मिथिलामा दिवाली–छठपर्वको चटारो « Khabarhub

मिथिलामा दिवाली–छठपर्वको चटारो


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ। सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ। गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व आर्जनका खास अवसरसमेत बन्ने गरेका हुन्।

करेसाबारीमा लगाइएका फूल, अदुवा, ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन्। दिवाली पर्वमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ। यस प्रयोजनका लागि घर–करेसामा रहेका केराका कोथा (नयाँ हुर्केका बिरुवा) बेचेर नै गरिब किसानले राम्रो आर्जन गर्ने अवसर पाउँछन्।

‘खासमा केराको झ्याङमा प्रतिझ्याङमा तीन वटाभन्दा बढी बोट राख्नु हुँदैन, बढी भएका कोथा (केराका भर्खरै बढेका बोट) छ्याँसेर (उखालेर) फ्याँक्नुपर्छ’, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामविनोद महतो भन्छन्, ‘यो कोथा छ्याँस्ने काम हामी दिवालीको मुखमा गर्छौँ, सबै फालिनुपर्ने कोथाको मूल्य पाइन्छ।’ केराका थामका लागि केही दिन पहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्ने यहाँको चलन छ। लक्ष्मीपूजाको एक दिन पहिले त चोकबजारमा केराका थामको बजार नै लाग्ने गरेको छ।

केरा फल र कोथा दुवैको माग हुने दिवाली र केराका घरी नै छठपर्वमा कतिपयको भाकल हुने गर्छ। दिवाली र छठसँगसँगै जस्तो पर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको छ। यसबाहेक ज्यामिर (कागतीकै एक प्रकार), बोटसहित उखालिएको अदुवा, पातसहितको उखु पनि दुवै पर्व (दीपावली र छठ)का पूजा सामग्री हुन्। थोरै जग्गा हुने गरिब किसानले आफ्नो घर–करेसामा लगाएका यी वनस्पतिबाट पर्वको अवसरमा राम्रो आर्जन गर्ने गरेका छन्।

यस्तै अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री र माटाका भाँडा कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दियो बाल्ने दियौरी (पाला) दिवाली र छठपर्वका खास सामग्री हुन्। अरुबेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बाँसको चोयाका सामग्री बुन्ने डोम र विन एवं माटाका भाँडा बनाउने कुम्हाल जाति समुदायको निकै व्यस्तता बढ्ने गरेको छ। दुवै पर्व (दीपावली र छठ)को आर्जनले वर्षभरिको नगद जोहो गर्नुपर्ने हुँदा अहिले आफ्नो सीपको खास अवसर भएको यी जाति समुदायका गरिब बताउँछन्। पर्वमा घर रङरोगन गर्ने सीपका कामदारको पनि माग ह्वात्तै बढ्ने गरेको छ।

दिवाली (तिहार, दीपावली)को पक्ष सुरु भए पनि पर्व लाग्न अझै तीन–चार दिन बाँकी छ। यद्यपि पर्वमा माग हुने कृषि उपज र बनाइने अन्य सामग्रीबारे सोधखोज र चासो बढेको छ। पर्वका सामग्री किन्ने उपभोक्ताले यस्ता सामग्री खोज्ने, किन्ने र दामकाम पक्कापक्की गर्न थालेका देखिँदो छ। यसपालि अनुकूल वर्षा नहुँदा अपेक्षित धानबाली लगाउन नपाएर पिरोलिएका किसान अहिले पर्वविशेषमा महत्व पाउने आफ्ना कृषिउपज (अदुवा, उखु, ज्यामिर, केरा आदि) बेचेर पर्व टार्ने धुनमा देखिन्छन्।

‘आफ्नो त खासै जग्गा छैन हजुर, घर छेउको करेसाबारीमा थोरै अदुवा सपारेकी छु, एउटा बोट ज्यामिर लटरम्म फलेको छ’, भङ्गाहा नगरपालिका–४ रामनगरकी किसान मञ्जु कापर भन्छन्, ‘दिवालीमा यिनै उपज बेचेर आफ्नो पर्व खर्च जुट्ने विश्वासमा छु।’ करेसाबारीको दुई–तीन धुर जग्गामा उखु पनि रहेको र पर्वमा उखुका लाँक्रा बिक्ने गरेको हुँदा दिवाली, छठ सहजै टार्ने मञ्जुको विश्वास छ।

हिन्दू वैदिक परम्पराका दिवाली र छठपर्व कृषिसँग अभिन्नरूपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन्। मुख्य खेती (अन्नबाली) लगाउने समय सकिएको र नयाँ बाली (धान) भित्र्याउने समयअघि पर्ने यी पर्व धनी–गरिब सबैका लागि खुसीको अवसर हुने गरेका पाका मैथिल बताउँछन्।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ०४ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही