बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ११ बजेसम्म र त्यसपछि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने बताए । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।

२. कांग्रेसको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे १० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरिको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा गए राति निधन भएको हो ।

३. प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी
आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । संसद सचिवालयले कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गर्नेबारे छलफल भइरहेको जनाएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र भोलि दिउँसो १ बजे बस्ने गरी छलफल भइरहेको सचिवालयले जनाएको छ । गए राति निधन भएका कांग्रेस नेता गिरिलाई दिउँसो २ बजेसम्म श्रद्धाञ्जली दिएपछि अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । अन्त्येष्टिपछि संसदबाट शोक प्रस्ताव पारित गर्ने चलन रहेको छ ।

४. गिरीको निधनमा शीर्ष नेताहरूबाट समवेदना
सांसद एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको बताए । त्यस्तै, प्रधानमन्त्री देउवाले पनि एक ट्विट गर्दै पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले देशलाई नै स्तब्ध बनाएको बताए ।

५. आजबाट १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै
आजबाट ५० जिल्लामा पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन सुरु गरिने भएको छ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको पहिलो मात्रा फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने भदौँ २७ देखी असोज १ गतेसम्म दोस्रो मात्रा खोप सञ्चालन हुनेछ ।

६. बाटो मर्मतको माग गर्दै चाबहिल–साँखु सडक बन्द
बाटो मर्मतको माग गर्दै स्थानीयले आज बिहानैदेखि चाबहिल–साँखु सडक खण्डको थलीमा बाटो बन्द गराएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आउनुपरेको भन्दै स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् । स्थानीय व्यवसायीहरूले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई चल्न रोक लगाएका छन् ।

७. कार्यविधि नहुँदा बाँकेको खुला कारागारको संरचना प्रयोगविहीन
खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा बाँकेको खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो । बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिए ।

८. महिला तथा बालबालिका कार्यालयको ताला ६ वर्षपछि खोलियो   
महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि खोलिएको छ । उक्त कार्यालय गाउँपालिका तथा नगरपालिकामा गाभिएपछि ताला लगाइएको थियो । आठकोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई ‘आइसोलेशन वार्ड’ निर्माण गर्न लागिएको जनाइएको छ । पछिल्लो समय जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेशन बनाउने तयारी गरेको हो ।

९.बाढी र पहिरोले भारतको हिमाचल ठुलो क्षति
भारतको हिमाचल राज्यमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मर्नेको संख्या २२ पुगेको छ । मण्डी जिल्लामा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ । उक्त राज्यमा मनाली–चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ भन्दा बढी सडक बन्द भएका छन् । बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रकोपमा परी नौ जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन् । मण्डीका डिप्टी कमिस्नरले जिल्लामा १३ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको जानकारी दिए ।

१०. इन्टरको सहज जित
इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । गए राति भएको खेलमा इन्टरले स्पेजियालाई ३–० गोल अन्तरले हराएको हो । खेलको ३५औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५२औं मिनेटमा हाकनले गोल गर्दै टिमको अग्रता २–० को बनाए । त्यसपछि खेलको ८२औं मिनेटमा जोआकिन कोरेयाले गोल गर्दै इन्टरलाई ३–० को जित दिलाएका हुन् । इन्टरको यो लगातार दोस्रो जित हो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : १० बजे

क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल रु एक अर्ब उपलब्ध गराइने

काठमाडौं – नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल

बाढी पहिरोमा परेका मृतकका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

काठमाडौं – सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं – सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने

काठमाडौं – नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला