कनुपर्दछ। धानको फूल फुलेको अवस्थामा विषादी छर्कनुहुँदैन।

-रासस

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ८ : ५४ बजे

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन

काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान

श्रीकृष्णजन्मष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्णजन्माष्टमी पर्व आज (शनिबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी

टप टी-२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको