नेपालले दोस्रोपटक विश्वकप खेल्न सक्ने चार आधार | Khabarhub Khabarhub

नेपालले दोस्रोपटक विश्वकप खेल्न सक्ने चार आधार

‘पारस र शरदपछि सन्दीप र दीपेन्द्रले पूरा गर्दैछन् सपना’



काठमाडौँ – छोटो समय, थोरै तयारी र धेरै सम्भावना बोकेका खेलाडी ओमानको उडान भर्दा धेरै नेपालीलाई लागेको थिएन, नेपालले फेरि पनि विश्वकप खेल्न सक्छ भनेर । तर नेपालले विश्वकप खेलाइसकेका प्रशिक्षक पुबुदु दासानायकको परिपक्व सोच, पूरा योजना र पहलकदमीले नेपाल दोस्रोपटक विश्वकप क्रिकेट खेल्ने संघारमा छ ।

सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप क्रिकेट खेलेको थियो । जतिबेला नेपालका कप्तान थिए, पारस खड्का । पारस खड्का नेपालका एक मात्रै यस्ता कप्तान हुन्, जसका नाममा दशौँ कीर्तिमान छन् । नेपाली क्रिकेटको सर्वोच्च योगदानमा पनि पारसकै नाम अगाडि आउँछ ।

मैदानमा होस् या मनमा । नेपाली क्रिकेटको नाम लिँदा आउने पहिलो नाम नै पारस हो । जसले नेपालका लागि पहिलो विश्वकप खेल्ने सपना पूरा गरेका थिए । उनको कप्तानी, अलराउण्डर प्रदर्शन र प्रशिक्षक पुबुदु दासानायकेसँगको तालमेलका कारण नेपालले पहिलो विश्वकप खेल्ने सपना पूरा गरेको धेरै भएको छैन ।

अहिले पारसले सन्यास लिइसकेका छन् । उनको समयका खेलाडी पनि फर्ममा छैनन । तर पनि नेपाल दोस्रोपटक विश्वकप क्रिकेट खेल्ने सपनाको संघारमा छ । यति लेख्दा युएईको चुनौति मात्रै बाँकी छ । नेपाल विश्वकप खेल्न सक्षम देखिन्छ ।

ओमानमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेट छनौटको समूह बी तर्फ नेपालले आफ्ना तीन वटै खेल जितेर समूह बिजेता बन्दै सेमिफाइनल पुगेको हो । जसले मंगलबार समूह ए को उपविजेता युएईको चुनौति पन्छाए दोस्रोपटक टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने सपना पूरा गर्नेछ । त्यो चुनौति सम्भव पनि देखिन्छ । जसका चार आधारबारे चर्चा गर्नैपर्छ ।

अनुभवी प्रशिक्षक पुबुदुको परिपक्व योजना

नेपालका लागि दोस्रोपटक प्रशिक्षक भएर पुबुदु दासानायके काठमाडौँ आउँदा नेपाली क्रिकेट टिम अस्तव्यस्त थियो । नियमित कप्तान ज्ञानेन्द्र मल्ल कारबाहीमा परेका थिए । अहिले ओमानमा ब्याट र बलबाट विपक्षी टिममाथि धावा बोलिरहेका अलराउण्डर दीपेन्द्रसिंह ऐरी पनि ६ महिनाकै लागि कारबाहीमै परेका थिए ।

पुबुदु काठमाडौँ नआउँदा हुन् त ज्ञानेन्द्रसँगै दीपेन्द्र पनि कारबाहीमा हुन्थे । उनी उस्तै परे टिममै नपर्न सक्थे । दीपेन्द्र टोलीमा नभएको भए नेपाल यतिबेला विश्वकप छनौटमा समूह चरणबाटै घर फर्किसकेको हुन्थ्यो पनि ।

तर नेपाली क्रिकेटका पायोनियर पुबुदु काठमाडौँ आउनेबित्तिकै टिमलाई मिलाए । नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान फोहोरी राजनीतिमा होमिएका बेला पुबुदुले सबैभन्दा पहिले क्यान पदाधिकारीलाई मनाए । खेलाडीमाथिको कारबाही फुकुवा गर्न सफल भए ।

लगत्तै खेलाडीसँग गम्भीर छलफल गरे । एकअर्काबीचको लडाई अन्त्य गरेर मैदानमा फर्किन प्रोत्साहित गरे । सिनियर र जुनियर खेलाडीको ‘इगो’ लडाईलाई वार्ताकै टेबलबाट समाधान गरे । कप्तानमा सन्दीप लामिछानेलाई नै कन्भिन्स गरे । ज्ञानेन्द्रलाई कप्तान नहुँदा पनि टिममा फर्काउन भारी विश्वास दिलाए ।

ज्ञानेन्द्रसँगै सोमपाल, दीपेन्द्र र कमल ऐरीको कारबाही हटाएर ग्रेड समस्या हटाउन उत्कृष्ट मध्यमार्गी भूमिका निर्वाह गरे । यति गरेपछि पुबुदुले विश्वकप खेल्नका लागि विपक्षी टिमको पूरा हिसाबकिताब राख्दै त्यही अनुसार अनुभवी र नयाँ खेलाडीलाई विमानमा चढाएर ओमानको उडान भरेका थिए ।

जसले समूह चरणमा त उत्कृष्ट खेल्यो नै । नेपाली क्रिकेटलाई फेरि एकपटक उत्कृष्ट टिम बनाउँदै विश्वसामू फरक रुपमा चिनाउन आवश्यक सबै भूमिका निर्वाह गर्न सफल रहे । पुबुदुकै योजनाअनुसार मंगलबार युएईविरुद्ध गतिलो प्रदर्शन गरेको खण्डमा नेपाल दोस्रोपटक विश्वकप खेल्ने निश्चित छ । यो युएईविरुद्धको जितको लागि पहिलो आधार पनि हो ।

दीपेन्द्र र सन्दीपको योजनासहित उत्कृष्ट प्रदर्शन

ओमानमा समूह चरणका सबै खेलमा नेपालले अविश्वसनीय प्रदर्शन गरेको छ । ती दुवै प्रदर्शनमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको निर्णायक भूमिका रह्यो । ओमानमा चारदेशीय श्रृङ्खलादेखि विश्वकप छनौटसम्म टिमलाई उत्कृष्ट देखाउने कप्तानका हिसाबमा सन्दीपको चाहना थियो ।

अनि राम्रो खेल्दा र टिमको भलाई गर्दा पनि क्यानले कारबाही गरेपछि त्यसको जवाफ मैदानबाट दिने दीपेन्द्रको योजना थियो । दुवै जनाले सोचेअनुसार नै गरे । सफल भए । योजना त पहिल्यै पुबुदुले सेट गरिसकेका थिए । त्यसको कार्यान्वयन मात्रै आवश्यक थियो ।

बलिङमा सन्दीपको योजनाले कमाल गरिदियो । अनि दीपेन्द्रले ब्याटिङलाई बोल्ड बनाइदिए । जसले गर्दा नेपाल चारदेशीय सिरिजपछि विश्वकप छनौटमा उत्कृष्ट रहन सफल भयो । नेपालको अहिलेसम्मको अवस्थामा बलिङ सबैभन्दा मुख्य हतियार थियो ।

जसमा ग्लोबल आइकन सन्दीप नै कप्तान बनेपछि समस्या रहेन । तर समस्या भनेकै ब्याटिङमा थियो । जसमा दीपेन्द्रको भरथेग रह्यो । त्यससँगै कुशल भुर्तेल, आसिफ शेख र आरिफ शेखले पनि योगदान भरे ।

ओमानमा नेपालको युवा, जोशिलो र सम्भावना भरिएको टिम पूरै विपक्षीलाई तहसनहस पारेर आफ्नो लक्ष्यमा अगाडि बढ्यो । यो चानचुने काम थिएन । पहिलो विश्वकप छनौट खेल्दा नेपालका लागि पारस खड्का र शरद भेषावाकरले जे सम्भव काम गरेका थिए ।

यतिबेला त्यो ठाउँ सन्दीप र दीपेन्द्रसिंह ऐरीले लिँदै पूरा गरेका छन् । र, त्यहीअनुसार प्रदर्शन पनि गरिरहेका छन् ।

युवा खेलाडीको आक्रामक प्रदर्शन

नेपाललाई रोक्न युएईलाई मात्रै होइन, अबको केही वर्ष बलिया टिमलाई पनि गाह्रो पर्नेछ । जहाँ सन्दीप जस्ता ग्लोबल स्टारसँगै कमलसिंह ऐरी, अविनाश बोहरा, कुशल मल्ल जस्ता खतरानाक बलर छन् ।

सोमपाल कामी र करण केसी त मैदानमा अझै देखिएका छैनन । यस्तै ब्याटिङमा दीपेन्द्रसिंह ऐरी नायक छ्न । अनि कुशल भुर्तेल अर्का पिल्लर बनेर उभिएका छन् । आसिफ शेख त्यत्तिकै खतरानाक ओपनर छन् ।

