धान पकेट क्षेत्रमै आयातित चामलको भर  « Khabarhub

धान पकेट क्षेत्रमै आयातित चामलको भर 


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

डुम्रे- तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मन पर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आएका उनी अहिले बजारको चामलको स्वाद मन नपरे पनि खानुपर्ने बाध्यता रहेको बताउँछन् ।

पहिले गाउँमा एउटा घरमा मसिनुको चामल पाक्दा गाउँभर नै बास्ना थाहा हुने गरेको सम्झँदै उनी भन्छन्, “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको धानबाट आएको चामलको गुलियोपन छैन ।” प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने प्रचलन नै हराएको उनी बताउँछन् । विगतमा प्राङ्गारिक मल र गाईबस्तुको मल हाल्दा उत्पादन राम्रो हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ ।

ओझा भन्छन्, “ढिँकी, जाँतोमा कुटानी पिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानी पिसानी हुँदा स्वाद फरक परेको हो ।” अहिले खेतीपाती गर्न खर्चिलो भएको उनी बताउँछन् । लगानीअनुसारको प्रतिफल हुन छाडेपछि जग्गा बाँझै राखेर बजारबाट चामलको बोरा ओसार्ने क्रम बढ्दै गएको उनको भनाइ छ । उनी भन्छन्, “भकारीको धान निकाल्नु भन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् मानिसहरू । दुःख किन गर्छन् र ?”

आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनी भन्छन्, “अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानु परेको छ ।”विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने उनेले केही वर्षदेखि आफूले खेती गर्न नसकेको बताउँछन् ।

व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए । “खेतीपाती गर्न सकिँदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । भएको जग्गाजमिन बाँझो छ र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ,” शाहीले भने। बजारबाट किनेको चामलको मूल्य भन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवा पुस्ताले चासो दिन छाडेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए। “धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि नहुँदा धान खेतीमा युवाको चासो छैन,” उनले भने । जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताए । “जबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैनन्, तबसम्म बाँझो जमिन बढ्दै जान्छ ।

चालू आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । “गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ”, उनले भने । गत वर्ष आठ हजार सय २० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको उनले बताए ।

यस वर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताए । उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको उनले बताए ।

कृषि पेसाबाट विमुख

कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने किसान बढ्दै गएका छन् । आफैँले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि दुःख गर्न युवा नचाहने बताइएको छ । धान उत्पादनका लागि धेरै खर्च बढ्दा विदेशबाट आयातित चामल किनेर खान किसानले नै थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दिनानाथ लम्साल बताउँछन् । उनी भन्छन्, “पुरानो परम्परागत खेतीपाती गर्ने प्रचलन छैन ।”

स्थानीय उत्पादित मल, बीउ हराएको र पूर्ण रूपमा आयातित मल, बिउ बिजन हुने भएकोले उत्पादन राम्रो भएको देखिने गरेको उनले बताए। धेरै देखिए पनि दीर्घकालसम्मलाई अन्न नपुग्ने गरेको लम्साल बताउँछन् ।

तराई क्षेत्रमा जस्तो कामदार यहाँ नपाइने उनी बताउँछन् । रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने किसानको बुझाइ छ । विगतमा तनहुँ करिब धान उत्पादनमा आत्मनिर्भर रहेको मात्र होइन, अन्यत्र निर्यात समेत हुने गरे पनि हाल आयात हुने गरेको छ । व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, सिसाघाट, सत्रसय, घाँसीकुवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँट धान उत्पादनको राम्रा क्षेत्र हुन् ।

त्यस्तै देवघाट गाउँपालिकाको बेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबेँसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ । धान उत्पादन हुने यी क्षेत्रमा अहिले बस्ती विस्तारसँगै घडेरीका रूपमा खण्डीकरण गर्ने, बाँझो राख्ने क्रमले उत्पादन घट्दै गएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १२ : २० बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा