महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने « Khabarhub

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिका अवसरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ । पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने उनले बताए । पशुपतिनाथको मुख्य क्षेत्रमा भने बिजुली बत्तीसँगै फूलको समेत सजावट गरिने भएको छ ।

महाशिवरात्रि पशुपति क्षेत्रमा मनाइने जात्रा पर्वमध्ये मुख्य मानिन्छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचनअनुसार महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गरेको छ । पशुपति क्षेत्रमा आउने भक्तजनलाई विशेष सुविधा दिने गरी कोषले तयारी अघि बढाएको छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने मान्यता रहिआएको छ ।

महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देशविदेशबाट लाखौँ भक्तजन आउने गर्छन् । हजारौँको सङ्ख्यामा साधुसन्तको आगमन पनि यस अवसरमा हुने गर्छ । पशुपति क्षेत्रमा फागुन लागेदेखि नै साधुसन्तको चहलपहल बढ्न थालेको छ । राजधानीका अन्य स्थानमा अहिले साधुसन्त बढी देखिन थालेका छन् ।

पशुपतिनाथमा विशेष पूजा गर्नेको सङ्ख्या बढ्दै

कोषले पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको तयारी सुरु गरेसँगै विशेष पूजा गर्नेको पनि भीड बढ्न थालेको जनाएको छ । कोरोनाको तेस्रो लहर बढ्दै गएपछि माघ ५ गतेदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने माघ २९ गते शनिबारदेखि सुरु भएको हो ।

माघ २९ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा सुरु भएपछि करिब एक हजारभन्दा बढी विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अवधिको विशेष पूजाबाट रु १६ लाख ८८ हजार ७०० नगद कोषमा जम्मा भएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौ करोडदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो ।

आव २०७६/७७ को चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करिब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि त्यस आर्थिक वर्षमा रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषले जनाएको छ । आव २०७७/७८ मा पनि कोरोना जोखिम कायमै रहेकाले महाशिवरात्रिका अवसरमा मात्र विशेष पूजा सुरु गरिएको थियो ।

विशेष पूजा सुरु गरेसँगै कोषले यस वर्ष फागुन १७ गते परेको महाशिवरात्रिका लागि तयारी पनि सुरु गरेको छ । तयारीका लागि मङ्गलबार मूल समारोह समिति, उपसमितिका पदाधिकारीलगायत सञ्चारकर्मी र सरोकार भएका निकायका अधिकारीसँग अन्तरक्रिया गरिने जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : ४० बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो