पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा « Khabarhub

पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर। यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ। बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ।

नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्ष पनि यही पर्छ। पुशपालन, कृषि, पर्यटन र जडीबुटीका उत्पादनका लागि निसेलढोर अगाडि रहे पनि विकासमा भने वर्षौँदेखि पछाडि परेको छ। यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन्। केही समय अगाडि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत्, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुग्न सकेको छैन।

यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन्। जिल्लाको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्रमा पुग्नै झण्डै एक दिन लाग्छ। गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ।

एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी (निसीगाउँ) र गर्मीयाममा लेक (निसेलढोर) गर्ने गर्थे। अहिले सिजनअनुसार बसाइँसराइ गर्न छाडेर स्थायीरूपमै स्थानीय यहाँ बस्ने गर्छन्। यहाँ करिब ६० घरपरिवार स्थायीरूपमा बसोबास गर्ने गर्छन्। वर्षात्को समयमा करिब चार सय बढी परिवार यहाँ बस्ने स्थानीय वीरबहादुर विकले बताए। उनका अनुसार यो सिजनमा पनि निसेलढोरमा २५ घरपरिवार बस्दै आएका छन्।

चिसो बढेपछि अधिकांश मङ्सिर पहिलो साता नै निसीगाउँमा झरिसकेका छन्। उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन्। हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्पराजस्तै हो। उनीहरुले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा लेक–बेँसी गर्नुपरेको हो। अहिले चिसोले दैनिकी कष्टकर बन्दै गएको विकले बताए।

“अहिले बिहान र बेलुका बाहिर गएर काम गर्न सकिन्न, चिसो धेरै बढेको छ, बिजुली अहिलेसम्म आएको छैन, दाउरा, दियालो बालेर रात बिताउँछौँ, यो ठाउँमा बिजुली बलेको हेर्ने ठूलो धोको छ, तर आउलाजस्तो लाग्दैन”, विकले भने, “पहिले मोटरबाटो थिएन, अहिले गाडी नहिँडे पनि बाटो पुगेको छ।”

निसेलढोरमा विद्युत् पुर्‍याउनका लागि सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ। विकले भने, “बेँसी झर्दा सरोकारवाला निकायलाई धेरैपटक भन्यौँ निसेलढोरमा बिजुली चाहियो भनेर तर वास्ता गरिएन, अन्धाकारमा छौँ हामीहरू, सरकारले हाम्रो समस्या नसुन्दा दुःख लाग्छ।”

स्थानीय मनिराम घर्तीमगरले निसेलढोरमा आन्तरिक पर्यटक पुग्ने गरेको भन्दै विद्युत्को सुविधा नहुँदा बास नबसी फकर्ने गरेको बताउँछन्। उनले यस ठाउँ पर्यटकको रोजाइमा परेको सुनाउँदै विद्युत्को पहुँच पुगेको भए यहाँका नागरिकको जीवनस्तर फेरिन धेरै समय नलाग्ने बताए।

घर्ती मगरले भने, “निसेलढोर बागलुङकै सबैभन्दा सुन्दर ठाउँ हो, यहाँको मुख्य समस्या अहिले विद्युत्को छ, विद्युत् नहुँदा सयौँ स्थानीय अन्धकारमा बस्न बाध्य छन्, पर्यटकहरू आए पनि एकरात नबसी फर्कन्छन्, विद्युत् भएको भए उनीहरूलाई एक–दुई दिन यहाँ राख्न सकिन्थ्यो, त्यसबाट स्थानीयवासीले केही रकम आम्दानी गर्न सक्थे।”

केही वर्ष अगाडि यहाँ मोटरबाटो पुगेपछि स्थानीयवासीलाई यहाँ उत्पादन भएका स्याउ, सिमी, भाँगो र अन्य उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज भएको छ। विगतदेखि नै ओझेलमा पर्दै आएको यो ठाउँले अहिलेसम्म मुहार फेरिन नसकेको गुनासो पोखे।

“यहाँका स्थानीयवासीको अहिलेको आवश्यकता स्वास्थ्य र विद्युत् हो, विद्युत् नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न कि उत्तरगङ्गा जानुपर्छ, कि निसीगाउँमै पुग्नुपर्छ”, उनले भने, “कोही बिरामी पर्‍यो भने त झन् बुर्तिबाङ पुर्‍याउनुपर्छ, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन पूरै लाग्छ, भनेको बेला गाडी पाइँदैन, दुर्गममा छौँ, हाम्रो दुःख कसैले बुझ्न सकेको छैन।”

निसेलढोर क्षेत्रमा कुँडे, मस, झुललगायतका आधा दर्जन बढी गाउँ पर्छन्। यी कुनै पनि गाउँमा विद्युत्को पहुँच छैन। निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले भौगोलिक हिसाबले दुर्गममा हुँदा विकासमा पछाडि परेको बताए। उनले गाउँपालिकाले यहाँका स्थानीयवासीका समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएको जानकारी दिए।

अहिले यहाँ कक्षा ५ सम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको छ। स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको गौतमको भनाइ छ। विद्युत् विस्तारका लागि पनि गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको उनले बताए।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ५९ बजे

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक