लक्ष्मीको उपासना : धनको सदुपयोग | Khabarhub Khabarhub

लक्ष्मीको उपासना : धनको सदुपयोग



रमाइलो चाड तिहार अर्थात् धनको सदुपयोगको सन्देश दिने पर्वले छपक्कै छोपिसकेको छ। यो वर्ष लक्ष्मीपूजाको भोलिपल्टै सूर्यग्रहण परेको र बजारमा चिनीको अभाव, महंगीले भने सताएको छ। भाइ मसलादेखि, रङ अनि फूल पनि आयात गर्नुपर्दा थप खिन्नताबोध भएको छ। यसले गर्दा गुलियो हुनुपर्ने चाड खल्लो देखिएको छ।

देश विदेशी ऋणमा चुर्लम्म डुबेको छ। इन्धनको मूल्य घटेर आउँदा पनि यहाँ घटाइँदैन। सस्तोमा बिजुली निर्यात गर्दै महंगोमा इन्धन आपूर्ति हुन्छ। भोकमरीको चपेटामा पर्न लागेको देश पनि हाम्रै हो। भोकमरीको चपेटामा हामी भारतभन्दा पछाडि छौँ भनेर दाबी गरिएता पनि सबै सामान त्यतैबाट आयात गर्छौँ। तिहारमा लक्ष्मीको उपासना भनौँ धनको विशेष पूजा हुने गर्छ। धन्तेरस, धनलक्ष्मी भन्दै नयाँ भाँडाकुँडा, सके सुन, कपडा पनि खरिद हुन्छ।

यमपञ्चकको तेस्रोदिन गाई तिहार हो। गाई हाम्री आमा हुन्। पौष्टिक आहार दूध दिने गाई सोझो प्राणीमध्ये एक हो। हाम्रो समाजमा गाईलाई लक्ष्मीका रुपमा हेर्ने चलन छ। लक्ष्मीपूजाको दिन गाईलाई विशेष पूजा गर्ने, गोडाधुने, पीठो नैबेद्य खुवाउने, नैवेद्यहरु अर्पण गर्ने गरिन्छ। हिन्दू दर्शनमा गाई, गङ्गा, गीता, गायत्री, गणेश आदिलाई विशेष शुभदायक मानिन्छन्। गाई तिहारका दिन गाईका सिङ, खुरमा तेल लगाउने, घाँटीमा आकर्षक माला लगाइदिने, मीठा मीठा खानेकुरा खान दिने गरिन्छ। कृषि कार्यमा संलग्न हाम्रा लागि गाई माता मात्र होइनन् धनकी प्रतिमूर्ति पनि हुन्। सूर्य ग्रहणको पूर्वसन्ध्यामा यसपालि गाई पूजा हुँदैछ।

गाई तिहारको विशेष पर्व हो लक्ष्मीपूजा। धनको पूजा, अघिल्लो रात्रिमा विशेष दीपावली गरिन्छ। घरबाहिरदेखि गोवरले लिपेर लक्ष्मीका पाइला बनाएर पूजाकोठा, धनसारसम्म लगिन्छ, पूजा गरिन्छ। समृद्धिको चाहना, खुसी, हर्ष, श्री, ऐश्वर्य, शान्ति, अमनचयन चाहनेले लक्ष्मीपूजाका दिन विशेष धनकोपूजा, कुवेरको पूजा गर्ने गर्छन्। पसल, व्यापारिक, प्रतिष्ठान, ढुकुटी, अन्न आदि सबैतिर विशेष धुप, बत्ती, मिष्ठान्न, फलफूल, सौभाग्य, बस्त्रसहित पूजा गर्ने चलन छ।

घर, पसल रंग्याउने, विशेष फूलले सजाउने, नरिवल मसला अर्पण गर्ने, रङहरु, पटाकाको प्रयोग गर्ने कार्य गरी खुसी नै खुसी व्यक्त गरिन्छ। यतिबेला सबैको मन प्रफुल्लित र आनन्दित हुन्छ। एक आपसमा खुसी, सुख साटासाट गर्ने चलन छ। लड्डुका परिकार, मिठाइका परिकार, सेल, रोटी, अनरसा अर्पण, वितरण गरिन्छ। ओखर, कटुस, बिमिरोसहित लक्ष्मीका प्रतिमा, फोटामा विशेष पूजा गरेर धनधान्यकी प्रतीक लक्ष्मी वर्षा गराउन लक्ष्मी पूजाका दिन जताततै देवीलाई आकर्षक रुपमा सजाइएको हुन्छ। आयुलक्ष्मी, कीर्तिलक्ष्मी, भोगलक्ष्मी, स्थीरलक्ष्मी आदिको पूजा गरिन्छ। यस रात्रिलाई सुख रात्रि पनि भनिन्छ।

जसका घरमा दीपावली गरिन्छ। त्यसका घरमा स्थिर लक्ष्मीको बास हुन्छ भन्ने कथन अनुसार पनि यसदिन विशेष दीपावली गर्ने चलन हो। भनिन्छ कंही कतै फोहर नराखी सफासुग्घर गरेर जताततै लिपपोत गरेर लक्ष्मी भित्र्याउने चाडका रुपमा तिहारको उत्कर्ष लक्ष्मीपूजालाई हेरिन्छ। यो द्यौसी भैलो खेल्ने चाड पनि हो। लक्ष्मी पूजाका दिन भैलो खेलिन्छ। प्राय साँझपख स्त्रीहरु समूहबद्ध भएर भैलीराम भैलीराम भन्दै घरघर डुली सबैतिर लक्ष्मीबास गर्ने आशीर्वाद दिने गर्छन्। त्यसो त कार्तिकमास पूरै स्नानदानको लागि बढी महत्त्वपूर्ण छ। त्यसमा पनि तिहार विशेष द्यौसीभैलोमा दिइने दानबाट द्यौसीभैलो खेल्न आउनेहरुबाट आशीर्वाद प्राप्त हुने विश्वास अनुरुप रोटी, धान, चामल, भेटी दान गर्ने गरिन्छ। जसले दिन्छ मानु उसको सुनको छानु, जसले दिन्छ मुरी उसको सुनको धुरी, हामी त्यसै आएनाँै बलिराजाले पठाए, भनेर अनेक आख्यानसहित गीत, नृत्य, भजन, किर्तन गर्दै रमाइलो गर्नेसमेत चलन छ।

अघि असुरकुलका राजा बलिलाई सुतल पठाउन श्रीविष्णुले गरेको योजनाअनुसार दानवीर बलिकहां गई दान माग गर्दा तीनपाउ भूमिको दान मागे। प्रतिज्ञामा रहेका बलिले हुन्छ भन्दा एक पाउले पृथ्वी ढाकेको, दोस्रो पाउले आकाश ढाकेको र तेस्रो पाउ राख्ने कतै नभएपछि आफ्नै शिरमा अर्थात् ‘द्यौशिरै’ भनिएअनुसार द्यौसीभैलो खेल्ने चलन चलेको र दानबाट खुसी भएका श्रीविष्णुले इच्छानुसार बरदान माग्न भन्दा बलिले तिहारभरि सबैले मत्र्यलोकमा दीपावली गरुन् दीपावलीका कारण मत्र्यलोकमा मानिसका वरिपरि लक्ष्मीले बास गरुन्, सम्पन्न होऊन् भनी बरदान मागे। श्रीविष्णुले हुन्छ भनी बरदान दिएकाले यही कारण स्वरुप दीपावली गर्ने र वलिले पठाएकोले हामी भैली खेल्न आएका हौं भनी तर्क प्रस्तुत गर्ने चलन छ। अघिपछि आउने माग्न, द्यौसीभैलो खेल्न आउनेचाहिं माग्न भन्दा पनि दिन नै आएका भन्ने विश्वास गरिन्छ।

लक्ष्मीको चर्चा गर्दा यिनको स्वरुप बुझ्नु पर्ने हुन्छ। यिनका मुख्य दुई रुप छन्। एउटा हो भौतिकरुप, अर्को हो आध्यात्मिक वा दैवीस्वरुप। भौतिक रुपमा मात्र हेर्दा लक्ष्मी केवल भोगकी साधनमात्र बन्न पुग्छिन्। दैवी र आध्यात्मिक रुपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन पनि बन्न पुग्छिन्। उपभोगले मात्र हेर्दा लक्ष्मीको बाहन केवल लाटोकोसेरो मात्र बन्न पुग्छ। तर, उपयोगको रुपमा हेर्दा लक्ष्मी गरुडासनी बन्न पुग्छिन्। जहां लक्ष्मीको सेवा हुन्छ त्यहाँ नारायणको सेवा हुनु जरुरी छ। नारायणको वाहन गरुड चढेर आउने लक्ष्मीको स्वागत गर्दा जीवन सुखमय, शान्तिमय र कान्तिमय बन्न पुग्छ। धन केवल भोग साधना गर्ने वस्तु हो भनी यसको दुरुपयोग गरेमा लक्ष्मी प्रशन्न हुन्नन्। मान्छेको मति बिगारिदिन्छिन्। मति बिग्रेपछि गति पनि ठीक हुन्न। दुर्गतितिर उन्मुख व्यक्तिले शान्ति र कान्ति दुबै पाउंदैन। नारायणको अर्को नाम यश र कीर्ति पनि हो। त्यसैले यश र कीर्ति प्राप्तिका लागि नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्नदेऊ भनी नीतिकारले भनेका छन्।

लक्ष्मी प्रशन्न राख्न सरसफाइको साथै उद्यमशीलता आवश्यक पर्छ। उद्यम, परिश्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन्। केवल पूजाले मात्र भन्दा पनि त्याग र समर्पणभाव, प्रेम र सद्भाव, सहिष्णुता र उपकार अनि दान र सामाजिक सेवामा सार्वजनिक निर्माणमा, उद्यान, शौचालय, बाटा घाटाहरु, मठ मन्दिर, असहाय, दिनदुःखीको सेवामा लागेको धन पवित्र हुन्छ। आम्दानीको १० प्रतिशतमा आप्mनो हक, भोग अधिकार नरहने र त्यो आयलाई सार्वजनिक, सामाजिक सेवामा अर्पण गर्नु पर्ने विषयमा पूर्वीय चिन्तनले यत्रतत्र व्याख्या गरेको छ। आनन्द प्राप्तिको लागि लक्ष्मीको आध्यात्मिक एवं दैवी स्वरुपलाई बुझ्नुपर्ने हुन्छ।

चारित्रिक शुद्धता, अक्रोध, अवैरभाव, देवत्वको भाव, अप्रमाद र उद्योगमा लक्ष्मीको बास हुन्छ। धनको सदुपयोग, पदार्थको सदुपयोग, तत्व ज्ञानको सदुपयोग, लज्जा, त्याग, शिष्टतामा लक्ष्मीको बास हुने हुँंदा लक्ष्मीपूजा गर्ने साधक सज्जन, शान्त, धीर, बीर हुन जरुरी छ। सन्त, साधुको सेवामा पनि लक्ष्मी रहने कुरा शास्त्रहरुले पुष्टि गरेका छन्। भनिन्छ, लक्ष्मीका धेरै पाउ मध्ये एक पाउ उत्पादनमा, उब्जाउमा रहेको छ। पृथ्वी जसलाई धरा भनिन्छ। धराको प्राकृतिक स्रोत साधनमा लक्ष्मीको एक पाउ छ। लक्ष्मीको अर्को पाउ प्रकृतिको रसादी तत्त्वमा छ जसले शुद्ध तत्त्वलाई सिंचान गरी पोषण दिन्छ। जलमा रहेकी लक्ष्मीलाई विज्ञानले विद्युतीकरणसमेत गरेर हराभरा बनाएको छ। उद्योग, कलकारखाना र मानव जीवनदेखि यन्त्र साधनसमेत सजिलो बनेको छ। बृक्ष, वनस्पतिको हरियालीका लागि लटरम्म फलफूलको सिर्जनामा सहायकसिद्ध भएकी लक्ष्मीको अर्को पाउ तापशक्ति अग्निमा रहेको छ।

वेदका मन्त्रले अग्निको स्तुति वन्दना गरेको छ। बाहिर देखिएको ताप शक्ति, सौर्य ऊर्जादेखि मानव हृदय भित्रको जठराग्नी समेतमा रहेर आफ्नै शक्तिद्वारा प्रदत्त पदार्थको पाचन गराउने कार्य जीवात्माको हृदयभित्र बसेर उनै लक्ष्मीले आफ्नो कार्यसंचालन गरिरहेकी हुन्छिन्। लक्ष्मीको अर्को पाउ बसेको छ, सत्यमा, साधुका हृदयमा, सत्यवादीतामा, सरसतामा, मधुरवाणीमा, आशीर्वादमा, मीठो मुस्कानमा, प्रिय र सत्यबोली, आचरण र तप, मनको शुद्धता र सात्विक आहारबिहारमा लक्ष्मीको पाउ अडेको हुन्छ। यसर्थ, तपस्बी, साधु, सन्त केवल भेषको कारण होइन, आचरण पवित्रतामा हुनु पर्ने र तिनको आशीर्वादमा लक्ष्मीको आगमन हुने हुनाले कीर्ति, बुद्धिका साथै विवेक, संयम, आत्म संयमी आदि व्यक्तिमा यस्ती लक्ष्मीको निवासस्थान रहेको हुन्छ। महाभारत भिष्मपर्व, शान्तिपर्व र पद्मपुराण आदिमा लक्ष्मीको प्रशस्त चर्चा भएको पाइन्छ।

एकपटक दानवीर बलिको दानशीलताबाट खुसी भएर सुतलमा राजा बलिको ढोकामा द्वारपाल भएर स्वयं श्रीनारायण बस्नुभएको थियो। वैकुण्ठमा आफ्ना पति श्रीनारायणलाई नदेखी सर्वत्र खोजीगर्दै जाँदा स्वयं श्रीलक्ष्मीले सुतलमा ढोके भएर बसेको थाहा पाएपछि तिहारको मौका पारेर, मीठा खानेकुरा तयार गरेर मखमली फूलहरु सजाएर कार्तिक मासमा राजा बलिलाई दाजु बनाएर भ्रातृपूजा गरेपछि बलि खुसी हुँदा ढोकामा रहेका श्रीनारायणलाई फिर्ता ल्याउने प्रपञ्च मिलाई श्रीलक्ष्मी आवश्यक सरसामग्री साथ सुतलमा पुगिछन् र रंगिन टीका सजाएर दाजु बलिलाई खुसी पारेपछि टीका लगाइदिने बहिनीका पतिदेव नारायण अब ज्वाइँ नाता परिसकेकाले ढोके बनाई राख्न नमिल्ने तर्क दिएर बलिको सुतलबाट बैकुण्ठ फर्केका श्रीहरिको सम्झना स्वरुप बैकुण्ठ चतुर्दशी कार्तिक शुक्ल चतुर्दशीका दिन विशेष पर्वका रुपमा मान्ने चलन पनि हाम्रो समाजमा विद्यमान देखिन्छ।

कृषिपेशामा लागेका आम नेपालीमाझ शारदीय यी रात्रिमा खेतमा धानका बाला झुल्नु, पौरखीहातको स्वरुप लक्ष्मीको पूजा हुनु, कृषि, गोरक्षा, कृषिकार्यमा सहयोगी गाई, गोरुको विशेष सम्मान हुनु हाम्रो एउटा नौलो उदाहरण पनि हो। अघि समुद्रमथनबाट धर्तीमा अवतरित भएकी लक्ष्मीका अनेकौँ रुपहरु छन्। जसमध्ये सबैलाई मोहित पार्ने मोहिनी पनि हुन्। सिर्जनामा उनको स्वरुप सरस्वतीको हुन्छ। अक्षय, सुख ऐश, आराम, ऐश्वर्यदेखि पालनकार्यमा उनको स्वरुप महालक्ष्मीको हुन्छ भने विश्वसम्मको अन्त्य गर्दा उनको स्वरुप महाकालीको हुन्छ।

यम पञ्चकमा गोरुको पनि पूजा हुन्छ । गोरु तिहारका दिन घर घरमा बिहानै गाई, गोरु, एवं गोबद्र्धनपूजा गरिन्छ। कृषिकार्यमा सरिक पशुहरु निकै सहयोगी छन्। तिनको सम्मान गर्ने यसपर्वमा बिहानै फूल, माला, श्रृङ्गारसहित पूजाआजा धूप, बत्ती, नैबेद्य अर्पणगरी विशेषखाना खुआउने चलन छ। हलो, गाडा समेतको पूजा गरिन्छ। गोरु पनि साधा सीधा गौ प्राणी हो। साँढे, बहर आदि गोरुका विभिन्न स्वरुप छन्। युगलपूजा, दम्पत्ति पूजा पूर्वीय चिन्तनको आदर्श नमूना नै हो।

गाईको गोबर जम्मा गरेर गोबद्र्धन पहाड बनाई यसदिन गोबद्र्धनपूजा गरिन्छ। विभिन्न सरसामग्रीहरु जुटाएर विशेष धूमधामका साथ गोबद्र्धनपूजा भागवत सप्ताह आदि विशेष कार्यमा पनि गर्ने गरिन्छ। द्वापरयुगमा बृन्दावनबासी द्वारा मेघका देवता इन्द्रको पूजा हुने गथ्र्यो। वसुदेव पुत्र श्रीकृष्ण धराधाममा आई साविक इन्द्रको वर्षाकालीन पूजालाई क्रान्तिकारी परिवर्तन गराई कृषि, ग्वालरक्षा, शरीर पुष्टिको लागि अन्नको सहायक कारक गोबद्र्धन पहाडको पूजा गर्ने चलन चलाए। त्यसबेलादेखि गोबद्र्धन पूजाले निरन्तरता पाउदैआयो। इन्द्र रिसाई सात दिनसम्म घनघोर वर्षा गराउंदा पनि श्रीकृष्णले गोवद्र्धन पहाड एकै औँलाले उठाएर त्यसको छहारीमा गोकुलबासीलाई राखी घनघोर वर्षाको अनिष्टबाट जोगाएका थिए। इन्द्रले पछि आफ्नो हार स्वीकार गरी भगवान् श्रीकृष्ण सामु नतमस्तक भएका थिए।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १२ : २३ बजे

स्मार्ट लाइसेन्स छैन ? एक वर्षको अस्थायी लिनोस्

काठमाडौं– सवारी चालक अनुमति पत्र नपाएर देशभरका करिब २० हजार

उत्तर कोरियाको भ्रमणमा जाँदै पुटिन

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा

आजका समाचार : सरकार तलमाथि नहुने प्रधानमन्त्रीको स्पष्टीकरण, बर्लिनको प्रखालमा राष्ट्रपति

सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री र विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकबीच नेपालको आर्थिक विकासका विषयमा छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध

संघीय सरकारसँगै प्रदेशले पनि स्थानीय मदिराको ब्रान्डिङ गर्दै

काठमाडौं– संघीय सरकारसँगै प्रदेश सरकारहरुले पनि स्थानीय मदिरा (रक्सी) लाई