लोकेश बम, गुल्सन झा, विवेक यादवको धुवाँधार प्रदर्शन त बाँकी विश्वले हेर्नै बाँकी छ । यो युवा टिमलाई रोक्न ओमानमा सबै टिमलाई गाह्रो परिरहेकै छ । आयरल्याण्डसँग हारेपनि उसलाई अत्यास पारेको थियो । चारदेशीय सिरिजमा पनि केही खेल हार्दा पनि नेपालले चानचुने प्रदर्शन गरेको थिएन ।

त्यसमाथि जितेन्द्र मुखियाजस्ता विश्वकप खेलेका बलरको घातक योर्कर नेपालको जितमा निर्णायक हुने गरेको छ । जसले सन् २०१४ को विश्वकप खेलेका थिए ।

त्यसमा ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, बिनोद भण्डारी त काफी छन् नै । उनीहरुको अनुभवले पनि नेपालको टिम बलियो बनाइराख्न सहयोग गरेकै छ । युएईविरुद्ध मंगलबार मैदानमा पनि नेपाली युवा खेलाडीको आक्रामक प्रदर्शन फेरि एकपटक निर्णायक हुनेछ ।

अनि अनुभवी खेलाडीको भरोसायोग्य प्रदर्शनको पनि अपेक्षा राखिएको छ । मात्रै युवा खेलाडीले अहिलेकै प्रदर्शन कायम राखे नेपालले दोस्रोपटक विश्वकप खेल्ने पक्कापक्की जस्तै छ ।

नेपाल र युएईले पछिल्ला चार खेलमा दुई–दुई खेल जितेका छन् । यसले पनि नेपालको जित युएईविरुद्ध निर्णायक मात्रै होइन, ऐतिहासिक हुनेछ । सेमीफाइनल भएपनि फाइनलभन्दा महत्वपूर्ण छ ।

समूह चरणको शानदार जित नै विश्वकप खेल्ने आधार

क्यानडालाई पराजित गर्दासम्म नेपाल तीन खेलबाट शतप्रतिशत जित निकालेर ६ अंकसहित शीर्ष स्थानमा छ । नेपालको रनरेट ३ दशमलव ६८ छ । जुन विश्वकप छनौटमा जारी देशबीचको प्रतिष्पर्धामा सबैभन्दा राम्रो र उत्कृष्ट हो ।

नेपाल समूहचरणको बिजेता बन्दा युएई भने उपविजेता हो । जसमा आयरल्याण्डले पनि नेपाल जति अंक बटुल्न सकेन । युएई र आयरल्याण्डको समान ४ अंक छ ।

नेपालले क्यानडालाई ८ विकेटले हराउँदा ८० रनमा अलआउट गरेको थियो । त्यसअघि नेपालले फिलिपिन्सलाई हराउँदा सर्वाधिक तेस्रो धेरै २१८ रनको योगफल तयार पारेको थियो ।

जसमा नेपालका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय करियरमा पहिलो शतक बनाउँदा दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान दिएका थिए । फिलिपिन्सलाई भने नेपाली बलरले ८२ रनमै रोकेका थिए ।

पहिलो खेलमा नेपाले ओमानलाई हराएको थियो । ओमानविरुद्ध नेपालले ११७ रन मात्रै बनाएको थियो । सजिलै नेपाल हार्ने सोचिरहेका बेला नेपाली बलरले उत्कृष्ट खेल्दै ओमानलाई ७८ रनमै अलआउट गरेका थिए ।

समूह चरणको अन्तिम खेलमा पनि नेपालले क्यानडालाई ८० रनमै अलआउट गरिदियो । अनि ८१ रनको लक्ष्य मात्रै २ विकेट गुमाएर १४ ओभरमै भेट्टायो । समूह चरणका तीनवटै खेलमा नेपालले विपक्षी टिमलाई १०० रन पनि कटाउन दिएको छैन ।

अनि आफैले पहिला ब्याटिङ गर्दा २१८ रन बनाएको इतिहास छ । विश्वकप छनौटमा नेपालले प्रदर्शन गरेको यो अहिलेसम्मकै उत्कृष्ट जितको तथ्यांक हो । अब युएईविरुद्ध नेपालले पहिला ब्याटिङ वा बलिङ गरेपनि जित निकाल्न नेपाली युवा क्रिकेट टोली सक्षम छ ।

नेपाली युवा क्रिकेट टिमको त्यो सक्षमता सेमिफाइनल जित्न मात्रै होइन, फाइनल पुगेर विश्वकप खेल्ने सपना साकार पार्न पनि योग्य छ । जहाँ नेपाली टिमको कप्तानी गरिरहेका सन्दीपले पहिलोपटक देशबाट विश्वकप खेल्ने सपना पूरा गर्दैछन् ।

सन् २०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका पारस र शरदजस्तै यतिबेला सन्दीप र दीपेन्द्रले विश्वकप खेल्ने सपना साकार पार्दैछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ५५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको